महिला ट्वान्टी–२० विश्वकप छनोट : आयरल्यान्डसँग नेपाल पराजित

तल्लो मूलपानी मैदानमा आयरल्यान्डले नेपाललाई ९९ रनले पराजित गर्‍यो ।

पुस ३०, २०८२

कान्तिपुर संवाददाता

Women's Twenty20 World Cup Qualifiers: Nepal defeated by Ireland

What you should know

काठमाडौँ — नेपाल महिला ट्वान्टी–२० विश्वकप छनोट क्रिकेटको पहिलो अभ्यास खेलमा आयरल्यान्डसँग पराजित भएको छ । तल्लो मूलपानी मैदानमा आयरल्यान्डले नेपाललाई ९९ रनले पराजित गर्‍यो ।

टस जितेर ब्याटिङ रोजेको आयरल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाई २ सय रन बनाएको थियो । टोलीकी कप्तान ग्याबी लुइस ७७, ओर्ला प्रेन्डरगास्ट ६२ र लेह पाउल २१ रनमा ‘रिटायर्ड आउट’ भए । सराह फोर्ब्स र लुइसले ५ ओभरमै ५४ रन जोडेर आयरल्यान्डलाई आक्रामक सुरुआत दिलाएका थिए ।

फोर्ब्सले १२ बल खेलि ३ चौकासहित १५ रन बनाए । लुइसले ३८ बल खेलि १२ चौका र २ छक्का प्रहार गरिन् । प्रेन्डरगास्टले २९ बल खेलि ८ चौका र ३ छक्का प्रहार गरिन् । १९ बल खेलेकी पाउलले २ चौका प्रहार गरेकी थिइन् । आयरल्यान्डले १५ ओभरमा १ सय ७४ रन जोडिसकेपछि अनुभवी रुविना क्षेत्रीको बलिङमा नेपालले अन्तिम ५ ओभरमा बल्ल बलिङको धार समाएको थियो ।

रुबिनाले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिइन् । रिया शर्माले ३ ओभरमा ४२ रन खर्चेर १ विकेट लिइन् । सोमु विष्टले ४ ओभरमा २९, कविता कुँवरले ३ ओभरमा २९, मनिषा उपाध्यायले २ ओभरमा १४, कप्तान इन्दु बर्माले १ ओभरमा १६, राजमती ऐरीले २ ओभरमा २० र कविता जोशीले २ ओभरमा ३३ रन खर्चेकी थिइन् ।

जवाफमा आएको नेपाल १९ ओभरमा १ सय १ रनमा अलआउट भयो । विन्दु रावल, इन्दु र कविता जोशी बाहेक नेपालबाट अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । पहिलो २ ओभरमै ३ पटक जीवनदान पाएकी विन्दुले २८ बल खेली ५ चौका प्रहार गरि २५ रन बनाइन् । इन्दुले २ चौकासहित १० बलमा १२ र कविता जोशीले २९ बल खेलि ६ चौकासहित २८ रन बनाइन् ।

ओपनर सम्झना खड्कालाई नेपालले शून्यमै गुमाएको थियो । काजल श्रेष्ठ २, पुजा महतो ३, रुविना ४ तथा कविता कुँवर, रोमा थापा र सीता रानामगर समान ५ रनमा आउट भए । राजमति १ रनमा अविजित रहिन् । आयरल्यान्डबाट प्रेन्डरगास्ट, लारा म्याकब्रिज, एर्लिन केली र एमी मगाइरले २–२ विकेट लिइन् ।

टोलीमा रहेका १५ मध्येका ११ कुनै खेलाडीले पनि ब्याटिङ र बलिङ गर्न पाउने नियममा रहेर दुवै टोलीले अभ्यास खेल खेलेका थिए । नेपालले शुक्रबार कीर्तिपुरमा अमेरिकासँग दोस्रो अभ्यास खेल खेल्ने छ । 

कान्तिपुर

Link copied successfully