सम्झना खड्का र विन्दु रावलको आक्रामक सुरुआतसँगै मध्यक्रमले समेत राम्रो रन जोड्दा नेपालले अमेरिकी बलरसमक्ष प्रतिस्पर्धात्मक प्रदर्शन गर्न सकेको छ।
What you should know
काठमाडौँ — नेपालले महिला ट्वान्टी–२० विश्वकप छनोटको अभ्यास खेलमा अमेरिकालाई १ सय ३७ रनको लक्ष्य दिएको छ। टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ३६ रन बनाएको हो।
आयरल्यान्डसँगको पहिलो अभ्यास खेलमा बुधबार १ सय रन मात्र बनाउन सकेपछि नेपालले ९९ रनको हार बेहोरेको थियो। तर शुक्रबारको खेलमा नेपालको माथिल्लो क्रमले निकै सुधारिएको ब्याटिङ गरेको थियो।
सम्झना खड्का र विन्दु रावलले नेपाललाई निकै राम्रो सुरुआत दिलाएका थिए। यी दुईले ६ ओभरभित्र ४२ रन जोडेका थिए। आफ्नै कलमा निकै साँघुरो १ रन लिन खोज्दा रनआउट भएकी सम्झनाले २० बल खेली ३ चौकासहित २४ रन बनाइन्। उपकप्तान पूजा महतोले १५ बल खेली २ चौकासहित १७ रन बनाइन्।
कप्तान इन्दु बर्माले १ चौका प्रहार गरी ५ बलमा ४ रन बनाइन्। विन्दु पनि २७ रनमा रनआउट भइन्। उनले २८ बल खेल्दै ३ चौका प्रहार गरिन्। कविता कुँवर ३ रनमा आउट भइन् भने रुविना क्षेत्री ५ रनमा आउट भइन्। कविता जोशी र रोमा थापाले मध्यक्रममा राम्रो ब्याटिङ गर्दै नेपाललाई राम्रो स्थितिमा उभ्याए।
जोशीले १४ बल खेली ४ चौकासहित २० रन बनाइन्। रोमाले पनि १४ बल खेल्दै समान १ चौका र १ छक्कासहित १९ रन बनाइन्। सीता रानामगरले १ रन मात्र बनाउन सकिन्। राजमती ऐरी ७ बल खेली १ चौकासहित ८ रनमा अविजित रहिन् भने मनीषा उपाध्याय १ रनमा अविजित रहिन्।
अमेरिकाकी तारानुम चोपडाले ३ विकेट लिइन्। उनले ४ ओभरमा २३ रन खर्चेकी थिइन्। सैनाभी रेड्डीले २ ओभरमा २० रन खर्चेर २ विकेट लिइन् भने गितिका कोडाइल र रितु सिंहले १–१ विकेट लिइन्। अमेरिकाले पहिलो अभ्यास खेलमा स्कटल्यान्डमाथि सनसनीपूर्ण विजय हात पारेको थियो।
