पुरुषजस्तै महिलाको यो विधामा पनि प्रत्येक संस्करणमा अवार्ड दिइँदै आएको छ, वर्ष २०७८ को एउटा अपवाद छाडेर ।
What you should know
काठमाडौँ — पुरुषको तुलनामा एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको महिला उत्कृष्ट खेलाडीको विधामा खुला होड पाइन्छ । यसका विजेतामा पर्याप्त विविधता पनि रहेको छ । खेल र खेलाडी दुवै अर्थमा ।
पुरुषजस्तै महिलाको यो विधामा पनि प्रत्येक संस्करणमा अवार्ड दिइँदै आएको छ, वर्ष २०७८ को एउटा अपवाद छाडेर । सबैलाई थाहा छ, त्यो वर्ष दशकको उत्कृष्टलाई अवार्ड दिइएको थियो । र, त्यति बेलाका विजेता थिइन्, सावित्रा भण्डारी ।
यिनै सावित्राले वर्ष २०७५ मा यो अवार्ड जितेकी थिइन् । उत्कृष्ट महिला खेलाडीको अवार्डको शृंखला सुरु हुन्छ, संगीना वैद्यबाट । उनले नै २०५३ को पहिलो पुरस्कार जितेकी थिइन् । संगीनाले नै २०६० मा यो अवार्ड ब्युँझिँदा फेरि जितिन् ।
संगीना र सावित्रापछि यो विधामा त्यस्ती एक्ली खेलाडी मात्र छिन्, जसले यो अवार्ड दुईपल्ट जितिन् । उनी हुन्, करातेकी गंगा अधिकारी । उनले वर्ष २०६६ मा पहिलो पटक जितिन् । त्यसपछि २०६९ मा फेरि त्यस्तै सफलता दोहोर्याइन् ।
गंगाका नाममा जोडिएको यो अतुलनीय तथ्य भयो । संगीना, सावित्रा र गंगासँगै यो अवार्ड अहिलेसम्म २० खेलाडीले जितेका छन् । वर्ष २०६१ मा यो अवार्ड दुई जनाले सँगै पाए । पुरुष र महिलाको व्यक्तिगत विधामा जोडी खेलाडीले अवार्ड पाएको यो नै पहिलो र एक्लो उदाहरण हो । र, उनीहरू हुन्, ब्याडमिन्टनकी पूजा श्रेष्ठ र सुमिना श्रेष्ठ ।
खेलका आधारमा १० खेलका खेलाडीले यो अवार्ड जितेका छन् । त्यसमा सबैभन्दा बढी तेक्वान्दो र ब्याडमिन्टन रहेको छ । ब्याडमिन्टनका लागि यो प्रेरित रहने तथ्य भयो । तेक्वान्दोबाट यो अवार्ड जित्ने अर्की खेलाडी हुन्, मनिता शाही । अनि ब्याडमिन्टनबाट भने नङ्सलदेवी तामाङ र शोभा गौचनले यो अवार्ड हात पारे । यस्तोमा ब्याडमिन्टनले तीन अवसरमा अवार्ड जिते पनि व्यक्तिगत रूपमा यो सफलता चुम्ने चार खेलाडी भए ।
करातेले तीन अवसरमा यो अवार्ड जितेको छ । त्यसमध्ये दुई अवसरमा गंगाले जितिन् । पछिल्लो पटक वर्ष २०८० मा यस्तै उपलब्धि एरिका गुरुङले हात पारिन् । त्यसपछि एथलेटिक्स, पौडी, फुटबल र जुडोले दुई–दुई अवसरमा यो अवार्ड आफ्नो नाममा लेखाए । एथलेटिक्सबाट निर्मला भारती र राजपुरा प्रसाईं तथा पौडीबाट करिश्मा कार्की र गौरिका सिंहले यो अवार्ड जिते । गौरिका त अन्तर्राष्ट्रिय खेलकुदमा नेपालका लागि सर्वाधिक स्वर्ण पदक जित्ने खेलाडी नै भइन् ।
फुटबलबाट सबैभन्दा पहिलो यो अवार्ड चुम्ने खेलाडी हुन्, जमुना गुरुङ । सावित्राजस्तै जमुना पनि नेपाली महिला फुटबलले पाएको अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट खेलाडी हुन् । त्यसपछि सावित्रा नै भइन् । जुडोबाट अवार्ड जित्ने खेलाडी सूचीमा पर्छन् सुनिता बोहरा र फुपुल्हामु खत्री । संयोगले उनीहरू लगातार वर्ष विजेता घोषित भए ।
१–१ अवसरमा यो अवार्ड जित्ने खेल र खेलाडीमा पर्छन् क्रिकेटकी नेरी थापा, भारोत्तोलनकी तारा पुन र भलिबलकी अरुणा शाही । यो सूचीलाई आधार मान्दा एउटा अर्को तथ्य पनि स्थापित हुन्छ र त्यो हो, नेपाली महिला खेलकुदमा एकै खेलाडीले लामो समय वर्चस्व कायम गरेको इतिहास भने रहने छैन । संगीता नै एक्ली यस्ती खेलाडी हुन्, जसले लामो समय माथिल्लोस्तरमा राम्रो खेलिन् ।
यसपल्ट पोखरामा हुने अवार्डको २२ औं संस्करणमा महिलातर्फ विजेता हुने खेलाडी को हुनेछिन् त ? यसपल्ट मनोनयनमा करातेकी एरिका र एलिसा मगर, खोखोकी मानमती धामी, फुटबलकी रेखा पौडेल र भलिबलकी सलिना श्रेष्ठ रहेका छन् । यी नाममध्ये एरिका पछिल्लो संस्करणकी पनि विजेता हुन् । यस्तोमा उनीसामु नयाँ इतिहास रच्ने अवसर हुनेछ । खोखो भने अवार्डको इतिहासमै पहिलो पटक मनोनयनमा परेको हो ।
