बराबरी नतिजामा भगवती क्लब उत्साहित, राष्ट्रिय लिगको पहिलो गोल आत्मघाती
What you should know
काठमाडौँ — अन्ततः राष्ट्रिय लिगमार्फत् नेपालको घरेलु फुटबल मैदानमा फर्केको छ । तर ‘ए’ लिग डिभिजन च्याम्पियन चर्च ब्वाइज क्लबले भने पहिलो दिनको खेलमा अपेक्षित जित निकाल्न सकेन । टोलीले टोखाको श्री भगवतीसँग बराबरी खेल्नुपरेको छ । उपाधिका लागि बलियो प्रत्याशी रहेको चर्च ब्वाइजका लागि यो नतिजा २ अंक गुमाएको जत्तिकै हो । टोखाले कमाएको एक अंकले पनि टिमलाई उत्साह दिनेछ ।
‘ए’ डिभिजन उक्लिएयता आफ्नो माथिल्लो स्तरको फुटबलमा श्री भगवती क्लब हार टार्न सफल रह्यो । यही नतिजाका कारण फ्रेन्ड्स क्लब पहिलो दिनको खेलपछि अंकतालिकाको शीर्षमा रह्यो । फ्रेन्ड्सले उद्घाटन खेलमा सुर्खेतको टोली काँक्रेबिहारलाई हराएको थियो । यो भने धेरै हदसम्म सजिलो नतिजा जस्तै भयो । सम्भवतः एन्फा प्रेसिडेन्ट्स कप खेलेर राष्ट्रिय लिग खेलिरहेको यो टिमलाई अबको बाटो सहज नहुन सक्छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको पहिलो खेलमा पहिलो गोललाई लामो समय कुर्नुपरेन, तर यो धेरै हदसम्म अनफेक्षित जस्तै रह्यो । काँत्रेबिहारले छैटौं मिनेटमा खेमराज श्रेष्ठको आत्मघाती गोलको मदतमा अप्रत्याशित अग्रता लिएको थियो । सायद यो आत्मघाती गोल पनि थिएन कि ? कसको अन्तिम प्रहारले फोस्टको दिशा लिएको थियो, त्यसमा अन्योल थियो । तर काँत्रेबिहारले त्यो अग्रतालाई कायम भने राख्न सकेन ।
फ्रेन्ड्सले पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा प्रशान्त लक्समको गोलबाट खेलमा फर्केको हो । त्यसपछि प्रवेश बस्नेतले ५९ औं मिनेटमा गोल गर्दै फ्रेन्ड्सलाई पहिलोपल्ट अग्रता दिलाए । आशिष चापागाईंले ९० औं मिनेटमा तेस्रो तथा अन्तिम गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए । जितबाट फ्रेन्ड्स ३ अंक बटुल्न सफल रह्यो ।
खेलपछि दुवै टिमका सहायक प्रशिक्षकको समान निचोड थियो, पहिलो खेल भएको हुनाले अलिकति गाह्रो भयो । फ्रेन्ड्सका विमल मगरले भने, ‘सुरुमा खेलाडीबीच तालमेल मिलेन, त्यसैले आत्मघाती गोल भयो । यसले दबाब पनि सिर्जना गरेको थियो । तर हामी दोस्रो हाफमा पुनरागमन रच्न सफल रह्यौं ।’ काँक्रेविहारका असिम खड्काको प्रतिक्रिया यस्तो थियो, ‘पहिलो खेल भएको हुनाले हाम्रो प्रदर्शन संगठित रहेन । मध्यपंक्तिमा केही कमजोरी देखिए । हामी सक्दो आफ्ना स्थानीय खेलाडीलाई मौका दिन चाहन्छौं ।’
एरिकको चलाखी
दोस्रो खेलमा टोखाको श्री भगवती क्लबले हरिहर बुढामगरको गोलमा ४५ औं मिनेटमा अग्रता लिएको थियो । तर यो लामो समय टिकेन । एरिक विष्टले ६५ औं मिनेटमा गोल फर्काए । चर्च ब्वाइजले पेनाल्टी एरिया नजिक पाएको फ्रिकिकमा चलाखीपूर्ण प्रदर्शन गरे र त्यसमै एरिकले गोल गरेका थिए । त्यसपछि थप गोल भएन, यद्यपि चर्च ब्वाइजका लागि दुई प्रहार पोस्टमा ठोकिनु दुर्भाग्यपूर्ण रहनेछ ।
‘बराबरीमा हामी निराश जस्तै छौं, तर लिग भनेको धेरै लामो हुन्छ, त्यसैले अहिले नै आत्तिनुपर्ने छैन,’ चर्च ब्वाइजका सहायक प्रशिक्षक रमेश दंगालले भने । उनले के माने भने यो चर्च ब्वाइजका लागि २ अंक गुमाए जस्तै हो । तर एउटा तथ्यले चर्च ब्वाइजलाई आत्मविश्वास नै राख्नेछ । अहिले चर्च ब्वाइजको अर्को टिम सिक्किममा खेलिरहेको छ । त्यसैले पहिलो खेलमा उत्रेको चर्च ब्वाइजको टिम पूर्ण भने होइन ।
