प्रतियोगितामा करिब ६ सय जना तेक्वान्दो खेलाडीहरूको सहभागी
काठमाडौँ — नेपाल पुलिस स्कुल सामाखुसीको आयोजनामा दोस्रो आईजीपी नेसनल तेक्वान्दो च्याम्पियनसिप-२०८२ सुरु भएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले नेपाल पुलिस स्कुल सामाखुसीमा आइतबार आयोजित एक कार्यक्रमबीच उक्त प्रतियोगिताको उद्घाटन गरे ।
सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूलाई उत्कृष्ट खेल प्रदर्शन तथा सफलताको शुभकामना व्यक्त गरे । यस्ता प्रतिस्पर्धात्मक प्रतियोगिताहरूले समग्र रूपमा विद्यार्थीहरूको आत्मविश्वास, अनुशासन, सामूहिक भावना, नेतृत्व क्षमताको विकासको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी तयार गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।
प्रतियोगितामा नेपाल पुलिस स्कुल सामाखुसी, नेपाल पुलिस स्कुल काभ्रे, नेपाल पुलिस स्कुल धरान, सशस्त्र प्रहरी स्कुल कीर्तिपुर लगायत ४५ वटा विद्यालय/डोजाङका करिब ६ सय जना तेक्वान्दो खेलाडीहरूको सहभागीता रहेको छ ।
