नेपाली टोली आइतबार श्रीलंका जाँदै ।
What you should know
काठमाडौँ — ट्वान्टी–२० विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा सुरु हुने ट्वान्टी–२० विश्वकप खेल्न जान लागेको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार विदाइ गरेको हो ।
नेपाली टोली आइतबार श्रीलंका लाग्नेछ । नेपालले कोलम्बोमा श्रीलंका ‘ए’ सँग जनवरी २०, २२ र २४ मा गरी तीन अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ । त्यसपछि नेपाली टोली भारतको मुम्बई पुग्नेछ । त्यहाँ टोलीले मुम्बई क्रिकेट एसोसिएसनको प्रेसिडेन्ट ११ सँग जनवरी २७ र २९ मा थप दुई ट्वान्टी–२० अभ्यास खेल खेल्नेछ ।
फेब्रुअरीको पहिलो साता नेपालले विश्वकपका दुई आधिकारिक अभ्यास खेल खेल्नेछ । तर त्यसको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टुंगो लगाइसकेको छैन । नेपालले विश्वकपका सबै खेल मुम्बईमा खेल्ने कार्यक्रम रहेको छ । नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेलेर विश्वकपको यात्रा प्रारम्भ गर्नेछ ।
नेपालले त्यसपछि फेब्रुअरी १२ मा इटाली, १५ मा वेस्ट इन्डिज र १७ मा बंगलादेशसँग खेल्ने कार्यक्रम रहेको छ । नेपालले इंग्ल्यान्ड र इटालीसँग पहिलो पटक खेल्न लागेको हो ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, कोषाध्यक्ष पदम खड्का र सचिव पारस खड्कालगायतले नेपाली टोलीलाई विदाइ गरेका थिए । सचिव पारसले नेपाली टोलीसँग धेरै अपेक्षा रहेको जनाए । उनले भने, ‘हामीलाई हाम्रो टोली र हाम्रो क्षमतामाथि विश्वास छ ।’
क्यान अध्यक्ष चन्दले विविध कारणले विश्वकपअघि टेस्ट राष्ट्रलाई घरेलु शृंखला खेल्न निम्त्याउन नसकिएको जनाए । तर श्रीलंका ‘ए’ सँगको अभ्यास खेलले राम्रो तयारी दिने दाबी गर्दै उनले भने, ‘तयारीलाई लिएर प्रश्न गर्ने कुनै ठाउँ नै छैन । खेलाडीहरूको व्यक्तिगत प्रदर्शनमा पनि ध्यान जाओस् ।’
नेपालका अस्ट्रेलियन प्रशिक्षक स्टुवार्ट लले विश्वकप आउन तीन साता बाँकी रहेको अवस्थामा तयारी तीव्र गतिमा अगाडि बढेको जनाए । कप्तान रोहित पौडेलले तयारी सोचेअनुरूप नै भइरहेको बताए ।
‘तयारीको हिसाबले हाम्रो राम्रो भइरहेको छ । हामीले तिलोत्तमाको एक्स्ट्राटेक ओभलमा गरेको तयारी राम्रो भयो । त्यहाँको रातो माटोको विकेट मुम्बईसँग मिल्दोजुल्दो थियो । त्यसैले हामी सबै उत्साहित छौँ,’ रोहितले नेपाली टोलीको विदाइ कार्यक्रममा भने, ‘सन् २०२५ मा हाम्रो राम्रो भएको थियो । हामी विश्वकप खेल्दै २०२६ को सुरुआत पनि राम्रो गर्नेछौँ ।’
