१० राष्ट्र सहभागी महिला ट्वान्टी–२० विश्वकप छनोटको प्रतियोगितात्मक खेल आइतबार सुरु हुनेछ ।
What you should know
काठमाडौँ — नेपालले बुधबार आयरल्यान्डसँग अभ्यास खेलेर महिला ट्वान्टी–२० विश्वकप छनोटको तयारी सुरु गर्दै छ । १० राष्ट्र सहभागी महिला ट्वान्टी–२० विश्वकप छनोटको प्रतियोगितात्मक खेल आइतबार सुरु हुनेछ । त्यसअघि नेपालसहित सहभागी टोलीले २–२ अभ्यास खेल खेल्नेछन् ।
नेपालले बुधबार तल्लो मूलपानीमा आयरल्यान्डसँग खेल्ने छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बंगलादेश र नेदरल्यान्ड्स तथा नामिबिया र थाइल्यान्ड तथा माथिल्लो मूलपानीमा जिम्बावे र पपुवा न्युगिनी तथा अमेरिका र स्कटल्यान्डबीच अभ्यास खेल हुनेछ ।
नेपालले शुक्रबार अमेरिकासँग कीर्तिपुरमा दोस्रो अभ्यास खेल खेल्नेछ । पहिलो पटक ग्लोबल महिला ट्वान्टी–२० विश्वकप छनोट खेल्न लागेको नेपालले यसअघि नै इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ । हर्शल पाठकको नेपाली प्रशिक्षकका रूपमा यो पहिलो प्रतियोगिता हुनेछ ।
समूह ‘बी’ मा रहेको नेपालले त्यसपछि जनवरी १८ मा थाइल्यान्ड, जनवरी २२ मा नेदरल्यान्ड्स, जनवरी २४ मा जिम्बावे र जनवरी २६ मा स्कटल्यान्डसँग खेल्नेछ । नेपालले जिम्बावे र स्कटल्यान्डसँग पहिलो पटक खेल्न लागेको हो ।
समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छ । दुवै समूहका शीर्ष ३ टोली सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्समा एकले अर्को टोलीसँग सामना गरेपछि शीर्ष चार टोली जुन–जुलाईमा इंग्ल्यान्ड र वेल्समा हुने ट्वान्टी–२० विश्वकपमा पुग्नेछन् ।
प्रतियोगिताका खेल कीर्तिपुर र माथिल्लो मूलपानी मैदानमा हुनेछ । तल्लो मूलपानीमा दुई अभ्यास खेलमात्र हुनेछ । नेपालले प्रतियोगिताको तयारीका क्रममा अमेरिका र स्कटल्यान्डसँग अनौपचारिक अभ्यास खेल खेलेको थियो ।
समूह ‘ए’
बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका
समूह ‘बी’
नेपाल, नेदरल्यान्ड्स, स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बावे
नेपालको खेल तालिका
अभ्यास : आयरल्यान्डविरुद्ध जनवरी १४, तल्लो मूलपानी (९ बजे)
अमेरिकाविरुद्ध जनवरी १६, कीर्तिपुर (१ बजे)
समूह चरणका खेल
थाइल्यान्डविरुद्ध जनवरी १८, कीर्तिपुर (९ बजे)
नेदरल्यान्ड्सविरुद्ध जनवरी २२, कीर्तिपुर (९ बजे)
जिम्बावेविरुद्ध जनवरी २४, कीर्तिपुर (१ बजे)
स्कटल्यान्डविरुद्ध जनवरी २६, कीर्तिपुर (९ बजे)
