एमबाप्पेले बिहीबार एट्लेटिको म्याड्रिडविरुद्धको सेमिफाइनल गुमाएका थिए, तर उनी शुक्रबार टिमसँग आबद्ध हुन साउदी अरेबिया आइपुगेका छन् ।
जेद्दा — रियल म्याड्रिड प्रशिक्षक जाभी अलोन्सोले केलियन एमबाप्पेको स्वास्थ्यबारे आफू सचेत रहेको बताउँदै फ्रान्सेली खेलाडीलाई लिएर सावधानीपूर्वक जोखिम भने उठाउने प्रस्ट पारेका छन् ।
रियलले आइतबार स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनाको सामना गर्दै छ । एमबाप्पेले बिहीबार एट्लेटिको म्याड्रिडविरुद्धको सेमिफाइनल गुमाएका थिए, तर उनी शुक्रबार टिमसँग आबद्ध हुन साउदी अरेबिया आइपुगेका छन् ।
एमबाप्पे घुँडाको चोटमुक्त हुन संघर्षरत छन् । डिसेम्बरमा उनलाई चोट लागेको थियो । यो निको हुन कम्तीमा तीन साता लाग्ने बताइएको थियो । यो सिजन सबै प्रकारका प्रतियोगितामा गरेर सर्वाधिक २९ गोल गरेको एमबाप्पेले दुखाइ कम गर्ने इन्जेक्सन लिएर खेल्न सक्ने बताइएको छ । तर अलोन्सोले आफू कुनै पनि प्रकारको जोखिम उठाउने मनसायमा नरहेको बताए ।
उनले भनेका छन्, ‘चिकित्सकदेखि लिएर खेलाडीसँगको छलफलपछि मात्र एमबाप्पेलाई लिएर अन्तिम निर्णय हुनेछ । जोखिम कत्तिको हुनेछ, त्यो प्रमुख प्रश्न हो । हामी आफूलाई नै घाटा हुने खालेको निर्णय गर्ने पक्षमा छैनौं ।’ उनले अहिले एमबाप्पेको स्थितिमा निकै धेरै सुधार भइसकेको पनि बताए । एट्लेटिकोविरुद्धको खेल अगाडि एमबाीपेले स्पेनी ला लिगामा रियल बेटिसविरुद्धको खेल पनि गुमाएका थिए ।
अलोन्सोले थपेका छन्, ‘अहिले एमबाप्पेले राम्रो गरिरहेका छन् । सायद उनी एट्लेटिकोविरुद्धको खेलका लागि तयार थिएनन् । हामी उनले चाँडै टिममा जोखिम लिएर फर्कोस भन्ने पनि चाहँदैनौं । यदि हामी फाइनल प्रवेश गर्न सफल रहे, के हुनेछ भनेर पनि विश्लेषण गरिरहेका थियौं । जति बेला उनी अभ्यासमा उत्रिन्छन्, त्यतिबेला कस्तो हुनेछ, हामी सबैको ध्यान त्यसमै हुनेछ ।’
स्पेनी प्रशिक्षक सन् २०२५ को अन्त्यतिर टिमको खराब प्रदर्शनका कारण वर्खास्तगीको संघारमा थिए । तर पछिल्लो समय रियल फेरि लयमा देखिएको छ र टिमले लगातार ५ खेल जितेको छ । अलोन्सोले भन्छन्, ‘कुनै पनि योजनाले आकार लिन माग्छ । हामी टिम भावनाअनुसार अगाडि बढिरहेका छौं । हामीलाई थाहा छ, टिमलाई के आवश्यक छ । अहिले टिम एक ढिक्का छ । बार्सिलोनाविरुद्धको खेलको नतिजाले यो सिजनमा धेरै अर्थ राख्नेछ ।’
बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिक पनि मान्छन्, एमबाप्पे खेललाई एक्लै मोड्न सक्ने खालका हुन् । तर उनी के मान्छन् भने एमबाप्पेले खेले पनि नखेले नि बार्सिलोना जितका लागि सक्षम छ । उनले भने, ‘अहिलेका लागि एमबाप्पे नै विश्व फुटबलका उत्कृष्ट स्ट्राइकर हुन् । उनले लगातार गोल गरिरहेका छन् । म उनीबारे अहिले यति मात्र भन्न सक्छु ।’
गत सिजन एमबाप्पेले खेलेका चारै खेलमा बार्सिलोना रियलविरुद्ध जित निकाल्न सफल थियो । यो तथ्य फ्लिक दोहोर्याएर सम्झन चाहन्छन् । बार्सिलोनाले गत सिजनको स्पेनिस सुपर कप फाइनलमा रियललाई नै ५–२ ले हराएको थियो । बार्सिलोना स्पेनी ला लिगाका दुवै ‘अल क्लासिको’ र कोपा डेल रेको फाइनल जित्न सफल रहेको थियो । यो सिजन भने रियलले बार्सिलोनालाई एक खेलमा २–१ ले हराएको छ ।
