राष्ट्रियस्तरको प्रतियोगितामा पोखरेली क्लब लालीगुराासको ‘डेब्यु’
What you should know
काठमाडौँ — पोखरातिर कुनै समय लालीगुराँस एसोसिएसन सांगीतिक कार्यक्रममा बढी व्यस्त हुन्थ्यो, छोटकरीमा एलजी नामले बढी चिनिन्थ्यो । पछि फुटबलतिर हात हालेको टोली हो लालीगुराँस । यो वर्ष टोलीका लागि गजब नै रह्यो ।
सुरुमा जिल्ला च्याम्पियन भयो, त्यसपछि प्रदेश । एन्फा प्रेसिडेन्ट्स कपको पनि च्याम्पियन टिम हो, लालीगुराँस । यही पोखरेली टिमले बिहीबार राष्ट्रिय लिग फुटबलमा ‘ए’ डिभिजन प्रतिद्वन्द्वी जावलाखेल युथ क्लबलाई हराएर सानदार सुरुआत लिएको छ ।
यो घरेलु फुटबलको मूलधारमा लालीगुराँसको डेब्यु पनि रह्यो । ‘राष्ट्रिय लिगमा विजयी सुरुआत लिन पाउँदा खुसी नै छौं । यो त स्वभाविक नै हो । तर हामी यसलाई लिएर धेरै दंग परेका छैनौं । एउटा तथ्य निश्चित छ, यो जितले प्रतियोगिताका बाँकी खेलमा राम्रो प्रदर्शन गर्न हामीलाई प्रेरित गर्नेछ,’ लालीगुराँसका प्रशिक्षक किरण श्रेष्ठले भने । लगभग पोखराको ‘अर्गानिक’ टिम रहेको लालीगुराँसले एन्फा प्रेसिडेन्ट्स कपको उपाधि जित्दा पनि उनी नै प्रशिक्षक थिए ।
सुरुका दिनमा पनि उनी टिमसँग कुनै न कुनै रूपमा आबद्ध थिए । उनले अगाडि थपे, ‘कुनै पनि प्रतियोगितामा पहिलो खेल खेल्न गाह्रो नै हुन्छ । यही खेल जितेको हुनाले यसको महत्त्व छ । अबको दिनमा केही खेलाडी थपिनेछन् र टिमको प्रदर्शन अझ राम्रो हुनेछ ।’ श्रेष्ठले आफ्नो खेल जीवनमा सबैभन्दा बढी समय जावलाखेलमै बिताएका थिए । अझ उनले जावलाखेलका अहिलेका प्रशिक्षक सुनिल श्रेष्ठकै निर्देशनमा पनि खेले । त्यस अर्थमा यो त चेलाले आफ्नो गुरुको टिमविरुद्ध जित निकालेको जस्तै थियो ।
तर उनी जावलाखेलप्रति अनुग्रहित छन् र भन्छन्, ‘जावलाखेलप्रतिको मेरो सम्मान जहिले उच्च रहनेछ । खेलमा हारजित त हुने नै छ ।’ यही हारजितको नायक रहे, राज भुसाल । सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलको दोस्रो मिनेटमै उनले लक्षु थापाको फ्रिकिकमा हेडबाट गोल गरे । यो नै अन्ततः निर्णायक साबित भयो । यसैले लालीगुराँसलाई ३ अंक दिलायो । जावलाखेलका लागि भने यो बिर्सनलायक सुरुआत रह्यो, विशेषतः पछिल्लो ‘ए’ डिभिजनमा राम्रो खेलेको आधारमा ।
जावलाखेलका प्रशिक्षक श्रेष्ठले भने खेलमा आफ्नो टिमले सम्हालिन नपाएकै अवस्थामा गोल खाएको प्रतिक्रिया दिए । उनले भने, लिग लामो प्रतियोगिता हो, अबको दिनमा सम्हालिएर खेल्नेछौं । नत्र प्रतियोगिता सुरु हुनु अगाडि यिनै प्रशिक्षकको दाबी थियो, जावलाखेलको लक्ष्य भनेको प्रतियोगिता जित्ने नै हो । सायद जावलाखेलले आफ्नो प्रशिक्षकको भनाइ सार्थक बनाउने हो कडा मिहिनेत भने गर्नुपर्नेछ ।
बिहीबारकै पहिलो खेलमा भने सातदोबाटो युथ र संकटा क्लबले गोलरहित बराबरी खेले । यो यस्तो नतिजा हो, जसमा दुवै टिम खुसी हुने छैनन्, तर दुवैलाई आफूहरूले पहिलो खेलमा हार टार्न सफल रहेकोमा राहत पनि हुनेछ । दुवै टिमले खेलका क्रममा केही अवसर सिर्जना गरे पनि ती निर्णायक साबित हुन सकेन । दुवैले समान १ अंकमा चित्त बुझाए । सायद सातदोबाटो केही हदसम्म अभाग्यशाली रह्यो, किनभने टोलीका प्रमुख खेलाडी फोडे फोफाना सुरुआती आधा घण्टाको खेलपछि नै चोट बोकेर मैदान छाड्न बाध्य रहे ।
उनको अभावमा सातदोबाटोको खेलमा निर्णायक तालमेल देखिएन । टिमका प्रशिक्षक बालगोपाल साहुखलले पनि माने, खेलको त्यो मोडले नै टिमलाई गाह्रो बनाएको थियो । फोफानाको चोट कति गम्भीर हो, त्यो खुलेको छैन । तर क्लबले पनि उनको स्थानमा अर्को खेलाडी खोज्ने बताएको छ । प्रशिक्षक साहुखल भन्छन्, ‘जितको उद्देश्यले मैदानमा उत्रेका थियौं तर सकेनौं ।’ संकटाका उनका समकक्षी प्रशिक्षक रवीन्द्र सिलाकारले भने बराबरीमा पनि चित्त बुझाएको बताए ।
प्रतियोगिताको सुरुआती चार खेल सकिँदा फ्रेन्ड्स तथा लालीगुराँसले ३–३ अंक बटुलेका छन् । टोली शीर्ष दुई स्थानमा रहे । अब शुक्रबार दशरथ रंगशालामा एकमात्र खेल मछिन्द्र र एनआरटीबीच हुनेछ । यो सम्भवतः प्रतियोगिताकै एक हेर्नलायक प्रतिस्पर्धा रहनेछ । खेल बेलुका ७ बजे
फ्लडलाइटमा हुनेछ । त्यस अगाडि प्रतियोगिताको औपचारिक उद्घाटन गर्ने क्रममा विशेष कार्यक्रम पनि हुनेछ ।
आजको खेल- मछिन्द्रविरुद्ध एनआरटी : दशरथ रंगशाला (समय : साँझ ७ बजे)
