इंग्लिस फुटबलको पिरामिडमा प्रिमियर लिगको टोली प्यालेस र नेसनल लिग नर्थको टोली माकल्सफिल्डबीच १ सय १७ स्थानको फरक छ । त्यो भिन्नता हेर्ने हो भने माकल्सफिल्डको सफलता एफए कप इतिहासकै ठूलो सनसनीपूर्ण नतिजाको रूपमा लिन सकिन्छ ।
What you should know
लन्डन — डिफेन्डिङ च्याम्पियन क्रिस्टल प्यालेसलाई शनिबार छैटौ श्रेणीको टोली माकल्सफिल्डले २–१ ले पराजित गरेर एफए कपमा सनसनी नतिजा निकालेको छ । यसलाई प्रतियोगिताको सबैभन्दा ठूलो स्तब्धपूर्ण नतिजा मानिएको छ ।
इंग्लिस फुटबलको पिरामिडमा प्रिमियर लिगको टोली प्यालेस र नेसनल लिग नर्थको टोली माकल्सफिल्डबीच १ सय १७ स्थानको फरक छ । त्यो भिन्नता हेर्ने हो भने माकल्सफिल्डको सफलता एफए कप इतिहासकै ठूलो सनसनीपूर्ण नतिजाको रूपमा लिन सकिन्छ ।
कप्तान पाउल डावसन र इसाक बक्ली–रिकेट्सले दुवै हाफमा गोल गरेपछि माकल्सफिल्डले ‘प्रसिद्ध जित’ हात पारेको हो । यो त्यही टोली हो, जसले ऋण तिर्न नसक्दा सन् २०२० मा क्लब पुनर्गठन गर्नुपरेको थियो । ‘मलाई अझै यो विश्वास नै लागिरहेको छैन, यो दिनमा पुगिन्छ भनेर मैले कहिल्यै कल्पना पनि गरेको थिइनँ,’ माकल्सफिल्डका व्यवस्थापक जोन रोनीले भने । उनी म्यानचेस्टर युनाइटेडका पूर्वकप्तान वायने रुनीका भाइ हुन् ।
उनले अगाडि भने, ‘मलाई यो सम्भव हुन्छ भनेर विश्वास लागिरहेको थिएन, तर हामीमा केही विश्वास थियो, जुनै दिन, जे पनि हुनसक्छ भन्ने आशा देखाएको थियो ।’ एक महिना अघिमात्र माकल्सफिल्डका फरवार्ड इयुएन म्याकलेइडको कार दुर्घटनामा २१ वर्षको उमेरमा निधन भएको थियो । एक खेलका लागि उनी घरबाट यात्राका लागि निस्कँदा दुर्घटनामा परेका थिए । क्रिस्टल प्यालेसका व्यवस्थापक ओलिभर ग्लास्नरले ६ खेलाडी परिवर्तन गरेर नयाँलाई मौका दिएका थिए । इंग्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी मार्क गुइही र एवम ह्वार्टनसहित खेलाडी परिवर्तन गरेका ग्लास्नर आफै म्यानचेस्टर युनाइटेड जाने चर्चामा छन् । ‘मैले आज जे देखें, त्यो भन्न मसँग शब्द छैन । इमानदार भएर भन्नुपर्दा यस्तो खाले खेलमा कुनै रणनीति चाहिँदैन, व्यवस्थापक पनि नभए हुन्छ,’ ग्लास्नरले भने, ‘आफ्नो क्षमता देखाउनु छ र फरक किसिमले प्रर्दशन दिन सक्नुपर्छ । तर हामी सबै कुरामा चुक्यौं ।’
प्योलसले पछिल्ला ९ खेलमा कुनैमा विजय हात पार्न सकेको छैन र सेट पिसमा रक्षा गर्नेक्रममा टोली निकै कमजोर देखिएको छ । स्पेनका अन्तर्राष्ट्रिय खेलाडी येरेमी पिनोले ९० औं मिनेटमा फ्रिकिकबाट सानदार गरेको गोल प्यालेसका लागि चित्त बुझाउने बाटोमात्र बन्यो । तर इतिहासमा सबैभन्दा अविश्वसनीय नतिजाको विपरीत दिशामा उभिन टोली बाध्य भयो । केही महिनाअिघ मात्र टोलीले म्यानचेस्टर सिटीलाई पराजित गरी एफए कप जितेको थियो । त्यसपछि सिजन सुरुआतमा प्यालेसले लिभरपुललाई कम्युनिटी सिल्डमा हराएको थियो ।
प्रिमियर लिगको अंकतालिकामा पुछारमा रहेको उल्भस भने एफए कपको चौथो चरणमा पुगेको छ । योर्गेन स्ट्रान्ड लार्सनको ह्याट्रिकमा स्रेवसबरीलाई ६–१ ले हरायो ।
