पोखरालाई आफ्नो कर्मथलो बनाउँदै आएका उनी नेपाली खेलकुदको पहिलो पुस्ताका खेलाडी हुन् । अनि पहिलो पुस्ताका प्रशिक्षक पनि हुन् ।
पोखरा — नेपाली खेलकुदमा आफ्नो पूरा जीवन समर्पित गरेका खड्ग रानाभाटलाई बुधबार एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८१ मा ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ ।
पोखरालाई आफ्नो कर्मथलो बनाउँदै आएका उनी नेपाली खेलकुदको पहिलो पुस्ताका खेलाडी हुन् । अनि पहिलो पुस्ताका प्रशिक्षक पनि हुन् । आफ्नो जीवनको आठौं दशकतर्फ अग्रसर उनले आफ्नै आँखाले नेपाल खेलकुदको लगभग आधाभन्दा बढी इतिहास देखे ।
उनको खेल जीवन आफैंमा लामो रहेन । चोटकै कारण उनले सन् १९७२ को म्युनिक ओलम्पिक खेल्न पाएनन् । उनी गंगाबहादुर, भक्तबहादुरदेखि जितबहादुर केसीका समकालीन हुन् । यो त्यही पुस्ता हो, जसले नेपालमा एथेलेटिक्सको जग बसाए ।
उनले सन् ६० र ७० को दशकमा राष्ट्रिय खेलकुद परिषद्को प्रमुख प्रशिक्षकका रूपमा सक्रिय रहे । राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीको संगठन बनाउनसमेत महत्त्वपूर्ण भूमिका खेलेका उनले पोखरा म्याराथनलाई स्थापित गर्न मद्दत गरे ।
नेपाली खेलकुदको सबैभन्दा ठूलो उपलब्धि भनेको सन् १९८७ मा भारतको कोलकातामा भएको तेस्रो दक्षिण एसियाली खेलकुदमा बैकुण्ठ मानन्धरको ऐतिहासिक प्रदर्शन हो । म्याराथनमा मानन्धरले दुई घण्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान बनाएका थिए, जुन अहिलेसम्म तोडिएको छैन ।
त्यस प्रतियोगितामा सहभागी नेपाली टिमका प्रशिक्षक थिए, रानाभाट । सन् १९८४ मा अमेरिकामा लस एन्जलसमा आयोजित ओलम्पिक्समा सहभागी नेपाली टिमले उद्घाटन समारोहमा मार्चपास गर्दा झण्डा बोक्ने पनि उनी नै थिए ।
