मुलुकमा पहिलोपटक दुई टिमबीच तीन फर्म्याटमा प्रतिस्पर्धा चलिरहेको छ । दुईदिवसीय टेस्ट र एकदिवसीय सिरिज सकिएसँगै अब टी–२० सिरिज हुने प्रतियोगिता संयोजक प्रथम पराजुलीले जानकारी दिए ।
What you should know
भैरहवा — रूपन्देही क्रिकेट संघको आयोजनामा यहाँ सञ्चालन भइरहेको ‘पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता’अन्तर्गत रूपन्देही–११ ले एकदिवसीय शृंखला कब्जा गरेको छ ।
आइतबार शृंखलाको अन्तिम खेलमा रूपन्देहीले त्रिभुवन आर्मी क्लब ‘ए’लाई ८२ रनले पराजित गरेको हो । यसअघि रूपन्देहीले आर्मीविरुद्धको पहिलो खेल ८७ र दोस्रो खेल ४९ रनले जितेको थियो ।
सिद्धार्थ क्रिकेट मैदानमा भएको अन्तिम खेलमा टस जितेर ब्याटिङ गरेको रूपन्देहीले मौसमका कारण २८ ओभरमा छोट्याइएको खेलमा ७ विकेट गुमाएर १ सय ९१ रनको योगफल बनायो । उसका लागि अमर मिश्राले ३९, मिर्नाल गुरुङले ३१, देव खनालले २८, समीर अलीले २२, आकाश त्रिपाठीले १८, निश्चल ज्ञवालीले १६ र प्रज्वल थापाले १५ रनको योगदान गरे ।
बलिङमा आर्मीका घनश्याम पाण्डेले २ तथा अनिश धामी, कृष्णप्रसाद भट्टराई, पवन कार्की र जितेन्द्रसिंह ठकुरीले समान १–१ विकेट लिए । जवाफमा ब्याटिङ गरेको आर्मी २४ ओभर ५ बलमा १ सय ९ रनमा सीमित भयो । उसका लागि अनिश धामीले २६, प्रेम गुरुङले २५, पवन कार्कीले २३ र जितेन्द्रसिंह ठकुरीले १२ रन बनाए । बलिङमा रूपन्देहीका सन्देश थापाले ४, देव खनालले २ तथा विप्रसन केसी, अजयकुमार चौहान र मिर्नाल गुरुङले १–१ विकेट लिन सफल भए । खेलमा सन्देश थापा ‘प्लेयर अफ द म्याच’ चुनिए ।
मुलुकमा पहिलोपटक दुई टिमबीच तीन फर्म्याटमा प्रतिस्पर्धा चलिरहेको छ । दुईदिवसीय टेस्ट र एकदिवसीय सिरिज सकिएसँगै अब टी–२० सिरिज हुने प्रतियोगिता संयोजक प्रथम पराजुलीले जानकारी दिए । प्रतियोगितालाई भैरहवाका व्यवसायी हरिश र सुनिल सेठियाले आफ्ना बुवा स्वर्गीय पवनकुमार सेठियाको स्मृतिमा मुख्य प्रायोजन गरेका छन् ।
