अनुमानित लागत ३२ लाख २० हजार ५ सय रहेको प्रतियोगिताको पुरस्कार राशि ४ लाख २५ हजार छ ।
What you should know
काठमाडौँ — ललितपुर ब्याडमिन्टन संघ र बालकुमारी रिमिक्स क्लबको संयुक्त आयोजनामा चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बुधबार सुरु भएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले प्रतियोगिताको उद्घाटन गरे ।
बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा आजको पहिलो दिन पुरुष एकलमा नेपाल पुलिस क्लबका भविश थापाले विजयी सुरुवात गरे । उनले सुर्खेतका प्रकाश अधिकारीलाई २१–१०, २१–११ को सोझो सेटमा पराजित गर्दै राउन्ड ३२ मा प्रवेश गरे । पुलिसकै नगेन्द्र लिम्बूले देवी नगरका तसत ढकाललाई २१–६, २१–७ ले पराजित गरे ।
त्रिभुवन आर्मी क्लबका विवेक चौधरी, लक्ष्मण रानामगर, विधान अधिकारी, सुप्रिम पन्त, सुविन श्रेष्ठ, लभ ब्याडमिन्टन एकेडेमीका अनन्त पाख्रिन, पुलिसका सक्षम ढकाल, हिराबहादुर राई, कविर केसी, अलिन मल्ल, जोन जसराज, तीनचुलीका सुनिल कार्की, गोरखाका मुकुल गुरुङ, ओखलढुंगाका टिकाध्वज राई र फिटनेस स्पोर्ट्स प्लेक्सका प्रियान्सु क्षेत्री पनि आआफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै राउन्ड अफ ३२ मा प्रवेश गरेका छन् ।
विवेकले तीनचुलीका विशाल तामाङलाई २१–१३, २३–२१, लक्ष्मणले लभ ब्याडमिन्टनका पप्पु पाललाई २१–१३, २१–१४, सक्षमले ललितपुरका महेश धामीलाई २१–५, २१–७, हिराले बालकुमारी रिमिक्सका सम्यक शाक्यलाई २१–११, १८–२१, २१–१३, विधानले फिटनेस पार्कका सुजन थापालाई २१–७, २१–१४, सुप्रिमले चितवनका हिमाल क्षेत्रीलाई २३–२१, २१–१३, कविरले टिकाभैरव ब्याडमिन्टन क्लबका निरञ्जन सिलवाललाई २१–८, २१–१२, सुनिलले आर्मीका सुविन श्रेष्ठलाई २१–१९, २१–१८, अनिलले बालकुमारी रिमिक्सका सक्षम शाक्यलाई २१–५, २१–१७, सुविनले लभ ब्याडमिन्टनका रिजन याम्फुलाई २१–१५, २१–१०, जोनले कस्तुरी कलेजका मिशेक लिम्बूलाई २१–१२, २१–१७ र प्रियान्सुले पुलिसका रिसभ राईलाई २१–७, २१–१० ले पराजित गरे ।
ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको पुरुष यू–१७ तर्फ मधवाईलिया ब्याडमिन्टन क्लबका विवेक अधिकारी, बालकुमारी रिमिक्सका हर्चबर्धन राठी, आर्मीका प्रतीक बिष्ट, बालकुमारीका सक्षम शाक्य, आबिएससीका आदित्य कुमार, कीर्तिपुर ब्याडमिन्टन क्लबका सामन्त भद्र बज्राचार्य, भिन्छेबहालका अलेन डंगोल, कस्तुरीका मिकेश लिम्बू र मनोहराका प्रणभ आचार्यले पनि राउन्ड अफ ३२ मा स्थान बनाए ।
ललितपुर महानगरपालिकाको मुख्य प्रायोजन रहने प्रतियोगितामा पुरुष एकल र महिला एकल खुला, उच्च २० वरीयताबाहेकको पुरुष युगल, यु–१७ पुरुष तथा महिला एकल खुला, ४५ वर्षमाथिको मास्टर युगल खुला गरी ६ विधामा करिव २ सय २६ खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन् ।
अनुमानित लागत ३२ लाख २० हजार ५ सय रहेको प्रतियोगिताको पुरस्कार राशि ४ लाख २५ हजार रहेको छ । पुरुष एकल, महिला एकल र पुरुष युगलतर्फ शीर्ष तीन स्थान हासिल गर्नेले नगद ५०, २५ र १० हजारसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् । यू–१७ पुरुष तथा महिलाका शीर्ष तीन स्थान हात पार्नेले नगद २०, १० र ५ हजार तथा मास्टर युगलतर्फका विजेताले ३०, १५ र ७ हजार ५ सयसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।
