रोहितको कप्तानीमा ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा

तेस्रो पटक ट्वान्टी–२० विश्वकप खेल्न लागेको नेपालले समूहचरणमा इंग्ल्यान्ड, इटाली, वेस्ट इन्डिज र बंगलादेशसँग खेल्ने छ ।

पुस २२, २०८२

कान्तिपुर संवाददाता

Nepali team announced to play in T20 World Cup under Rohit's captaincy

काठमाडौँ — रोहित पौडेलको कप्तानीमा नेपालले ट्वान्टी–२० विश्वकप क्रिकेटका लागि मंगलबार १५ सदस्यीय टोलीको घोषणा गरेको छ । भारत र श्रीलंकामा फेब्रुअरी ७ देखि मार्च ८ सम्म आयोजना हुन लागेको ट्वान्टी–२० विश्वकपका लागि नेपालले अन्तिम टोली चयन गरेको हो ।

घोषित नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुलशन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम छन् ।

अक्टोबरमा ओमानमा भएको ट्वान्टी–२० विश्वकप एसिया–प्यासिफिक छनोट खेलेको टोलीबाट दुई खेलाडी परिवतर्न गरिएको छ । कुशल मल्ल र आदिल अलाम अन्सारीको स्थानमा बसिर र शेरलाई ल्याइएको छ । अघिल्लो महिना सम्पन्न नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सलाई विजेता बनाउनेक्रममा शेर संयुक्तरुपमा सर्वाधिक १७ विकेट लिएका थिए । सोक्रममा उनी इमर्जिङ खेलाडीमा चुनिएका थिए ।

ओमानमा ‘ट्राभलिङ सदस्य’ को रुपमा रहेका शाहव आलमले पनि नेपालको १५ सदस्यीय टोलीमा स्थान बनाउन सकेनन् । २४ सदस्यीय प्रारम्भिक टोलीबाट भीम सार्की, इशान पाण्डे, विनोद भण्डारी, अविनाश बोहरा, प्रतिश जिसी र रुपेश सिंह अन्तिम टोलीमा अटाएनन् ।  

नेपालले तेस्रो पटक ट्वान्टी–२० विश्वकप खेल्न लागेको हो । नेपालले समूहचरणमा इंग्ल्यान्ड, इटाली, वेस्ट इन्डिज र बंगलादेशसँग खेल्ने छ । नेपालले यसअघि २०१४ र २०२४ मा ट्वान्टी–२० विश्वकप खेलेको थियो । 

कान्तिपुर

Link copied successfully