अक्टोबरमा ओमानमा भएको ट्वान्टी–२० विश्वकप एसिया–प्यासिफिक छनोट खेलेको टोलीबाट दुई खेलाडी परिवर्तन गरिएको छ ।
What you should know
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल)का उदयमान खेलाडी घोषित बलर शेर मल्ल पहिलोपटक राष्ट्रिय टोलीमा समावेश भएका छन् ।
मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले ट्वान्टी–२० विश्वकप क्रिकेटका लागि घोषणा गरेको १५ सदस्यीय टोलीमा पहिलोपटक मल्ल समावेश भएका हुन् ।
भारत र श्रीलंकामा फेब्रुअरी ७ देखि मार्च ८ सम्म आयोजना हुन लागेको ट्वान्टी–२० विश्वकपका लागि नेपालले रोहित कुमार पौडेलको कप्तानीमा अन्तिम टोली चयन गरेको हो ।
एनपीएलको दुवै सिजनमा उपाधि विजेता टोलीका सदस्य रहेका छन् मल्ल । पहिलो सिजनमा जनकपुर बोल्ट्समा आवद्ध रहेका मल्ल दोस्रो सिजनमा लुम्बिनी लायन्समा थिए । दोस्रो सिजनमा सर्वाधिक विकेटकर्तासमेत बनेका मल्लले एनपीएलमा उदयीमान खेलाडीको उपाधिसमेत पाएका थिए । उनले १७ विकेट लिएका थिए ।
घोषित नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुलशन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम छन् ।
अक्टोबरमा ओमानमा भएको ट्वान्टी–२० विश्वकप एसिया–प्यासिफिक छनोट खेलेको टोलीबाट दुई खेलाडी परिवर्तन गरिएको छ । कुशल मल्ल र आदिल अलाम अन्सारीको स्थानमा बसिर र शेरलाई ल्याइएको छ । अघिल्लो महिना सम्पन्न नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सलाई विजेता बनाउनेक्रममा शेर संयुक्त रूपमा सर्वाधिक १७ विकेट लिएका थिए । सोक्रममा उनी इमर्जिङ खेलाडीमा चुनिएका थिए ।
ओमानमा ‘ट्राभलिङ सदस्य’ का रूपमा रहेका शाहव आलमले पनि नेपालको १५ सदस्यीय टोलीमा स्थान बनाउन सकेनन् । २४ सदस्यीय प्रारम्भिक टोलीबाट भीम सार्की, इसान पाण्डे, विनोद भण्डारी, अविनाश बोहरा, प्रतिश जीसी र रूपेश सिंह अन्तिम टोलीमा अटाएनन् ।
नेपालले तेस्रो पटक ट्वान्टी–२० विश्वकप खेल्न लागेको हो । नेपालले समूह चरणमा इंग्ल्यान्डसँग फेब्रुअरी ८, इटालीसँग १२, वेस्ट इन्डिजसँग १५ र बंगलादेशसँग फेब्रुअरी १७ मा खेल्नेछ । नेपालले समूह चरणका सबै खेल मुम्बईको वाङ्खडे रंगशालामा खेल्नेछ । नेपालले यसअघि २०१४ र २०२४ मा ट्वान्टी–२० विश्वकप खेलेको थियो ।
