बुढासुब्बा गोल्डकप माघमै

क्लबका महासचिव नविन राईका अनुसार विगतका संस्करणमा ८ टिमले मात्र भाग लिँदै आएकोमा यस वर्ष दुई टिम थप गरी १० टिम बनाइएको छ । प्रतियोगितामा नेपाल, भारत र भुटानका क्लबहरूको सहभागिता रहनेछ ।

माघ २, २०८२

एलिना राई

Budhasubba Gold Cup in Magh

What you should know

धरान — बुढासुब्बा आमन्त्रण गोल्डकप फुटबलको २६ औं संस्करण माघ २२ देखि हुने भएको छ । आयोजक धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिता फागुन २ सम्म धरान रंगशालामा चल्ने जानकारी दिएको हो ।

क्लबका महासचिव नविन राईका अनुसार विगतका संस्करणमा ८ टिमले मात्र भाग लिँदै आएकोमा यस वर्ष दुई टिम थप गरी १० टिम बनाइएको छ । प्रतियोगितामा नेपाल, भारत र भुटानका क्लबहरूको सहभागिता रहनेछ ।

प्रतियोगितामा दुई वर्ष लगातार उपाधि जितेको एनआरटी क्लबसहित चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस क्लब, प्लानिङ ब्वाइज युनाइटेड क्लब, सातदोबाटो युथ क्लब ललितपुर, एलए क्लब पोखरा, झापा ११, आयोजक धरान फुटबल क्लब, जर्जियन क्लब कालेम्पोङ (भारत) र रोयल थिम्पू क्लब (भुटान) प्रतिस्पर्धी हुनेछन् । 

विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीले होन्डा डियो 

स्कुटर जित्ने छ भने हरेक खेलका म्यान अफ द म्याचलाई १० हजार प्रदान गरिनेछ ।

विधागततर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ । सर्वाधिक गोलकर्ताले ३५ हजार जित्ने आयोजकले 

जनाएको छ । यसपालि विजेता र उपविजेताको पुरस्कार राशि धरान उपमहानगरपालिकाले उपलब्ध गराउने जनाइएको छ । प्रतियोगिताका लागि१ करोड ७ लाख आय र ८७ लाख १५ हजार रुपैयाँ व्यय अनुमान गरिएको छ । प्रतियोगिताको मुख्य प्रायोजक गोरखा ब्रुअरी प्रालि र सह–प्रायोजक टेस्टी–टेस्टी चाउचाउ रहेको आयोजकले जनाएको छ ।

विगतमा १२ टिमसम्मले भाग लिएको प्रतियोगितामा केही वर्षयता ८ टिम मात्र खेलाइँदै आएको थियो । खेलको स्तर बढाउन क्लब संख्या बढाउनुपर्ने सुझाव मध्यनजर गर्दै यस वर्ष १० टिम सहभागी गराइएको र भविष्यमा पुनः १२ टिम सहभागी गराउने योजना रहेको महासचिव राईले बताए । 

धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले आयोजक टिम पाँच पटक फाइनलमा पुगे पनि हालसम्म उपाधि जित्न नसकेको बताए । ‘हामी पााच पटक फाइनल खेलेका छौं, राम्रो खेले पनि भाग्यले साथ नदिँदा उपाधिविहीन भएका छौं,’ उनले भने, ‘धरानको टिममा बाहिरका खेलाडी नखेलाउने मागलाई मध्यनजर गर्दै यसपालि धरानकै खेलाडीबाट टिम बनाउने छौं ।’ उनले धरानमा खेल पूर्वाधारको कमीका कारण खेलाडीले पर्याप्त प्रशिक्षण पाउन नसकेको उल्लेख गर्दै यसतर्फ स्थानीय सरकार तथा सम्बन्धित निकायले चासो दिनुपर्ने आवश्यकता औंल्याए ।

एलिना राई एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully