तीनपोखरी कप : उपाधि र सम्मानका लागि ५ लाखसम्म खर्च

माघे संक्रान्तिको अवसरमा हुने फाइनलमा संखुवासभाकै सेकाहा सामुदायिक क्लब र मकालु फ्रेन्ड्स क्लब उपाधिका लागि आमनेसामने हुनेछन्।

पुस ३०, २०८२

दीपेन्द्र शाक्य

Tinpokhari Cup: Up to Rs 5 lakh spent on titles and honors

What you should know

संखुवासभा — संखुवासभा सदरमुकाम खाँदबारीमा अहिले फुटबलको रौनकले पुसको चिसोलाई पनि पराजित गरिरहेको छ। खाँदबारी रंगशालामा जारी तेश्रो संस्करणको तीनपोखरी कप फुटबल प्रतियोगिताले जिल्लालाई नै ‘फुटबल उत्सव’को केन्द्रमा बदलिदिएको छ। मैदानको चारैतिर झुम्मिएका दर्शक, रेफ्रीको सिट्टीको ताल र खेलाडीको जोशले रंगशालाको माहोल अत्यन्तै तातिएको छ।

तीनपोखरी क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा विजेताले २ लाख ५१ हजार रुपैयाँ र उपविजेताले १ लाख २१ हजार रुपैयाँ प्राप्त गर्नेछ। तर नगद पुरस्कारभन्दा पनि प्रतिष्ठित ट्रफी उचाल्ने गौरव नै खेलाडी र क्लबहरूको मुख्य लक्ष्य बनेको छ।

यही प्रतिष्ठाका लागि सहभागी क्लबहरूले उपाधि जित्न ५ लाख रुपैयाँसम्म खर्च गर्दै ‘ए’ डिभिजन तथा राष्ट्रिय स्तरका अनुभवी खेलाडीलाई अनुबन्ध गरेका छन्। ती खेलाडीहरूले प्रति म्याच ५ हजारदेखि १० हजार रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन्।

महँगो लगानी क्लबहरूका लागि चुनौती भए पनि उपाधि र सम्मानका लागि उनीहरू जोखिम मोल्न तयार देखिएका छन्। राष्ट्रिय स्तरका खेलाडी मैदानमा उत्रिँदा प्यारापिटमा बसेका दर्शकको हुटिङले रंगशाला थर्काउने गरेको छ। तीनपोखरीका विमल बानियाका अनुसार यस्तो दृश्य खाँदबारीका लागि ऐतिहासिक हो।

प्रतियोगितामा झापाको चुलाचुली स्पोर्टिङ क्लब, उदयपुरको बेलका युथ क्लब, सुनसरीको एपीएफ पकलीसहित आठ सशक्त टिम सहभागी थिए। तराईका अनुभवी टिमहरूसँग भिड्दै खाँदबारी युथ क्लब, मकालु फ्रेन्ड्स क्लब, सेकाहा सामुदायिक क्लब र शित्तलपाटी युथ क्लबले घरेलु मैदान र दर्शकको साथमा उत्कृष्ट प्रदर्शन गरेका छन्। यसले मैदानमा ‘अनुभव’ र ‘उत्साह’बीचको रोमाञ्चक भिडन्त देखाएको छ।

जिल्ला फुटबल संघका अध्यक्ष भरतकुमार घिमिरेका अनुसार यो प्रतियोगिता खेल मात्र नभई गौरव र उत्साहको उत्सव बनेको छ। 'खेलकुद मनोरञ्जन मात्र होइन, अनुशासन र सामाजिक परिवर्तनको माध्यम पनि हो। यसले ग्रामीण क्षेत्रका लुकेका प्रतिभालाई मञ्च दिएको छ,' उनले भने।

आयोजक क्लबका अध्यक्ष मिनेश चापागाईंका अनुसार सबैको ध्यान माघ १ गते बिहीबार हुने फाइनल खेलमा केन्द्रित छ। माघे संक्रान्तिको अवसरमा हुने फाइनलमा संखुवासभाकै सेकाहा सामुदायिक क्लब र मकालु फ्रेन्ड्स क्लब उपाधिका लागि आमनेसामने हुनेछन्।

बाहिर जिल्लाबाट आएका सबै टिम बाहिरिसकेपछि घरेलु दुई टिमबीचको फाइनलले खाँदबारीको फुटबल प्रेम झनै उत्कर्षमा पुग्ने अपेक्षा गरिएको छ । फाइनलमा पुगेका मकालु र सेकाहाले पनि पूरै सेट खेलाडी बाहिरबाट ल्याएर प्रतिस्पर्धामा उतारेको छ। लाखौँको लगानी, व्यावसायिक खेलाडीको कौशल र हजारौँ दर्शकको समर्थनले खाँदबारीलाई फुटबलको नयाँ ‘हब’का रूपमा स्थापित गरिरहेको उनले बताए । 

दीपेन्द्र

Link copied successfully