वर्ष खेलाडी पुरस्कारका रूपमा २०५३ मा सुरु भएको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२औं संस्करण पोखरामा हुँदै छ ।
What you should know
काठमाडौँ — पछिल्लो तीन दशक जतिको समयमा नेपाली खेलकुदमा कुन खास खेल हाबी रह्यो त ? को कस्ता खेलाडी चम्के त ?
यसको एकमुष्ट उत्तर खोज्ने हो भने अन्यत्र कतै जानु पर्दैन, एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको इतिहास पल्टाए हुन्छ ।
वर्ष खेलाडी पुरस्कारका रूपमा २०५३ मा सुरु भएको यो अवार्ड वर्ष २०८२ मा आइपुग्दा २२ औं संस्करण पोखरामा आयोजना हुँदै छ । यो अवार्डमा त्यही खेल र खेलाडीको वर्चस्व रहने हो, जसले खास एक वर्ष राम्रो गरेको हुने गर्छ ।
यस्तोमा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जित्नेको सूची बनाउने हो भने एकखाले रोमाञ्चकता र सनसनी दिन्छ । आखिरमा खेलकुदमा तथ्यांकका कथा यति धेरै बेजोड हुने गर्छन् । अहिलेसम्म आयोजना २१ संस्करणमध्ये वर्ष २०७७ विशेष रह्यो किनभने त्यति बेला दशकको उत्कृष्ट अवार्ड दिइएको थियो । त्यसलाई छाडेर प्रत्येक संस्करणमा नछुटेका दुई अवार्डमध्ये एक उत्कृष्ट पुरुष खेलाडी पनि रहेको छ ।
तथ्यांकलाई आधार मान्ने हो भने यो अवार्ड जित्ने १५ खेलाडी छन् । त्यसमध्ये क्रिकेटका पारस खड्का एक्लैले चारपल्ट अवार्ड जिते । उनले सबैभन्दा पहिले २०६६ मा जिते । अनि २०६९ र २०७० मा लगातार फेरि जिते । उनले २०७४ मा अन्तिम पटक यो अवार्ड जिते । त्यसैले त उनलाई २०७७ मा दशककै उत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरिँदा यो जत्तिको न्यायोचित अरू केही देखिएन । अनि पारस पछिल्लो केही वर्ष नेपाली खेलकुदमा कति हाबी रहे, त्यो पनि प्रस्ट हुन्छ ।
उनीपछि एथलेटिक्सका राजेन्द्र भण्डारी र तेक्वान्दोका दीपक विष्टले दुईपल्ट वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जिते । त्यसमध्ये दीपक त नेपाली खेलकुद इतिहासकै सबैभन्दा सफल खेलाडी हुन् । एकपल्ट यो अवार्ड जित्नेमा फुटबलका देवनारायण चौधरी, जुमनु राई, नवयुग श्रेष्ठ, किरण लिम्बू र अञ्जन विष्ट छन् । क्रिकेटबाटै यो अवार्ड जित्ने खेलाडीहरूमा विनोद दास र रोहित पौडेल पनि हुन् ।
राजेन्द्रपछि एथलेटिक्सबाट धेरै समयको अन्तरमा दीपक अधिकारी यो विधाको विजेता रहे । त्यसबाहेक बक्सिङका दीपक महर्जन, गल्फका शिवराम श्रेष्ठ, प्याराग्लाइडिङका युकेश श्रेष्ठ र करातेका मन्डेकाजी श्रेष्ठले पनि एकपल्ट यो अवार्ड हात पारे । खेलका आधारमा भन्दा क्रिकेटले ६ पल्ट र फुटबलले ५ पल्ट यो अवार्ड जितेका छन् । एथलेटिक्सले ३ र तेक्वान्दोले २–२ अवसरमा यो अवार्ड आफ्नो नाममा लेखाए । बक्सिङ, गल्फ, प्याराग्लाइडिङ र करातेले १–१ पल्ट यो अवार्ड जित्न सक्यो ।
यसपालि गण्डकीमा अवार्ड हुँदै छ । पोखरेली खेलाडी युकेश गुरुङ पोखराकै विशेष खेलको पहिचान बोकेको प्याराग्लाइडिङ खेलबाट उत्कृष्ट खेलाडी बनेका हुन् । उनको टोलीले २०१८ मा इन्डोनेसियाको एसियाली खेलकुदमा रजत पदक जितेको थियो ।
यसपालि क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, खोखोका जनक चन्द र उसुका विजय सिञ्जालीले वर्षको उत्कृष्ट खेलाडीमा दाबी गरेका छन् । हेरौं कसले बाजी मार्ला !
