गढीमाईले १६ ओभरमा ८ विकेटको क्षतिमा १ सय ६६ रन बनाएको थियो भने जवाफी व्याटिङमा आएको टेढा टाइगरले १६ ओभरमा ७ विकेटको क्षतिमा १ सय ५८ रन मात्र बनाउन सक्यो ।
पर्सा — वीरगन्जको हरपतगन्जमा जारी गढीमाई प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा गढीमाई वारियर्स विजयी भएको छ । उसले टेढा टाइरलाई ८ रनले पराजित गरेको हो ।
मौसमको प्रतिकूलताको कारण १६ ओभरमा खेलाइएको खेलमा टस जितेर टेढा टाइगरले फिल्डिङ गर्ने निर्णय लियो । गढीमाईले १६ ओभरमा ८ विकेटको क्षतिमा १ सय ६६ रनको विशाल योगफल खडा गर्यो । उसका लागि रन्जित रायले सर्वाधिक ४९ र रोशन यादवले २४ रनको योगदान गरे ।
टेढा टाइगरका बलरहरू राजन पटेलले तीन, अलिराज र लोकेश पटेलले २/२ विकेट लिए ।
जवाफी व्याटिङमा ओर्लिएको टेढा टाइगर १६ ओभरमा ७ विकेटको क्षतिमा १ सय ५८ रन मात्र बनाउन सक्यो । उसका अफसर हुसेनले सर्वाधिक ५७ रनको योगदान गरे । गढीमाई वारियर्सका बलरहरू रोशन यादव र साहिल सहनीले २/२ विकेट हात पारे । रोशन यादव ‘म्यान अफ द म्याच’ घोषित भए ।
