पहिलो खेलमा हरपतगन्ज युथ किंग्सले सखुवा प्रसौनी टाइगर्सलाई ७४ रनले पराजित गर्यो भने दोस्रो खेलमा सानो पाइलाले जेनजी अफ नेपाललाई तीन विकेटले स्तब्ध पार्यो ।
पर्सा — वीरगन्जको हरपतगन्जमा सञ्चालित गढीमाई प्रिमियर लिग टी/२० क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको दुई खेलमा हरपतगन्ज युथ किंग्स र सानो पाइला विजयी भएका छन् ।
पहिलो खेलमा हरपतगन्ज युथ किंग्सले सखुवा प्रसौनी टाइगर्सलाई ७४ रनले पराजित गर्यो । निर्धारित १६ ओभरको खेलमा सखुवा प्रसौनी टाइगर्सले टस जिती हरपतगन्ज युथ किंग्सलाई व्याटिङ गर्न लगायो । हरपतगन्जका आरिफ हवारीले ४५ र साजन रायले १८ रनको योगदान गरे ।
सखुवा प्रसौनीका बलरहरू अभय गिरीले तीन र उपेन्द्र यादवले १ विकेट लिए । जवाफी ब्याटिङमा आएको सखुवा प्रसौनी टाइगर १३ ओभरमा ७९ रनमै समेटियो । उमेन्द्र यादवले सर्वाधिक २४ र निरज गिरीले अविजित २२ रनको योगदान गरे ।
हरपतगन्जका बलहरू सन्जीव कुमार तीन र रोशन यादवले दुई विकेट लिए । हरपतगन्जका सन्जीव कुमार ‘म्यान अफ द म्याच’ घोषित भए ।
दोस्रो खेलमा सानो पाइलाले जेनजी अफ नेपाललाई तीन विकेटले पराजित गर्यो । टस जितेर सानो पाइलाले जेनजी अफ नेपाललाई व्याटिङको निम्तो दियो । जेनजी अफ नेपालले १४ ओभरमा १ सय १० रनको सामान्य योगफल तयार पार्यो । उसका लागि महम्मद सरिफ अन्सारीले ३० र श्रीलाल साहले १५ रनको योगदान गरे । सानो पाइलका बलरहरू सेराज हवारीले तीन र राजवीर साहले चार विकेट लिए ।
जवाफी व्याटिङकमा उत्रिएको सानो पाइलाले १४ ओभरमा सात विकेटको क्षतिमा विजयी लक्ष्य भेट्टायो । उसका लागि सोहेव अख्तरले सर्वाधिक ३४ र सुमन पटेलले ३३ रनको योगदान गरे । जेनजी अफ नेपालका बलरहरू सेराज अन्सारीले तीन र असर्फी साहले १ विकेट हात पारे । सानो पाइलाका पटेल ‘म्यान अफ द म्याच’ भए ।
