साम्बाको घुँडामा चोट, एक वर्ष मैदानबाहिरै रहने सम्भावना

चाँडै नै मैदानमा देख्न पाइयोस् भन्दै वेलिङ्गटन फिनिक्सकी प्रशिक्षक बेभ प्रिस्टम्यान भन्छिन् : ‘साम्बा सम्भवतः टोलीको सबैभन्दा लोकप्रिय खेलाडी हुन् । टोलीले उनलाई निकै माया गर्छ ।’

पुस २४, २०८२

आश गुरुङ

Samba suffers knee injury, likely to be out for a year

What you should know

लमजुङ — नेपाली राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ घाइते भएकी छन् । उनी अस्ट्रेलियाको महिला फुटबल लिग खेलिरहेकी थिइन् ।

ब्रिस्बेनमा शनिबार ब्रिस्बेन रोअरविरुद्धको राउन्ड ११ को खेलको दोस्रो हाफमा उनी घाइते भएकी हुन् । रोअर गोलकिपरसँगको ठोक्किँदा साम्बाको दाहिने खुट्टामा चोट लागेको छ । हावामा उडिरहेको बललाई हेड हान्ने क्रममा साम्बा र रोअरका किपर एक ठोक्किएका थिए । 

उनी आबद्ध क्लब वेलिङ्गटन फिनिक्सले बुधबार साम्बाको चोटबारे जानकारी दिएको हो ।  उनको चोट गम्भीर भएकाले सिजनभर उनी मैदानमा नरहने क्लबले जनाएको छ । 

वेलिङ्गटन फिनिक्सका अनुसार एमआरआई स्क्यानले साम्बाको दाहिने घुँडामा एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) ग्राफ्ट फुटेको देखाएको छ र उनी ९  देखि १२ महिनासम्म मैदान बाहिर रहनेछिन् ।

साम्बा सिजन २०२५–२६ का लागि गत साउनमा वेलिङ्टन फिनिक्ससँग आबद्ध भएकी थिइन् । उनले अब यो सिजनका सबै खेल गुमाउनेछिन् । वेलिङ्टन फिनिक्स न्युजिल्यान्डको क्लब हो । तर, उसले अस्ट्रेलियन क्लबहरूको बाहुल्यता भएको ए–लिग वुमन खेल्ने गर्छ ।

फिनिक्सका मुख्य प्रशिक्षक बेभ प्रिस्टम्यानले सम्बा घाइते भएकोमा टिम पूर्ण रूपमा निरास भएको बताउँछिन् । ‘मलाई थाहा छ, टोली उनको लागि पूर्ण रूपमा निराश छ’ प्रिस्टम्यानले भनेकी छन् । उनले साम्बाको प्रशंसा गर्दै भनेकी छिन्, ‘साम्बा सम्भवतः टोलीको सबैभन्दा लोकप्रिय खेलाडी हुन् । टोलीले उनलाई निकै माया गर्छ ।’ 

उनले साम्बा चाँडै निको भएर खेलमा फर्किने विश्वास व्यक्त गरेकी छन् । क्लबले आफ्नी स्ट्राइकरलाई चोट लागेकोमा गहिरो दुःख व्यक्त गरेको छ । उसले भनेको छ, ‘साम्बा, तिम्रो समस्यामुक्त र शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully