ग्रान्ड स्लाम प्लेयर डेभलपमेन्ट प्रोग्रामअन्तर्गतको एसिया प्यासिफिक इलाइट ट्रफी खेल्दै शिभाली गुरुङ
What you should know
काठमाडौँ — नेपाली जुनियर टेनिस खेलाडी शिभाली गुरुङले टेनिसको ग्लोबल एरिनामा आफूलाई प्रस्तुत गर्ने मौका पाएकी छन् ।
शिभालीले ग्रान्ड स्लाम टेनिस अस्ट्रेलियन ओपनका क्रममा हुने एसिया प्यासिफिक इलाइट ट्रफी खेल्दै छिन् । वर्षको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपन यही जनवरी १७ देखि फ्रेबुअरी १ सम्म मेलबर्नमा हुनेछ ।
ग्रान्ड स्लाम प्लेयर डेभलेपमेन्ट प्रोग्रामअन्तर्गतको इलाइट ट्रफी जनवरी २६ देखि ३० सम्म हुनेछ । प्रतियोगिताको तयारी गर्न शिभाली आइतबार मलेसिया जानेछिन् । त्यसका लागि उनलाई प्रायोजक भाटभटेनी सुपरमार्केट र इन्फिनिटीले शुक्रबार बिदाइ गरेको थियो ।
उनले यू–१४ विधामा प्रतिस्पर्धा गर्नेछिन् । त्यसमा एसियाका शीर्ष आठ जुयिनर खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।
एसियन टेनिस फेडेरेसन र टेनिस अस्ट्रेलियाले एसियाका प्रतिभावान जुनियर खेलाडीलाई एक्सपोजर दिन ग्रान्ड स्लामका दौरान इलाइट ट्रफीको सुरुआत गरेको नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मूलले जानकारी गराए । उनले भने, ‘विश्वका एकसेएक व्यावसायिक खेलाडीको खेल हेर्दै त्यही कोर्टमा खेल्न पाउनु जुनियरका लागि ठूलो अवसर हो, शिभालीले कडा मिहिनेतका कारण त्यो अवसर पाएकी हुन् ।’
शिभाली एसियाको यू–१४ तर्फ चौथो वरीयतामा रहेकी खेलाडी हुन् । टेनिस टु युरोप कार्यक्रमअन्तर्गत फ्रान्स, जर्मनी, बेल्जियमलगायत मुलुकमा गएर शिभालीले टेनिस प्रशिक्षण लिएकी थिइन् ।
गत मंसिरमा पोखरामा सम्पन्न आईटीएफ जे ३० प्रतियोगिता जित्ने पहिलो नेपाली खेलाडी बनेकी शिभाली अघिल्लो सातामात्र माछापुच्छ्रे ओपन टेनिसमा पनि च्याम्पियन भएकी थिइन् । त्यसक्रममा उनले सुनीरा थापालाई हराएकी थिइन् ।
शिभालीले अस्ट्रेलिया यात्रा ग्रान्ड स्लामको गोरेटो भएकाले आफू उत्साही रहेको बताइन् । उनले भनिन्, ‘एकदमै उत्साही छु, नर्भस पनि छु । आफ्नो गेम देखाउँछु नै । पक्कै पनि मेरो टेनिस जर्नीमा यो ठूलो अवसर हो, यसबाट धेरै कुरा सिक्ने छु । भोलिका दिनमा ग्रान्ड स्लाममा पुग्नलाई यसले ठूलो सहयोग गर्नेछ ।’
शिभाली आफ्ना ‘आइडल’ खेलाडीहरूलाई अब प्रत्यक्ष भेट्न पाउनेमा आशावादी पनि छिन् । राफेल नडाल, कार्लोस अल्कारेज, नोभाक जोकोभिच जस्ता खेलाडीको खेलबाट उनी प्रभावित छन् । उनले भनिन्, ‘उहाँहरूको खेल टेलिभिजनबाट हेर्थे, सायद अब कोर्टमा पुगेर हेर्न पाउने आसा छ ।’
बुवा सीमान्त गुरुङको प्रेरणाबाट ६ वर्षकै उमेरदेखि टेनिस खेल्न थालेकी शिभालीले जुनियरतर्फ दजनौं उपाधि जितिसकेकी छन् । उनको हौसला बढाउन भाटभटेनी र इन्फिनिटीले शुक्रबार आयोजना गरेको कार्यक्रममा भाटभटेनीका कार्यकारी निर्देशक कल्याण गुरुङले शिभालीको ग्लोबल स्टेजको यात्रामा नेपालीले गर्व गर्नुपर्ने बताउँदै उनको सफलताका कामना गरे ।
आलोकजंग जोशीले शिभालीका लागि भाटभटेनीले गत वर्षदेखि २० लाख रुपैयाँ बराबर प्रायोजन गरेको जानकारी गराए भने इन्फिनिटीका सीईओ प्रवीण गुरुङले शिभालीलाई आवश्यक पोसाक उपलब्ध गराउँदै आएको बताए । उनले शिवाली इन्फिनिटीको ब्रान्ड एम्बासडर भएको घोषणा पनि गरे ।
डाफोडिल स्कुलका प्रिन्सिपल उत्तमकुमार लामा, एन्फा अध्यक्ष पंकज नेम्बाङ, समाजसेवी पहलमान गुरुङलगायत शिभालीको सफलताको कामना गरेका थिए । उत्तमकुमारले शिभालीलाई ५ लाखको सहयोग प्रदान गर्दै हौसला बढाए ।
सोही कार्यक्रममा भाटभटेनीले ५ वर्षको उमेरमै चामत्कारिक क्रिकेट प्रदर्शन गरेका अप्रित कार्कीलाई १० लाख रुपैयाँबराबरको छात्रवृत्ति प्रदान गरेको थियो ।
