एसेज शृंखलामा अस्ट्रेलियाको हातबाट इंग्ल्यान्ड लगभग एकपक्षीय ढंगले पराजित भए पनि कप्तान बेन स्टोक्स र प्रशिक्षक ब्रेन्डन म्याककलमको पद भने सुरक्षित
What you should know
लन्डन — सेज शृंखलामा नमीठो हार बेहोर्दै इंग्लिस टिम घर फर्कंदै छ । अस्ट्रेलियाको हातबाट शृंखलामा इंग्ल्यान्ड लगभग एकपक्षीय ढंगले ४–१ ले पराजित रह्यो । यति हुँदाहुँदै पनि सायद कप्तान बेन स्टोक्स र प्रशिक्षक ब्रेन्डन म्याककलमले आफ्नो पद गुमाउने छैनन् ।
स्टोक्सले त भनिसकेका पनि छन्, सिक्दै अगाडि बढ्ने नै हो । पाहुना टिम नोभेम्बरमा ठूलै आस लिएर अस्ट्रेलिया पुगेको थियो । उसका सामु सन् २०१०–२०११ यता पहिलो पटक अस्ट्रेलियाली भूमिमा एसेज जित्ने अवसर थियो । तर भइदियो के भन्दा इंग्ल्यान्डले ११ दिनको खेलभित्रै शृंखला गुमायो ।
सुरुआती तीन टेस्टमा इंग्ल्यान्ड ११ दिनभित्र पराजित रह्यो र टिम एकाएक ३–० ले पछाडि परेको थियो । त्यसपछि त उसका लागि शृंखलामा खेल्न बाँकी मुद्दा भनेको स्वाभिमानकै मात्र त थियो । यसरी अलिकति लज्जास्पद हारकै बाबजुत पनि म्याककलम र स्टोक्स मात्र होइन, इंग्ल्यान्डको क्रिकेटका निर्देशक रब कीले पनि आफ्नो जागिर गुमाउने पर्ने छैन । यसको ठोस कारण पनि छ ।
म्याककलम इंग्ल्यान्डको टेस्ट क्रिकेटको प्रशिक्षक मात्र होइन, उनको काँधमा ‘ह्वाइट बल’ टिम पनि छ । अनि अर्को महिनामै भारत र श्रीलंकामा हुने ट्वान्टी–२० विश्वकप पनि छ । र, जुन महिनामा न्युजिल्यान्डको आतिथ्य गर्न अगाडिसम्म इंग्ल्यान्डले टेस्ट क्रिकेट पनि खेल्ने छैन । सिड्नीमा भएको अन्तिम टेस्टमा पाँच विकेटको हारपछि स्टोक्सले आफूले नेतृत्व सम्हालिरहने इच्छा व्यक्त गरेका पनि थिए ।
त्यही बेला उनले प्रण गरेका थिए, बेठिक सबैलाई ठीक ठाउँमा ल्याउने । यो तथ्यमा प्रशिक्षक म्याककलम पनि सहमत देखिएका छन् र भनेका छन्, इंग्ल्यान्ड टिममा अहिले त्यस्तो धेरै स्थान रहेको छ, जसमा सुधार अत्यावश्यक छ ।
तर उनी यी के कस्ता स्थान हुन भनेर चाहिँ खुलाउन चाहँदैनन् । न्युजिल्यान्डका यी पूर्वकप्तानको नेतृत्वमा इंग्ल्यान्डले निकै आक्रामक भएर खेल्ने गरेको छ । के यो नीति अबको दिनमा पनि कायम हुनेछ, मूल प्रश्न यही देखिएको छ । म्याककलम स्वयं यसमा कति परिवर्तन चाहन्छन्, त्यो पनि आफ्नो स्थानमा छ ।
अहिले इंग्ल्यान्ड टिमको तीन मुद्दामा आलोचना भएको छ । पहिलो, एसेज शृंखला सुरु हुन अगाडि उसले चाहिँदो अभ्यास नै गरेन, त्यसैले तयारी असाध्यै कमजोर रह्यो । त्यसपछि टिममा विशेषज्ञ प्रशिक्षकको पनि अभाव रह्यो ।
तेस्रो, खेलाडीको व्यवहार पनि राम्रो रहेन, खेलाडी जति अनुशासनमा पछाडि नै देखिएन । त्यो पनि विशेषतः मैदान बाहिरको क्रियाकलापमा । तर मुख्य कुरा त्यही रह्यो, इंल्यान्डको ‘बजबल’ रणनीतिलाई औसत मान्न सकिने अस्ट्रेलियाली बलिङ आक्रमणले निस्तेज नै पार्न सफल रह्यो ।
घरेलु टिम त्यही थियो, जसका कप्तान प्याट कमिन्सले चोटका कारण एकै टेस्ट मात्र खेल्न सके । अर्कोतर्फ जस हेजलउडले पूरै शृंखला नै गुमाउन पुगे, चोटकै कारण । इंग्ल्यान्डको असफलताको क्षेत्र भने ठूलो रह्यो, प्रतिष्ठाअनुसार ब्याटरले खेल्न सकेनन् र एकभन्दा बढी अवसरमा टिम नाटकीय पतनको सिकार बन्यो । अनि बलिङ र फिल्डिङ दुवै खराब जस्तै रह्यो ।
अझ बलिङमा इंग्ल्यान्डले कुनै धार नै देखाउन सकेन भन्दा हुन्छ । इंग्ल्यान्डको सबैभन्दा ठूलो आलोचकका रूपमा जेफ्री ब्वाइकट देखिएका छन् । उनी इतिहासमा त्यस्ता ब्याटर हुन्, जसले अस्ट्रेलियामा एसेज जितको सफलता चुमे । उनी मान्छन्, इंग्ल्यान्डको रणनीति नै काम लागेन ।
अझ उनले डेली टेलिग्राफमा लेखेका छन्, ‘सबैभन्दा मुख्य कुरा, ब्रेन्डन म्याककलम, रब की र बेन स्टोक्सले पछिल्लो तीन वर्षमा लगातार झूट मात्र बोलिरहेका रहेछन् । म्याककलमको दर्शन रहेछ, आफूखुसी खेल्ने, स्थितिले के मागेको छ, त्यसको वास्ता नै नगर्ने ।’
ब्वाइकटले थपेका छन्, ‘प्रशिक्षकका अनुसार खेल्दा खेरी आफूले आफ्नो क्षमता पोख्ने हो भने, यसक्रममा आउट हुन्छ भने त्यसमा उनको दोष हुन्न । अब त इंग्ल्यान्ड टिममा कसैले खराब गर्छ भने त्यसको जिम्मेवारी लिने पनि भएन । अझ खराब खेलेका कारण टिमबाट हटाइने डर पनि भएन । त्यसको अर्थ एउटै खाले भूल बारम्बार दोहराएर गर्दा पनि भयो ।’ भ्रमणमा निस्कँदा इंग्ल्यान्डलाई लागेको थियो, घरेलु टिमलाई दबाब दिन सक्ने पेस आक्रमण आफ्नो टिममा छ ।
तर भइदियो के भन्दा पार्ट टाइम अफ स्पिनर विल ज्याक्सले त्यति नै टेस्ट खेले, जति चोटग्रस्ट भइरहने दुई फास्ट बलर मार्क उड र जोफ्रा आर्चरले मिलेर खेले । अफ स्पिनर शोएब बासिरलाई इंग्ल्यान्डको क्रिकेट भविष्य मानिएको छ, तर उनले त झन् एकै टेस्ट पनि खेलेनन् । सिड्नीमा ज्याको बेथवेलले उत्कृष्ट शतक प्रहार गरे । यो खासमा इंग्लिस टिमको बलियो पक्ष भन्दा पनि हुन्छ, अनि कमजोरी पनि । यो उनको पहिलो प्रथम श्रेणीको शतक पनि थियो ।
उनीमाथि इंग्ल्यान्डले धेरै आस गर्न सक्थ्यो, तर उनलाई चाहिँदा प्रयोग पनि गरिएको छैन । दुई वर्ष अगाडि न्युजिल्यान्डविरुद्ध डेब्यु गरेयता उनले इंग्ल्यान्डका लागि राम्रोसँग खेल्न पनि पाएका छैनन् । तर यी २२ वर्षीय बायाँ हाते ब्याटरले सिड्नीमा १ सय ५४ रनको इनिङ्स खेले, त्यसको भने प्रशंसा गर्नु नै पर्ने हुन्छ । तर यसको खराबी पनि थिए । जस्टिन ल्यान्गरले ठीकै भनेका छन्, बेथवेलको प्रदर्शन मनोरन्जनात्मक थियो र उनले बल हावामा सक्दो प्रहार गरिरहेका थिए ।
जति बेला म्याककलम र स्टोक्सले इंग्लिस टिम सम्हालेका थिए, टिमको प्रदर्शन त्यति बेला पनि असाध्यै कमजोर थियो । तर उनीहरू आएयता सुरुआती ११ टेस्टमा इंग्ल्यान्ड १० पल्ट विजयी रह्यो । तर अहिले इंग्ल्यान्डले खेलेका पछिल्ला २८ टेस्टमध्ये १४ मा पराजित भएको छ । अनि घरमा होस् अथवा घर बाहिर इंग्ल्यान्डले सन् २०१८ यता पाँच टेस्टको शृंखलामा अस्ट्रेलिया अथवा भारतलाई हराउन सकेको छैन ।
यसबीच स्टोक्स स्वयं मान्छन्, ‘अहिले हामीले धेरैभन्दा धेरै खेल हार्न थालेका छौं, जितको तुलनामा । हामी ठूला शृंखला जित्न त चाहन्छौं तर त्यो पनि सकिरहेका छैनौं । यो तथ्यमा हामी धेरै नै इमान्दार भएर सोच्नुपर्ने हुन्छ । हामीले हामी कहाँ छौं भनेर रोच्नैपर्छ । खासमा हामीले हाम्रै छवि बिगार्ने काम गरिरहेका छौं ।’ ठीक यही बेला इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले भनेको छ, टिमको खराब प्रदर्शन कसरी यस्तो भयो, त्यसबारे गम्भीर भएर छानबिन हुनेछ ।
बोर्डका प्रमुख कार्यकारी रिचार्ड गोल्डले भनेका छन्, ‘मुख्य कुरा हाम्रो प्रदर्शन एकनासे रहेन । साह्रै खराब हुन्थ्यो त हामीले मेलबर्नमा जित्ने थिएनौं । यो शृंखलाबाट हामीले धेरै पाठ सिक्न सक्छौं । हामीलाई सक्दो चाँडै सिक्नु पनि छ । हामीले जसरी शृंखला गुमाएका छौं, त्यो निराशाजनक नै रहेको छ । अब हाम्रो ध्यान सन् २०२७ को एसेज सिरिज जित्नुमा हुनुपर्छ । हामीले कुनै पनि भ्रमणलाई अझ व्यवस्थित बनाउनेछौं । योजना पनि बुन्नेछौं ।’
