भारतीय संस्थापनको दबाबसँगै आईपीएल क्लब कोलकाता नाइटराइडर्सले बंगलादेशी बलर मुस्तफिजुर रहमानलाई हटाएपछि विवाद उत्कर्षमा, बंगलादेशी क्रिकेट बोर्डले उसका खेलाडी भारतीय भूमिमा सुरक्षित नभएको दाबी गरेको छ ।
What you should know
दिल्ली (एजेन्सी) — अहिले विश्व क्रिकेट बंगलादेशको त्यो धम्कीले तरंगित छ, जसको आशय हो, अबको ट्वान्टी–२० विश्वकप खेल्न उसको टिम भारत जाने छैन ।
बंगलादेशी क्रिकेट बोर्डले औपचारिक रूपमै आफ्ना खेल भारतबाट सारेर श्रीलंका लान भनेको छ ।
त्यसको जवाफमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पनि भनेको छ, त्यस्तो हुने छैन । खेल्न नआउने हो भने त्यसलाई खेल छाडेको मानिनेछ । खेल भने अन्यत्र सारिने छैन ।
पछिल्लो समय दुई छिमेकी देशबीच राजनीतिक सम्बन्ध राम्रो छैन । उनीहरूबीचको भू–राजनीतिले भारत र श्रीलंकामा हुन लागेको विश्वकप गलत कारणले चर्चामा छ । भारतीय क्रिकेट बोर्डको आदेशमा इन्डियन प्रिमियर लिग (आईपीएल) टिम कोलकाता नाइटराइडर्सले बंगलादेशी बलर मुस्तफिजुर रहमानलाई हटाएपछि विवाद सुरु भएको हो । त्यसैलाई निहुँ बनाएर बंगलादेशी क्रिकेट बोर्डले दाबी गरेको थियो, उसका खेलाडी अब भारतीय भूमिमा सुरक्षित छैनन् ।
अझ बंगलादेशी सरकारले त अब हुने आईपीएलको प्रत्यक्ष प्रसारण आफ्नो देशमा नगर्ने आदेशसमेत दिइसकेको छ । यस्तोमा अब प्रश्न हो, बंगलादेशको धम्की र आईसीसीको अस्वीकारपछि के हुनेछ त ? बंगलादेश अबको विश्वकपको समूह सीमा रहेको छ । उसका प्रतिद्वन्द्वी इंग्ल्यान्ड, वेस्ट इन्डिज, नेपाल र इटाली रहेका छन् । उसका खेल भारतको कोलकाता र मुम्बईमा हुनेछन् ।
आईसीसीका आधिकारिक प्रतियोगितामा यस्तो कुनै टिमले खेल नखेल्ने धम्की दिएको मात्र नभएर, खेल नै बहिष्कार गरेका घटना यसअघि पनि रहेका छन् । त्यसको अहिलेको घटना नै पहिलो होइन, न त यो अन्तिम हुनेछ । यस पृष्ठभूमिमा यसअघि कुनै टिमले आईसीसीको आधिकारिक प्रतियोगिता खेल्न अस्वीकार गरेपछि के कस्तो भएको थियो, त्यसको इतिहास पल्टाउनु पनि सान्दर्भिक नै हुनेछ ।
सन् १९९६ मा यस्तो पहिलो घटना भएको थियो, जति बेला अस्ट्रेलिया र वेस्ट इन्डिजले एकदिवसीय विश्वकपका खेल खेल्न श्रीलंका जान अस्वीकार गरेको थियो । प्रतियोगिता सुरु हुन ठीक दुई साता अगाडि राजधानी कोलम्बोमा बम विस्फोट भएको थियो । त्यति बेला श्रीलंकामा गृहयुद्ध चलिरहेको थियो । असुरक्षालाई कारण देखाएर अस्ट्रेलिया र वेस्ट इन्डिज श्रीलंका गएनन् । त्यस्तोमा उनीहरूले खेल छाडेको मानियो र अंक काटियो ।
श्रीलंकासँगै अस्ट्रेलिया र वेस्ट इन्डिज पनि क्वार्टरफाइनल पुगे । पछि श्रीलंका र अस्ट्रेलियाबीच नै फाइनल भयो । लाहोरमा भएको त्यस उपाधिको भिडन्तमा श्रीलंका विजयी रह्यो । सन् २००३ को एकदिवसीय विश्वकपमा पनि लगभग यस्तै नै भयो, जब इंग्ल्यान्डले जिम्बावे गएर खेल्न अस्वीकार गरेको थियो । यस्तै न्युजिल्यान्ड पनि केन्या गएन । त्यति बेला दक्षिण अफ्रिकासँग मिलेर जिम्बावे र केन्याले विश्वकपको आयोजना गरेको थियो ।
अफ्रिकी भूमिमा भएको यो नै पहिलो विश्वकप थियो । त्यही बेला बेलायतका प्रधानमन्त्री टोनी ब्लेयर थिए र उनको सरकार जिम्बावेमा सरकार चलाइरहेका रोबर्ट मुगाबेविरुद्ध थियो । केन्याको मोम्बासामा त्यसको केही महिना अगाडि बम विस्फोट भएको थियो । त्यसैलाई कारण देखाएर न्युजिल्यान्ड केन्या गएन । दुवै देशले आईसीसीसामु आफ्नो खेल अन्यत्र सार्न अनुरोध गरेको थियो तर त्यसलाई मानिएन । नतिजा दुवै टिमले वाकओभर दिएको मानियो ।
यसै कारणले इंग्यान्डले त्यस विश्वकपको समूह चरण पनि पार गर्न सकेन । न्युजिल्यान्ड भने सुपर सिक्ससम्म पुग्न सफल रह्यो । यी दुई खेलको नतिजाले केन्यालाई भने धेरै फाइदा गरेको थियो र अन्ततः यही टिमले सेमिफाइनलसम्म यात्रा पनि तय गरेको थियो । त्यसको पाँच वर्षपछि पनि जिम्बावे र बेलायती सरकारबीचको सम्बन्ध राम्रो हुन सकेको थिएन । यस्तोमा जिम्बावेले सन् २००९ को ट्वान्टी–२० विश्वकपका लागि इंग्ल्यान्ड गएन् र पूरा प्रतियोगिता नै बहिष्कार गरेको थियो ।
इंग्ल्यान्डले त्यस प्रतियोगिताको आयोजना गर्ने निश्चित भइसक्दा पनि उसले जिम्बावेली खेलाडीलाई भिसा दिने स्थिति थिएन । यस्तोमा पूरा प्रतियोगिताकै आयोजनामा अन्योल उत्पन्न गरेको थियो । तर जिम्बावेले क्रिकेटको भलाइकै लागि प्रतियोगिता नै नखेल्ने निर्णय गरेको थियो । त्यस स्थितिमा जिम्बावेको स्थानमा एसोसिएट देश स्कटल्यान्डले त्यस विश्वकपमा सहभागिता जनाएको थियो ।
सन् २०१६ को यू–१९ विश्वकप बंगलादेशमा भएको थियो र त्यति बेला पनि अस्ट्रेलियाले सुरक्षाकै कारण देखाएर ढाका जान मानेन । त्यस स्थितिमा अस्ट्रेलियाको स्थानमा आयरल्यान्डले त्यो प्रतियोगिता खेलेको थियो । यस्तै पछिल्लो घटना भने सन् २०१५ को च्याम्पियन्स ट्रफीमा भएको थियो, जति बेला भारतले पाकिस्तानमा गएर खेल्न मानेन । त्यति बेला पाकिस्तानले २९ वर्षयता पहिलो पटक कुनै ठूलो क्रिकेटको प्रतियोगिताको आयोजना गरिरहेको थियो ।
तर भारतले सन् २००८ यता पाकिस्तान गएर खेलेको थियो । जति बेला प्रतियोगिता सुरु हुने समय आयो, बीसीसीआईले आफ्नो टिम पाकिस्तान नजाने घोषणा नै गरेको थियो र त्यस पछाडि राजनीतिक कारण नै थियो । त्यति बेला आईसीसीले दुवैलाई खुसी पार्ने समाधान निकालेको र त्यसअनुसार आईसीसीका कुनै पनि प्रतियोगिता भारत अथवा पाकिस्तानले आयोजना गर्छ भने त्यसमध्ये कुनै एक टिमले अर्को देशमा खेल्नुपर्ने स्थितिमा त्यो प्रतिस्पर्धा नै तटस्थ भूमिमा हुनेछ । पाकिस्तानले अहिले भारत र श्रीलंकाले आयोजना गरिरहेको ट्वान्टी–२० विश्वकपको समूह चरणको खेल श्रीलंकामा गएर खेल्नेछ । समूह चरण पार गर्दै अगाडि बढेमा पाकिस्तानले सबै खेल श्रीलंकामा खेल्नेछ ।
