महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरले पूर्वाञ्चल इन्जिनियरिङ कलेज धरानलाई ६ विकेटले पराजित गर्यो ।
What you should know
सुनसरी — विश्वआदर्श कलेज इटहरीमा भइरहेको तेस्रो अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । इटहरीको विश्वआदर्शले मंगलबार सुस्मा गोदावरी कलेजलाई १ सय ९३ रनले पराजित गरी समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल पुगेको हो ।
विश्वआदर्शले लगातार दोस्रो खेल जितेको हो । सकुशल श्रेष्ठले शतक बनाएपछि इटहरीस्थित जनता क्रिकेट पार्कमा टस जितेर ब्याटिङ गरेको विश्वआदर्शले निर्धारित २० ओभरमा ३ विकेट गुमाई २ सय ३३ रन बनायो । सकुशलले ६२ बलको सामना गर्दै १० छक्का र ६ चौकाको मदतमा १ सय २० रन बनाए । रोशन खत्रीले ३९ र आकाश सर्राफले १४ रन जोडे । गोदावरीका रोशन पुरीले २ र सागर डोटेलले १ विकेट लिए । सुस्मा गोदावरी १३.२ ओभरमा ४० रनमा समेटियो । टोलीका तीन जना ब्याटरले खाता नै खोल्न सकेनन् भने अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
दोस्रो खेलमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरले पूर्वाञ्चल इन्जिनियरिङ कलेज धरानलाई ६ विकेटले पराजित गर्यो । टस जितेको पूर्वाञ्चल इन्जिनियरिङ १७ ओभर मा १ सय २२ रनमै अलआउट भयो । पूर्वाञ्चलका काशीराम सञ्जेलले ४९ रन र निसम कर्णले ११ रन बनाए । महेन्द्र मोरङका अखिलेश कोइरालाले ३ तथा प्रतीक पोखरेल, सन्दीप ढकाल र अटल शाहले समान २–२ विकेट लिए । १ विकेट सागर मोचीको नाममा रह्यो ।
महेन्द्र मोरङले १६.४ ओभरमा लक्ष्य पूरा गर्यो । अटलले ५२, सागरले ३५ र वियूष बस्नेतले १० रन बनाए । पूर्वाञ्चलका काशिराम, अजित अटल, रूपेश भट्टराई र ज्ञानेन्द्र प्रसाद यादवले १–१ विकेट लिए । प्लेयर अफ द म्याच महेन्द्र मोरङका अटल शाह घोषित भए । समूह ‘डी’ मा रहेको महेन्द्र मोरङले महत्त्वपूर्ण २ अंक हात पार्यो ।
सुनसरी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग र क्लाउड एजुकेसन एन्ड भिसा सर्भिसको सहयोगमा सञ्चालन भइरहेको प्रतियोगितामा कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका विभिन्न १२ कलेजलाई चार समूहमा विभाजन गरेर खेलाइएको छ ।
