आस्था कलेजको जित, महेन्द्र मोरङ पराजित 

इटहरीमा जारी तेस्रो अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगितामा बुधबार भएको पहिलो खेलमा आस्था कलेजले विराटनगरको महेन्द्र मोरङ क्याम्पसलाई ११ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

पुस २३, २०८२

अर्जुन सुवेदी

Astha College wins, Mahendra Morang loses

What you should know

सुनसरी — झापा दमकको आस्था कलेजले इटहरीमा जारी तेस्रो अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

बुधबार भएको पहिलो खेलमा आस्था कलेजले विराटनगरको महेन्द्र मोरङ क्याम्पसलाई ११ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । समूह 'डी'मा रहेको महेन्द्र मोरङको यो हारसँगै सेमिफाइनल यात्रा कठिन बनेको छ ।

इटहरीस्थित जनता क्रिकेट पार्कमा आस्था कलेजले प्रस्तुत गरेको ८५ रनको विजयी लक्ष्य पछ्याएको महेन्द्र मोरङले १३ ओभरमा छोट्याइएको खेलमा ९ विकेट गुमाउँदै ७३ रन मात्र बनाउन सक्यो । महेन्द्र मोरङका आइन्सटाइन्स रिजालले २१ र बियुस बस्नेतले १४ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आस्थाले निर्धारित १३ ओभरमा ७ विकेटको क्षतिमा ८४ रन बनाएको थियो । आस्थाका आर्यन स्वर्णले २७ र रुजल सुन्दासले नटआउट १४ रनको योगदान दिए । 

बुधबार नै भएको दोस्रो खेलमा नमुना कलेजले जनता बहुमुखी क्याम्पस इटहरीलाई ५९ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । समूह 'ए'मा रहेको नमुनाको यो लगातार दोस्रो जीत हो । टस जितेर पहिले ब्याटिङ गरेको नमुनाले १५ ओभरमा छोट्याइएको खेलमा ८ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो । नमुनाको लागि राजु विकले सर्वाधिक ६५ रनको योगदान दिए । सक्षम दाहालले २१ रन जोडे । 

जवाफमा १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको जनता बहुमुखी १२ ओभर खेल्दै ६८ रनमा समेटियो । जनता बहुमुखीका सुमन पौडेलले २२ रन बनाउँदा आभाष गेलालले १३ रन बनाए । ६ जना ब्याटरले खाता नै खोल्न सकेनन् । नमुनाका सुबित मेहताले ६ विकेट लिँदा प्रकाश कार्कीले २ विकेट हात पारे । 

अर्जुन सुवेदी

Link copied successfully