पल्सर स्पोर्ट्स अवार्ड : दीपेन्द्र र एरिका वर्ष खेलाडी [तस्बिरहरुसहित]

२२ औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा पारा खेलको वर्चस्व, पलेशा गोवर्धनलाई ‘ट्रेल ब्लेजर अफ दी इयर’ अवार्ड

पुस २३, २०८२

हेमन्त श्रेष्ठ, दीपक परियार

Pulsar Sports Awards: Dipendra and Erica named Players of the Year [With Photos]

What you should know

पोखरा — लगातार दोस्रोपल्ट महिलातर्फ उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेपछि कराते खेलाडी एरिका गुरुङ बुधबार उस्तै आत्मविश्वासका साथ पोखरा सभागृहको मञ्चमा उभिइन् । दोस्रोपल्ट एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पाएपछि आफ्नो मिहिनेत थप प्रमाणित भएको उनले बताइन् ।

‘मैले लगातार उस्तै सपनाहरू देखिरहेकी थिएँ,’ उनले भनिन्, ‘पुनः यो अवार्ड जित्न पाउँदा आफूले गरिरहेको मिहिनेत थप पुष्टि भएको महसुस गरेकी छु ।’ उनले जेन–जी आन्दोलनकारीका नाममा अवार्ड समर्पण गरिन् ।

काठमाडौंबाहिर पहिलोपल्ट नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा पोखरामा भएको २२ औं स्पोर्ट्स अवार्ड २०८१ मा महिलातर्फ एरिका र पुरुषतर्फ क्रिकेटर दीपेन्द्रसिंह ऐरी उत्कृष्ट वर्ष खेलाडी घोषित भएका हुन् । एरिका लगातार दुई वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनिन् । उनले भुटानमा भएको आठौं दक्षिण एसियाली खेलकुदमा दुई स्वर्ण, अस्ट्रेलियन ओपन २०२४ मा स्वर्ण, चीनमा भएको सिनियर कराते च्याम्पियनसिपमा रजत, सिंगापुरमा भएको एसिया प्यासिफिक कराते च्याम्पियनसिपमा स्वर्ण तथा दुबईमा भएको विश्व वान लिगमा रजत पदक जितेकी थिइन् । उत्कृष्ट वर्ष खेलाडी महिलातर्फको विधामा करातेकै एलिसा मगर, खोखोकी मानमती धामी, फुटबलकी रेखा पौडेल र भलिबलकी सलिना श्रेष्ठ मनोनयनमा परेका थिए । 

Pulsar Sports Awards: Dipendra and Erica named Players of the Year [With Photos]

नेपाली क्रिकेटले पछिल्लो समय प्राप्त गरेको सफलतामा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका दीपेन्द्रसिंह ऐरीको ठूलो योगदान रहेको छ । उनले एसीसी प्रिमियर लिग कप २०२४ मा कतारविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । उनले वर्ष २०८१ मा ३ सय ७० रन बनाउनुका साथै २० विकेट लिएका थिए ।

Pulsar Sports Awards: Dipendra and Erica named Players of the Year [With Photos]

उनले अमेरिकामा भएको विश्वकपमा ६ विकेट लिएका थिए । उनी नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो वर्षका उत्कृष्ट खेलाडी पनि घोषित भएका थिए । अवार्ड पाएपछि उनले क्रिकेट विकासमा क्यान र दर्शकको भूमिकालाई धन्यवाद व्यक्त गरे । भने, ‘यस्तो अवार्डले खेलाडीलाई मोटिभेट गर्छ ।’ त्यस विधामा मनोनयनमा पर्ने खेलाडीमा उसुका विजय सिञ्जाली, खोखोका जनक चन्द, टेबल टेनिसका स्यान्टु श्रेष्ठ र क्रिकेटका कुशल भुर्तेल रहेका थिए ।

हिमालले जिते ‘पिपुल्स च्वाइस अवार्ड’

Pulsar Sports Awards: Dipendra and Erica named Players of the Year [With Photos]गण्डकी प्रदेशका प्रभावशाली भलिबल खेलाडी हिमाल सुनारीले ‘पिपुल्स च्वाइस अवार्ड’ जितेका छन् । उनले कुल मतको ४०.१ प्रतिशत मत पाएका थिए । त्यस अवार्डको मनोनयनमा पर्ने खेलाडीमा उसुका विजय सिञ्जाली, टेबल टेनिसकी इभाना थापामगर, क्रिकेटकी पूजा महतो र फुटबलकी रेखा पौडेल थिए ।

गण्डकीले मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबलको उपाधि जित्दा हिमाल टिमका मुख्य खेलाडी थिए । उनी तेस्रो संस्करणको टाइगर कपमा बेस्ट सर्भर घोषित भएका थिए । ई–सेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा उनले अवार्ड प्राप्त गरेका हुन् । 

रानाभाटलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’

पोखराका पहिलो पुस्ताका एथलेटिक्स खेलाडी तथा प्रशिक्षक खड्गबहादुर रानाभाटलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । पोखरालाई आफ्नो कर्मथलो बनाउँदै आएका उनले नेपाली खेलकुदमा आफ्नो पूरा जीवन समर्पित गरेका छन् । 

आफ्नो जीवनको आठौं दशकतर्फ अग्रसर उनले आफ्नै आँखाले नेपाल खेलकुदको लगभग आधाभन्दा बढी इतिहास देखे । सन् १९७० मा एसियन गेम्समा सहभागी उनको खेल जीवन आफैंमा लामो रहेन । चोटकै कारण उनले १९७२ को म्युनिक ओलम्पिक खेल्न पाएनन् । उनी गंगाबहादुर, भक्तबहादुरदेखि जितबहादुर केसीका समकालीन हुन् । यो त्यही पुस्ता हो, जसले नेपालमा एथलेटिक्सको जग बसाए । उनी सन् ६० र ७० को दशकमा राष्ट्रिय खेलकुद परिषद्को प्रमुख प्रशिक्षकका रूपमा सक्रिय रहे । राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीको संगठन बनाउनसमेत महत्त्वपूर्ण भूमिका खेलेका उनले पोखरा म्याराथनलाई स्थापित गर्न मद्दत गरे ।

Pulsar Sports Awards: Dipendra and Erica named Players of the Year [With Photos]

नेपाली खेलकुदको सबैभन्दा ठूलो उपलब्धि भनेको १९८७ मा भारतको कोलकातामा भएको तेस्रो दक्षिण एसियाली खेलकुदमा बैकुण्ठ मानन्धरको ऐतिहासिक प्रदर्शन हो । म्याराथनमा मानन्धरले २ घण्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान बनाएका थिए, जुन अहिलेसम्म तोडिएको छैन । त्यस प्रतियोगितामा सहभागी नेपाली टिमका प्रशिक्षक थिए, रानाभाट । सन् १९८४ मा अमेरिकाको लस एन्जलसमा आयोजित ओलम्पिक्समा सहभागी नेपाली टिमले उद्घाटन समारोहमा मार्चपास गर्दा झन्डा बोक्ने पनि उनी नै थिए ।

अवार्ड प्राप्त गरेपछि उनले आफ्नो समयको खेल जीवन सम्झिए । ‘हाम्रो समयमा एसियन गेम्स खेल्दा गतिलो जर्सी र जुत्ता थिएन,’ उनले भने, ‘अहिले सुविधा छ तर खेलाडीमा अनुशासन, लगनशीलता र इमानदारिताको पनि उत्तिकै खाँचो छ ।’ 

पारा खेलका प्रशिक्षक र खेलाडीलाई अवार्ड 

यस वर्ष स्पोर्ट्स अवार्डमा पारा खेलतर्फ तीन जनाले अवार्ड पाएका छन् । पारा तेक्वान्दोका प्रशिक्षक कविराज नेगी लामा वर्ष उत्कृष्ट प्रशिक्षक बने । पारा एथलेट सम्मानबाट प्रभा आङ्देम्बे सम्मानित भइन् । यसै वर्षदेखि सुरुआत भएको ट्रेल ब्लेजर अफ द इयरको अवार्ड पारा ओलम्पियन पलेशा गोवर्धनले प्राप्त गरिन् । 

Pulsar Sports Awards: Dipendra and Erica named Players of the Year [With Photos]

नेगीको प्रशिक्षणमा पलेशाले २०२४ को पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी थिइन् । उत्कृष्ट वर्ष प्रशिक्षक विधामा बक्सिङका दीपक महर्जन, कराँतेका कुशल श्रेष्ठ, खोखोका लक्ष्मीनारायाण श्रेष्ठ र क्रिकेटका महेश रिजाल थिए । अवार्ड पाएपछि नेगीले भने, ‘म भोलिन्टियर प्रशिक्षक मात्र हुँ तर पनि मैले यो अवार्ड जितें, त्यसैले धेरै खुसी छु । यसले मलाई अबको दिनमा अझ मिहिनेत गर्न प्रेरित गर्नेछ ।’

Pulsar Sports Awards: Dipendra and Erica named Players of the Year [With Photos]

यसअघि १० विधामा अवार्ड प्रदान गरिँदै आएकामा यस वर्ष ट्रेल ब्लेजर अफ दी इयर विधा पनि थप भएको छ । उक्त अवार्ड पहिलोपल्ट पलेशाले प्राप्त गरिन् । उनी एक मात्र ओलम्पिक पदक विजेता नेपाली खेलाडी हुन् । उक्त अवार्ड आफ्ना लागि अनपेक्षित भएको उनले बताइन् । 

गुरुङलाई ‘स्पेसल अवार्ड’

यस वर्षको ‘स्पेसल अवार्ड’ पोखराका तुलसीकुमार गुरुङले प्राप्त गरे । हङकङलाई कर्मभूमि बनाइरहेका भूतपूर्व सैनिक गुरुङले गत वर्ष नवौं डान प्राप्त गरेका थिए । २००२ मा उनले हङकङ नेपाली तेक्वान्दो संघ स्थापना गरेका थिए । त्यसयता उनी तीन दशक नेपाली खेलकुदको विकासमा जोडिरहेका छन् । २०१३ मा उनी हङकङको राष्ट्रिय टिमका प्रशिक्षक पनि भएका थिए ।

Pulsar Sports Awards: Dipendra and Erica named Players of the Year [With Photos]

पछिल्लो समय उनले पोखरामा फिट नेपाल स्पोर्ट्स कम्प्लेक्स पनि स्थापना गरेका थिए । त्यहाँ विभिन्न खेलकुदका युवा खेलाडीलाई प्रशिक्षण दिने काम गरिरहेको छ । अवार्ड पाएपछि उनले भने, ‘यो अवार्ड पाएर म निकै खुसी छु र यस उपलब्धिमा मलाई जहिले पनि गर्व रहनेछ ।’

पूजा बनिन् युवा वर्ष खेलाडी

क्रिकेटकी पूजा महतो युवा वर्ष खेलाडी घोषित भएकी छन् । उनी नेपाली यू–१९ टिमलाई इतिहासमै पहिलोपल्ट महिला विश्वकपमा छनोट गराउने टिमकी कप्तान थिइन् ।

Pulsar Sports Awards: Dipendra and Erica named Players of the Year [With Photos]

उनले त्यस छनोट खेलमा सर्वाधिक २ सय ७२ रन बनाएकी थिइन् भने १० विकेट पनि हात पारेकी थिइन् । कुवेतविरुद्ध उनले अविजित रहेर १ सय ३० रन बनाएकी थिइन् । उनले एसीसी महिला यू–१९ एसिया कप छनोटमा पाकिस्तानलाई पराजित गर्दा पनि उत्कृष्ट कप्तानी गरेकी थिइन् । यस विधामा मनोनयनमा एथलेटिक्सका अजय विक, करातेकी अञ्जली महर्जन, बक्सिङकी स्वस्तिका तिरुवा र फुटबलका समीर तामाङ रहेका थिए ।

Pulsar Sports Awards: Dipendra and Erica named Players of the Year [With Photos]

खोखो पुरुष र महिला टिम ‘टिम अफ द इयर’

खोखो पुरुष र महिला टिम ‘टिम अफ द इयर’ घोषित भएको छ । भारतको नयाँदिल्लीमा भएको पहिलो खोखो विश्वकपमा पुरुष र महिला दुवै टिम रजत पदक जित्दै उपविजेता बनेको थियो । महिला टिमले त्यस विश्वकपमा समूह चरणमा श्रीलंका, बंगलादेश, भुटान र जर्मनीलाई हराएको थियो । त्यसपछि क्वार्टरफाइनलमा इरान र सेमिफाइनलमा युगान्डालाई हराएको थियो । पुरुष टिमले समूह चरणमा पेरु, ब्राजिल र भुटानलाई हराएको थियो । यस्तै क्वार्टरफाइनलमा बंगलादेश र सेमिफाइनलमा इरानलाई पराजित गरेको थियो । दुवै टिम फाइनलमा भारतविरुद्ध पराजित भएको थियो ।

Pulsar Sports Awards: Dipendra and Erica named Players of the Year [With Photos]

उक्त अवसरमा बंगलादेशका खेल पत्रकार राना हुसैनलाई एसियाली खेल पत्रकार अवार्ड प्रदान गरिएको थियो । हुसैनले आफ्नो खेल पत्रकारिता जीवनकै उत्कृष्ट अवार्ड प्राप्त गरेको बताउँदै दुई देशको खेल पत्रकारितामा सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए । 

Pulsar Sports Awards: Dipendra and Erica named Players of the Year [With Photos]

अवार्ड समारोहमा वर्ष उत्कृष्ट पुरुष, महिला, प्रशिक्षक, पिपुल्स च्वाइस र युवा खेलाडीले पल्सर एनएस मोटरसाइकल प्राप्त गरेका छन् । अन्य विधामा अवार्ड प्राप्त गर्नेले जनही एक लाख रुपैयाँ पाएका छन् । विजेतालाई खेलकुदमन्त्री बब्लु गुप्ता, पोखरा महानगर प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, स्पोर्ट्स अवार्ड प्रायोजक गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा, यती एयरलाइन्सका बिजनेस डाइरेक्टर युवराज विष्टलगायतले अवार्ड प्रदान गरे ।

खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले काठमाडौंबाहिर पनि अवार्ड समारोह भव्यतापूर्वक सम्पन्न गर्न सकिन्छ भन्ने पोखरामा प्रमाणित भएको बताए । पोखरा महानगरले स्पोर्ट्स अवार्डको प्रवर्द्धन गरेको थियो । 

Pulsar Sports Awards: Dipendra and Erica named Players of the Year [With Photos]

Pulsar Sports Awards: Dipendra and Erica named Players of the Year [With Photos]

Pulsar Sports Awards: Dipendra and Erica named Players of the Year [With Photos]

Pulsar Sports Awards: Dipendra and Erica named Players of the Year [With Photos]

हेमन्त श्रेष्ठ कान्तिपुरका फोटोपत्रकार हुन् ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully