यस पटकको म्याराथनमा अमेरिका, चीन, भारत, अष्ट्रेलिया, बेलायत, बेल्जियम, स्पेन, पोर्चुगल, क्यानडा, युक्रेन, नर्वे, अष्ट्रिया, डेनमार्क, हङकङ, न्यूजील्याण्ड, रोमानियासहित ३० भन्दा बढी देशका ५४ जना धावक सहभागी हुँदैछन् ।
What you should know
कैलाली — सात महादेशमा सात दिन लगातार सञ्चालन हुने ‘वर्ल्ड म्याराथन च्यालेञ्ज’मा नेपाली मूलका अमेरिकी धावक बाल जोशी सहभागी हुने भएका छन् ।
३१ जनवरी २०२६ मा अन्टार्टिकाबाट सुरु भएर ६ फेब्रुअरीमा अमेरिकाको मायामीमा सम्पन्न हुने सातदिने ‘वर्ल्ड म्याराथन च्यालेञ्ज’मा सहभागी हुने जोशी एक्लो नेपाली हुन् ।
जोशी २६ दशमलव २ माइल (४२ दशमलव १९ किलोमिटर) दूरी रहने फूल म्याराथनका सातवटा सिरिजमा २ सय ९४ किमि दूरी सात दिनमा दौडिने छन् । उनी नेपाली पोसाक दौरा-सुरुवालमा दौडिने छन् । २०१५ बाट सुरु भएको यो म्याराथनमा नेपाली पोसाकमा दौडिने जोशी पहिलो हुन् ।
यस पटकको म्याराथनमा अमेरिका, चीन, भारत, अष्ट्रेलिया, बेलायत, बेल्जियम, स्पेन, पोर्चुगल, क्यानडा, युक्रेन, नर्वे, अष्ट्रिया, डेनमार्क, हङकङ, न्यूजील्याण्ड, रोमानियासहित ३० भन्दा बढी देशका ५४ जना धावक सहभागी हुनेछन् ।
वर्ल्ड म्याराथन च्यालेञ्जमा सहभागी हुन सम्पूर्ण धावक २८ जनवरीमा अफ्रिकाको केपटाउन पुग्नेछन् । आयोजकले उनीहरुलाई त्यहाँबाट ३० जनवरीमा चार्टर गरिएको विमानमा अन्टार्टिका पु¥याउनेछ ।
३१ जनवरीमा अन्टार्टिकाबाट सुरु हुने म्याराथन दोस्रो दिन १ फेब्रुअरीमा अफ्रिकाको केपटाउनमा सञ्चालन हुनेछ । त्यस्तै तेस्रो म्याराथन २ फेब्रुअरीमा अष्ट्रेलियाको पर्थमा, चौथो म्याराथन ३ फेब्रुअरीमा एसियाको दुबईमा, पाँचौं म्याराथन ४ फेब्रुअरीमा स्पेनको म्याड्रिडमा, छैटौं म्याराथन ५ फेब्रुअरीमा ब्राजिलमा र सातौं तथा अन्तिम म्याराथन ६ फेब्रुअरीमा अमेरिकाको मायामीमा सञ्चालन हुनेछ ।
धावकहरु अन्टार्टिकाको माइनस २० डिग्री सेल्सियस तापक्रमदेखि दुबईको २५ डिग्री सेल्सियसमा दौडिनेछन् । म्याड्रिडको तापक्रम भने ५ डिग्री सेल्सियस रहनेछ ।
म्याराथनका सहभागीहरुको आराम तथा बासका लागि होटलको व्यवस्था गरिएको छैन । एक महादेशमा म्याराथनमा दौडिएपछि धावकले अर्को म्याराथनका लागि तयार हुनुपर्नेछ । आयोजकले चार्टर गरेको विशेष जहाजमार्फत धावकहरुलाई त्यहाँबाट अर्को महादेशमा लैजानेछ ।
स्वस्थ रहन दौडिन थालेका जोशी २०२१ देखि सामाजिक कार्य र मानव कल्याणका निम्ति दौडिदै आएका छन् । संसारका विभिन्न देशमा झण्डै दुई दर्जनभन्दा बढी म्याराथनमा सहभागी भएका जोशीले चार वर्षयता स्पोन्सरहरुबाट प्राप्त गरेको दुई लाख डलरभन्दा बढी रकम वान स्टेप फाउण्डेसनमार्फत नेपाल, अमेरिका र अफ्रिकामा बालबालिकाको शिक्षा,स्वास्थ्य, खेलकुद र जेष्ठ नागरिकको भोजनका लागि सहयोग गरेका छन् ।
सुर्खेतमा जन्मिएका ४१ वर्षीय जोशी दुई दशकदेखि अमेरिकामा छन् । टेक्सासको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको ग्रेपभाइन सिटीमा बस्ने जोशी पेसाले बैंकर्स हुन् ।
नेपाल र अमेरिकाको झण्डा बोकेर नेपाली पोसाकमा दौडिने जोशीले यो म्याराथनलाई नेपाली सम्पदा र नेपालको प्रचारप्रसार गर्ने अवसरका रुपमा लिएका छन् ।
संसारका दुई दर्जनभन्दा बढी म्याराथनमा सहभागी भएपछि उनले अत्यन्त चुनौतीपूर्ण मानिने यो म्याराथनमा सहभागी हुने निर्णय लिएको बताए । ‘त्यसमाथि थोरै दिनमा नेपाली भेषभूषा र सम्पदाको प्रचार प्रसार गर्ने यो उपयुक्त अवसर लाग्यो,’ उनले भने, ‘त्यही कारण यो म्याराथनमा सहभागी हुँदैछु ।’
