धरान गल्फ क्लबमा नीरजले टंकबहादुर कार्की र बलभद्र राईलाई १८ होलको समाप्तिमा ३ स्ट्रोकले पछाडि पारेका छन् । ३ अन्डर ६७ को स्कोर बनाएका टंक र बलभद्र संयुक्त दोस्रो स्थानमा छन् ।
What you should know
धरान — नेपाल नम्बर एक प्रो गल्फर नीरज तामाङले सूर्य नेपाल इस्टर्न ओपन गल्फको पहिलो दिन ६ अन्डर ६४ को उत्कृष्ट स्कोरमा अग्रता बनाएका छन् । धरान गल्फ क्लबमा नीरजले टंकबहादुर कार्की र बलभद्र राईलाई १८ होलको समाप्तिमा ३ स्ट्रोकले पछाडि पारेका छन् । ३ अन्डर ६७ को स्कोर बनाएका टंक र बलभद्र संयुक्त दोस्रो स्थानमा छन् ।
पूर्व नम्बर एक गल्फर शुक्रबहादुर राई र भुवन नगरकोटी १ अन्डर ६९ को स्कोर तथा एमेच्योर गल्फरद्वय प्रकृत तामाङ र राहुल विश्वकर्माले संयुक्त चौथो स्थान ओगटे । इभन पार ७० को स्कोर बनाएका रवि खड्का, जयराम श्रेष्ठ र सुमन परियार संयुक्त आठौं स्थानमा रहे ।
डिफेन्डिङ च्याम्पियन नीरजले गतिलो सुरुवात गर्ने क्रममा दोस्रो होलमा बोगी प्रहार गरे । तेस्रो, पाँचौं, छैटौं र नवौं होलमा बर्डीको सफलतामा फ्रन्टनाइन ३ अन्डर ३३ खेले । यसपछि १२, १३, १६ र १८ औं होलमा शट बचाए । १५ औं होलमा बोगी खेप्दै ब्याकनाइन ३ अन्डर ३१ को प्रदर्शन गरे । टंकले भने फ्रन्टनाइन १ अन्डर ३५ मा पूरा गर्दा दोस्रो होलमा एक शट खेर फाले ।
आठौं र नवौं होलमा लगातार दुई बर्डी प्रहार गरे । यसपछि १४ र १८ औं होलमा शट बचाएका उनले ब्याकनाइन बोगीरहित २ अन्डर ३२ खेले । सूर्य नेपाल गल्फ टुर २०२५/२६ अन्तर्गत दोस्रो प्रतियोगितामा धरानका भेट्रान प्रो बलभद्रले बोगीरहित फ्रन्टनाइन खेल्दा तेस्रो र सातौं होलको बर्डीले २ अन्डर ३४ खेले । १० औं होलमा बोगी प्रहार गर्दा १५ र १८ औं होलको बर्डीसहित ब्याकनाइन १ अन्डर ३३ मा सके । एमेच्योरतर्फ राहुल र प्रकृत १ अन्डर ६९ सहित अगाडि छन् । राम तामाङ १ ओभर ७१ सहित तेस्रो स्थानमा रहे ।
सूर्य नेपाल प्रालिको प्रायोजनमा तीन दिन चल्ने ५४ होलको प्रतिस्पर्धामा कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ छ । विजेताले १ लाख ७० हजार, उपविजेताले १ लाख २५ हजार र तेस्रो हुनेले १ लाख रुपैयाा पुरस्कार पाउनेछन् । प्रतियोगितामा ३० प्रो र २२ एमेच्योर गल्फर प्रतिस्पर्धी छन् ।
