दुई टेस्ट राष्ट्र मनसुनअगाडि नेपाल आएर खेल्ने

नेपाल प्रिमियर लिग अबदेखि एक महिनाअगाडि अक्टोबर–नोभेम्बरमा हुने ।

पुस १९, २०८२

विनोद पाण्डे

Two Test nations to come to Nepal before monsoon to play

What you should know

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीले मनसुन सुरु हुनुअघि दुई टेस्ट राष्ट्रसँग घरेलु शृंखला खेल्ने भएको छ । वर्ष २०२६ का लागि शनिबार क्यालेन्डर सार्वजनिक गर्दै नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले दुई टेस्ट राष्ट्र नेपाल आएर खेल्न लागेको जानकारी गराएका हुन् ।

क्यानको क्यालेन्डर अनुसार नेपालले मार्च १० देखि २५ सम्म ओमान र यूएई तथा मे ५ देखि १८ सम्म अमेरिका र स्कटल्यान्डसम्मिलिन क्रिकेट विश्वकप लिग–२ का दुई शृंखला आयोजना गर्दैछ । एकदिवसीय विश्वकप छनोटका आधार रहेको लिग–२ का अगाडि र पछाडि नेपालले टेस्ट राष्ट्रलाई बोलाएर खेलाउने तयारी गरेको हो ।

‘विभिन्न टेस्ट राष्ट्रहरूसँग समन्वय गरिररहेका छौं, यही टेस्ट राष्ट्र आउँछ भन्ने भन्दा पनि वर्षा सुरु हुनअगाडि कम्तीमा दुई टेस्ट राष्ट्रलाई बोलाउने प्रयत्न गरिरहेका छौं,’ पारसले शनिबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘क्रिकेट विश्वकप लिग–२ सुरु हुनु अगाडि र पछाडि दुई एकदिवसीय द्विपक्षीय शृंखला हुनेछ ।’

क्यान सचिव पारसले कुन टेस्ट राष्ट्र भनेर भने खुलाएनन् । नेपाल लिग–२ मा २० खेलमा १२ अंकमात्र जोड्न सकेको छ र आठ राष्ट्र सम्मिलित प्रतियोगितामा सातौं स्थानमा छ । जसको कारण नेपालको एकदिवसीय अनतर्राष्ट्रिय मान्यता संकटमा रहेको छ । आउँदो दुई घरेलु शृंखलाले नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय भविष्यको निर्क्यौल गर्न सक्छ ।

जनवरीमा नेपालले महिला ट्वान्टी–२० विश्वकप छनोट आयोजना गर्दैछ । १० राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाली महिला क्रिकेट टोली व्यस्त हुनेछ भने पुरुष टोली अर्को महिना भारतमा हुने ट्वान्टी–२० विश्वकपको तयारीमा रहेको छ । ट्वान्टी–२० विश्वकपको तयारीको खाका १–२ दिनमै घोषणा हुने पारसले बताए । नेपाल ट्वान्टी–२० विश्वकपको तयारका लागि श्रीलंका जाने सम्भावना रहेको पनि बताइएको छ ।

त्यस्तै नेपालले २०२७ सालमा बंगलादेशसँग मिलेर आईसीसी यू–१९ विश्वकप क्रिकेट आयोजना गर्दैछ । त्यसका लागि नेपालले विशेष लक्षित गरेर क्यालेन्डर तयार पारेको क्यानका क्रिकेट म्यानेजर विनोद दासले जनाए । क्यानले त्यसका लागि अप्रिलमा यू–१९ महिला त्रिकोणात्मक शृंखला आयोजना गर्दैछ भने यू–१९ राष्ट्रिय प्रतियोगिता सेप्टेम्बरमा हुनेछ ।

Two Test nations to come to Nepal before monsoon to play

नेपाल प्रिमियर लिग अब अक्टोबर–नोभेम्बरमा हुने

नेपाल प्रिमियर लिग अबदेखि एक महिनाअगाडि अक्टोबर–नोभेम्बरमा हुनेछ । ‘हाम्रो क्यालेन्डर निकै व्यस्त छ, हामीले धेरै गृहकार्य गरेर यो तयार पारेका छौं,’ पारसले भने, ‘हाम्रो क्यालेन्डर यति व्यस्त छ कि राष्ट्रिय खेलाडीले सबै प्रतियोगिता खेल्न नभ्याउन पनि सक्छन् ।’

त्यस्तै मेमा महिला अन्तर्राष्ट्रिय शृंखला हुनेछ । राजधानीबाहिर पनि मैदानहरू निर्माण भइरहेकाले यो प्रतियोगिता अब मोफसलमा आयोजना गर्ने पारसले जानकारी दिए । क्यानको क्यालेन्डरअनुसार सोमबारबाट प्रधानमन्त्री कपका लागि जिल्ला छनोट सुरु हुदैछ । राष्ट्रिय प्रतियोगिता मार्चमा हुनेछ । जय ट्रफी फेब्रुअरीमा हुनेछ । त्यस्तै वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अप्रिलमा हुनेछ ।

महिला राष्ट्रिय प्रतियोगिता मे २ देखि २० सम्म हुनेछ । क्यानले जुलाईमा लेभल २ कोचिङ कोर्ष र अगस्टमा लेभल १ अम्पायरिङ कोर्ष गर्ने जनाएको छ ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully