पहिलो दिन काँक्रेबिहार र फ्रेन्ड्स तथा श्री भगवती र चर्च ब्वाइजबीच प्रतिस्पर्धा
What you should know
काठमाडौँ — लगभग तीन वर्षको अन्तरालपछि फेरि नेपालको घरेलु फुटबल फर्किंदै छ । सहिद स्मारक लिग ‘ए’ डिभिजन हुने नहुने अन्योलबीच अहिले हुन लागेको भने राष्ट्रिय लिग हो । बुधबार प्रतियोगिताको फहिलो दिन दुई खेल हुनेछ । काँत्रेबिहार र फ्रेन्ड्स तथा श्री भगवती र चर्च ब्वाइजबीच प्रतिस्पर्धा हुनेछ ।
शून्यको स्थितिमा झरेको फुटबल खेल मैदानमा फर्कंदा त्यसले धेरैलाई खुसी र उत्साह दिनेछ । तर अझै के टुंगो छैन भने प्रतियोगिता कहाँनिर कुन बेला गएर टुंगिने छ ।
अन्योल थप्ने काम गरेको त अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनावले नै हो । सबैभन्दा ठूलो प्रश्न के छ भने चुनाव हुनेछ वा हुने छैन, त्यो नै टुंगो छैन । भएन भने आफ्नो ठाउँमा छ, भयो भने नयाँ चुनिएर आउने नेतृत्वले यो प्रतियोगितालाई निरन्तरता दिने छ वा छैन, त्यो पनि टुंगो छैन । मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाललाई कम्तीमा के विश्वास छ भने सायद प्रतियोििगताले विजेता पाउने छ । त्यसको अर्थ हो, प्रतियोगिता टुंगिनेछ ।
प्रतियोगितामा कुल १७ टिम सहभागी छन् । पहिलो दिन भिड्ने चार टिमबाहेक अन्य टिममा मछिन्द्रसँगै एपीएफ, सातदोबाटो, लालीगुराँस, चित्लाङ, आर्मी, प्लानिङ ब्वाइज, पुलिस, मनाङ मर्स्याङ्दी, नवजनजागृति, एनआरटी, जावलाखेल र संकटा छन् । यस्तोमा कुल १ सय ३६ खेल हुनेछ । त्यसमध्ये ६४ खेलको मिति र स्थान तय भएको छ । बाँकी खेलको कहाँ र कहिले हुने हो, त्यो भने खुलाइएको छैन ।
‘हाम्रो माग त ए डिभिजन होस् भन्ने नै हो । तर अहिले राष्ट्रिय लिग हुन लागेको छ । कम्तीमा फुटबल फर्केको छ । एन्फाले अन्य कार्यक्रम ल्याउँछ नै होला । तर अहिलेको लिगले कम्तीमा पनि तीन सय जना खेलाडीलाई व्यस्त राख्नेछ । धेरै लामो समयपछि घरेलु फुटबल हुन लागेको छ, त्यसैले यो पनि ठूलै विषय हो,’ मछिन्द्रका कप्तान विशाल श्रेष्ठले सुनाए । सम्भवतः उनी नै यो प्रतियोगिताका सबैभन्दा सिनियर खेलाडी हुनेछन् ।
प्रश्नहरू के छन् भने कुन टिम कस्तो छ त ? कुन टिम बलियो छ, कुन टिम कमजोर ? उपाधि जित्न सक्ने को हो त ? यसको जवाफ पाउन भने निकै गाह्रो छ । तीन वर्षको अन्तरमा लिग हुन लागेकाले कसैले पनि के दाबी गर्न सकेका छैनन् भने हाम्रो टिम यस्तै छ भनेर । मंगलबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा सहभागी टिममध्ये धेरैको स्वीकारोक्ति थियो, टिम तयार नै राम्रो छैन, समय नै पाएनौं । जतिले राम्रो तयारीको दाबी गरे, तिनको पनि भनाइ थियो, प्रशिक्षण एक साता जतिको रह्यो ।
यस्तोमा सायद केही बलिया टिम विभागीय हुनेछ, किनभने तिनीहरूले नियमित अभ्यास गरेका छन् । पुलिसका चेतन घिमिरे होस् वा एपीएफका राजेन्द्र तामाङ या आर्मीका सहायक प्रशिक्षक जितेन्द्र कार्की । सबै के मान्छन् भने यी विभागीय टिममा कम्तीमा अभ्यास नियमित हुन्छ, त्यसैले यो निर्णायक तत्त्व हुनसक्छ । तर उनीहरूको एउटा चिन्ता पनि समान छ । यो हो, टिमका अधिकांश खेलाडी विदेश पलायन भइसकेका छन्, त्यसैले तिनको स्थान लिने खेलाडी पाउन गाह्रै छ ।
सायद एन्फा प्रेसिडेन्ट्स कप खेलेका च्याम्पियन लालीगुराँससँग उफविजेता चित्लाङ, काँत्रेबिहार र नवजनजागृति पनि बलियो रहन सक्ने छन्, किनभने त्यही प्रतियोगिताका कारण तिनीहरूले लामो समयदेखि एक भएर खेलिरहेका थिए । अनि पारम्परिक मान्न मिल्ने शक्ति जस्तो कि मछिन्द्र, एनआरटी, संकटा र मनाङ मर्स्याङ्दीको प्रदर्शन कस्तो हुने हो त ? त्यो पनि ठ्याक्कै भन्न गाह्रो छ । यसको कारण हो, एक त अभ्यासको समय नै कमी, अर्को कुन खेलाडी कस्ता छन् प्रशिक्षकलाई नै थाहा छैन ।
खेलाडीको फिटनेस ठूलै समस्या हुन सक्नेछ । यसै कारण खेलाडी चोटग्रस्त हुने समस्या पनि उत्तिकै हुनसक्छ । अनि कतिपय टिमले आफ्नो टिम नै पूर्णतः तयार गर्न सकेका छैनन् । विदेशी खेलाडी के कस्तो छन्, त्यो पनि प्रस्ट छैन । प्रतियोगिता अगाडि बढ्ने क्रममा केही टिमले थप खेलाडी भित्र्याउने योजना बुनिरहेका छन् । केही प्रमुख टिम नयाँ र युवा खेलाडीमै पूर्णतः निर्भर हुनेछ । जस्तो कि मनाङ मर्स्याङ्दी ।
केही टिमको भागमा राष्ट्रिय खेलाडी बढी परेका छन्, जस्तो एनआरटी । कारण भए पनि यो लिग धेरै अर्थमा खुला प्रतियोगिताजस्तै हुनेछ, जसको पनि उत्तिकै सम्भावना छ । प्रतियोगिताले साँच्चै कस्तो बाटो तय गर्ने हो, त्यो भने कम्तीमा ३–४ चरणको खेलपछि देखिनेछ । जस्तै अन्योल र अनिश्चितता कायम रहे पनि एउटा तथ्य भने राहतपूर्ण छ, कम्तीमा घरेलु फुटबल साँच्चै मैदानमा त फर्किन लागेको छ ।
