स्पोर्ट्स अवार्डलाई विश्वकप ट्रफीको साथ

पोखरामा भौतिक पूर्वाधार पर्याप्त रहेको तर त्यसलाई सुहाउँदो प्रतियोगिता नभएको गुनासो

पुस २३, २०८२

हिमेश

Sports Award with World Cup Trophy

What you should know

पोखरा — पोखरा– ‘द स्टेज इज रेडी’ । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड नेपाली खेलकुदकै सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको अवार्ड बुधबार नयाँ अध्यायमा प्रवेश गर्दै छ । अवार्डका अहिलेसम्म जति पनि संस्करण भए, ती काठमाडौंमै मात्र भए । यसपल्ट २२ औं संस्करण पोखरामा हुँदै छ, त्यहाँको सभागृहमा । 

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले पनि भनेको छ, तयारी जति सबै पूरा भइसकेका छन् । त्यसकै पूर्वसन्ध्या अवार्ड कार्यक्रममा मीठो साथ पनि पायो, ट्वान्टी–२० विश्वकपको ट्रफीको । यो धेरै हदसम्म अप्रत्याशित थियो, तर यसले कार्यक्रममा धेरै उत्साह भने थपेको छ ।

अवार्ड कार्यक्रमको अघिल्लो दिन मंगलबार आयोजित स्पोटर््स समिटमा ट्रफी प्रदर्शन गरिएको थियो । भारत र श्रीलंकामा फेब्रुअरीतिर अबको ट्वान्टी–२० विश्वकप आयोजना हुनेछ र त्यसैक्रममा ट्रफी नेपाल आइपुगेको हो । ट्रफी मंगलबार मात्रै पोखरा आइपुगेको हो र त्यसलाई स्पोटर््स समिटमा प्रदर्शन गर्ने शौभाग्य जुरेको हो ।

त्यसै क्रममा मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले कार्यक्रमलाई लिएर आफू धेरै उत्साहित रहेको बताएका छन् । उनले भनेका छन्, ‘कार्यक्रमलाई लिएर चाहिने सबै तयारी पूरा भएको छ । अब हामी अवार्ड कार्यक्रमकै व्यग्र प्रतीक्षामा छौं । हामीलाई सुरुमा मोफसलमा अवार्ड कार्यक्रमको आयोजना गर्दा धेरै 

चुनौती सामना गर्नुपर्ने लागेको थियो । तर पोखरामा आएपछि हामीले चुनौतीभन्दा पनि बढी अवसर देखेका छौं । मलाई लाग्छ, अब पोखरा राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रमको पनि गन्तव्य बन्नेछ ।’

त्यस्तै मञ्चको एनएसजेएफ गण्डकीका अध्यक्ष एमबी आस्था मगरले अवार्ड कार्यक्रमको आयोजनाले पोखरेली खेल इतिहासमा नयाँ अध्याय थपिएको बताए । उनले भने, ‘पोखरा सहर स्पोटर््स हबको रूपमा स्थापित हुँदै आएको छ । अब स्पोर्ट्स अवार्डको सफल आयोजनाले पोखराको खेल क्षेत्र अझ विस्तृत र फराकिलो भएको छ ।’ अवार्डमा पोखरा महानगरपालिका प्रवर्धक रहेको छ । अवार्डको मुख्य प्रायोजकमा गोल्छा ग्रुपको निरन्तरता कायमै छ, यस्तै पावर्ड बाईमा यती एयरलाइन्सको साथ थपिएको छ ।

स्पोर्ट्स अवार्डको भोटिङ पार्टनरमा खल्ती र पोसाक पार्टनरमा केल्मी नेपाल रहेका छन् । अवार्डमा यसपल्ट पनि १० विधामा अवार्ड प्रदान गरिनेछ । त्यसमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोटर््स जर्नालिस्ट अवार्ड रहेका छन् । पिपल्स च्वाइस अवार्डको मनोनयनमा रहेका खेलाडीमा उसुका विजय सिन्जाली, टेबल टेनिसकी इभाना थापा, भलिबलका हिमाल सुनारी, क्रिकेटकी पूजा महतो र फुटबलकी रेखा पौडेल रहेका छन् ।

पोखरा हो, नेपालको ‘स्पोर्ट्स हब’

पोखराको म्याजेस्टिक होटलमा आयोजना गरिएको समिटको अवसरमा प्यानल डिसकन गरिएको थियो र विषय रहेको थियो, पोखरामा खेल पयर्टन र अर्थतन्त्र । पोखरेली पत्रकार दीपेन्द्र श्रेष्ठले संचालन गरेको त्यस कार्यक्रमको निचोड थियो, पोखरा निर्विवाद रूपमा ‘स्पोर्ट्स हब’ हो ।

पोखरामा खेलकुदको विकास र विस्तारको सम्भावना उत्तिकै धेरै छ । तर चुनौती पनि उत्तिकै धेरै मात्र छैनन्, काम गर्न पनि त्यत्तिकै बाँकी छ ।

कार्यक्रममा विशेषज्ञका रूपमा सहभागी हुनेमा नेपाल पयर्टन बोर्डका अफिसेटिङ डाइरेक्टर सुनिल शर्मा, राष्ट्रिय खेलकुद परिषदका पूर्वसदस्य सचिव टंकलाल घिसिङ, पोखरा टुरिजम बोर्डका संस्थापक अध्यक्ष अशोक पालिखे र पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराई रहेका थिए ।

त्यस क्रममा शर्माले पोखरामा खेलकुदको सम्भावना धेरै रहेको बताए । उनले पयर्टन प्रवर्धनका लागि जहिले पनि नयाँ अयाम चाहिएकोमा खेलकुद त्यो विकल्प हुन सक्ने भने ।

परिषद्का पूर्वसदस्य घिसिङले पोखराका खेल पयर्टनको विकास र विस्तार गर्न निजी क्षेत्रको प्रत्यक्ष सहभागिता आवश्यक रहेकोमा जोड दिए । उनले यसका लागि नीति नै बनाउनुपर्ने बताए ।

यस्तै भट्टराईले पोखरामा भौतिक पूर्वाधार पर्याप्त रहेको तर त्यसलाई सुहाउँदो प्रतियोगिता नभएको गुनासो पोखे । उनले खेल प्रतियोगिता आयोजना गर्नका लागि आवश्यक समन्वय भइनरहेको दाबी गरे । पालिखेले पनि पोखरा भौतिक पूर्वाधारमा निकै धनी रहेको, तर त्यसको उपयोग भने कम भएको बताए । उनले पोखरामा जति प्रतियोगिता भएका छन्, त्यसलाई प्रोत्साहन आवश्यक रहेको सुनाए ।

‘पयर्टनको प्रमुख हिस्सा खेलकुद’

Sports Award with World Cup Trophy

पोखराका मेयर धनराज आचार्य पोखरा पयर्टनको राजधानी सहर रहेकामा खेलकुद त्यसको मुख्य हिस्सा रहेको बताए । अवार्ड कार्यक्रमको पूर्वसन्ध्यामा मेयर आचार्यले भने, ‘पोखरामा १२ महिना खेलकुद आयोजनाका लागि उपयुक्त छ । नवौं राष्ट्रिय खेलकुदको आयोजनाले पनि यो प्रमाणित भएको छ । पोखरा खेलकुदका लागि भौतिक पूर्वाधारमा पनि धनी छ । हामी चाहन्छौं पोखरामा धेरैभन्दा धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता होस् ।’

त्यसकै एउटा कडीका रूपमा स्पोर्ट्स अवार्ड रहेको उनको विचार थियो । उनले थपे, ‘आहा रारा गोल्डकप, पोखरा म्याराथन, ड्रायगन बोर्ड रेस र ट्रायथलन जस्तो प्रतियोगिता पोखरा नियमित भइरहेको छ । त्यसैले पोखरा खेलकुद विकासका लागि सधैं तत्पर छ । यही क्रममा पोखरामा यो स्पोर्ट अवार्ड कार्यक्रम आयोजना गर्न पाउँदा धेरै खुसी छौं । खासमा यो अवार्ड भनेको खेलाडीलाई अझ राम्रो खेल्न प्रेरित गर्ने अवसर नै हो ।’

‘पोखराले धेरै अगाडिदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन गर्दै आएको छ । यो अवार्ड कार्यक्रम यस्ता खेलाडीप्रति एकप्रकारको सम्मान पनि हो । पोखरामा अनेक प्रकारका इभेन्ट्स भइरहेका छन् । अब त्यसमा स्पोटर््स अवार्ड पनि थपिएको छ,’ उनले भने, ‘खासमा हामी पोखरामा समग्रमा खेलकुदको विकासमा भएको हेर्न चाहन्छौं र यो क्रम जारी रहनेछ ।’

हिमेश

Link copied successfully