स्पेनिस सुपर कपमा रियल म्याड्रिडलाई हराएर बार्सिलोना १६ औं पटक च्याम्पियन बन्न सफल
What you should know
जेद्दा — बार्सिलोनाले आइतबार रियल म्याड्रिडलाई हराएर स्पेनिस सुपर कप उपाधिको रक्षा गरेको छ । प्रशिक्षक हान्सी फ्लिकले राफिन्हाको खेलबारे खुलेर प्रशंसा गरेका छन् ।
ब्राजिली विङ्गरको दुई गोलप्रेरित बार्सिलोनाले साउदी अरेबियामा भएको फाइनलमा रियललाई ३–२ ले हराएको हो । राफिन्हाले बार्सिलोनाका लागि पछिल्ला ५ खेलमा ७ गोल गरिसकेका छन् ।
अक्टोबर र नोभेम्बरमा बार्सिलोनाले लय गुमाएको बेला राफिन्हा चोटले दुई महिना बाहिर रहेका थिए । तर अहिले उनी उत्कृष्ट पुनरागमन रच्न सफल भएका छन् । यसपल्टको फाइनलमा पनि उनकै गोल निर्णायक साबित भयो ।
फ्लिक भन्छन्, ‘राफिन्हाको अहिलेको प्रदर्शनले टिममा आत्मविश्वास फर्केको छ । खासमा उनको खेलको विशेषता भन्नु नै यही हो । उनी मैदानमा जोस ल्याउँछन् । हामीलाई चाहिने भनेको यस्तै भावना हो ।’
गत सिजन बार्सिलोनाले सुपर कप जितेयता स्पेनी घरेलु फुटबलका तीनै उपाधि जितेको थियो । फ्लिक त्यसैले के मान्छन् भने यसपल्टको सफलताले पनि बार्सिलोनाको महत्त्वकांक्षा बढ्दै गएको छ । सबै प्रकारको प्रतियोगितामा गरेर लगातार दसौं जित निकाल्न सफल रहेपछि प्रशिक्षक फ्लिकले थपे, ‘अहिले हाम्रो मानसिकता सकारात्मक छ । यसैले त हो टिमको आत्मविश्वास बढाउने ।’
उनले अगाडि भने, ‘यो फाइनल हाम्रा लागि धेरै महत्त्वको रह्यो, किनभने यो रियलविरुद्ध थियो । जतिबेला हामी रियलविरुद्ध खेल्ने गर्छौं, त्यो जहिले पनि विशेष हुने गर्छ । यही फाइनल खेलमा यसपल्ट विजयी रह्यौं । त्यसैले यो अझ राम्रो भएको छ ।’ फ्लिकले अहिलेसम्म प्रशिक्षकका रूपमा ८ फाइनल खेलेका छन् । त्यसमध्ये सबैमा विजयी रहेको छ । त्यसमध्ये पछिल्लो दुई जित पोहार सिजन रियलविरुद्ध नै थियो ।
त्यसैले उनले भने, ‘जसरी फाइनलमा हामी एकाग्र भएर खेल्न सक्यौं, यसले टिमलाई धेरै राहत दिन्छ । यो टिमका लागि साँच्चैमा धेरै महत्त्वको हुन्छ ।’ उनले खेलको अन्त्यतिर आफ्नो डिफेन्डर रोनाल्ड आराजोलाई पनि मैदानमा उतारे । ती उरुग्वेली खेलाडीले मानसिक कारणले फुटबलबाट केही समयका लागि विश्राम लिएका थिए । फ्लिकले उनीबारे बोल्दै भने, ‘यो जितले पनि उनलाई समर्थन गर्नेछ ।’
फ्लिकको नेतृत्वमा बार्सिलोनाले पछिल्लो सिजन खेलका सबै चारै ‘अल क्लासिको’ मा जित निकालेको थियो । पछिल्लो सुपर कपका चार संस्करण जितेको टिमले नै अन्ततः ला लिगा उपाधि पनि हात पारेको अर्थमा बार्सिलोना खुसी रहनेछ । बार्सिलोनाले यो सिजन राम्रो सुरुआत लिन असफल रहे पनि निर्णायक मोडमा आएर लय समातेको छ । गत सिजन सुपर कप फाइनलमा बार्सिलोनाले रियललाई नै हराएको थियो ।
बार्सिलोना यो प्रतियोगिताको कीर्तिमानी १६ पटकको च्याम्पियन बनेको छ । हारले रियल र टोलीका प्रशिक्षक जाभी अलोन्सोलाई फेरि दबाबको स्थितिमा राख्नेछ । उनले फाइनलको विश्लेषण गर्दै भने, ‘जतिबेला पनि जब टिम हार्छ, नराम्रो अनुभव नै हुन्छ । यो खेलमा हामीले अन्त्यसम्म पनि आफ्नो संघर्ष जारी राखेका थियौं । खेल पनि बराबरीकै रह्यो । जितका लागि भने म बार्सिलोनालाई बधाई दिन चाहन्छु ।’
