हेल्प नेपाल र न्यु डायमन्ड अपराजित रहँदै एनभीए च्याम्पियन

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा खचाखच भरिएको समर्थकमाझ हेल्प नेपालले लगातार तेस्रो पटक उपाधि जितेको छ ।

पुस १९, २०८२

ध्रुव तुलाधर

Help Nepal and New Diamond remain undefeated and become NVA champions

What you should know

काठमाडौँ — टिपटप स्पोर्ट्स क्लब र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले नवौं एनभीए पुरुष तथा महिला भलिबल च्याम्पियनसिप जितेका छन् ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा खचाखच भरिएको समर्थकमाझ हेल्प नेपालले लगातार तेस्रो पटक उपाधि जितेको छ । फाइनलको प्रतिद्वन्द्वी विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सोझो सेट ३–० मा रोक्दै हेल्प नेपालले उपाधि हत्याएको थियो । टोलीले लगातार आर्मीलाई नै हराएरले उपाधि जितेको हो ।

पाकिस्तानी खेलाडीहरू उतारेको हेल्प नेपालले अपराजित हुनुका साथै कुनै सेट नगुमाई ट्रफी उचालेको हो । उत्सव खड्काको प्रशिक्षणमा रहेको टोलीले २५–२१, २५–२१, २५–२१ ले नतिजा निकालेको थियो । फखर उद्दिन, मुवासर राजाले स्पाइकबाट लगातार अंक बटुलेपछि आर्मी निरास बनेको थियो । फखरले २४ र राजाले १८ अंक लिएका थिए । आर्मीका सुनिल बोहराले दोहोरो अंकमा स्पाइकबाट ११ अंक, अर्जुन नेपालीले ८ र धनबहादुर भट्टले ६ अंक लिएका थिए ।

Help Nepal and New Diamond remain undefeated and become NVA champions

महिलातर्फ न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले उपाधि जितमा पुनरागमन गरेको छ । यसपालि साबिक विजेता नेपाल पुलिस क्लबलाई कुनै मौका नदिई न्यु डायमन्डले उपाधि जित्यो । टोलीलाई उपाधि जितको लयमा फर्काउने काम प्रतिभा मालीले गरिन् । अस्ट्रेलियाबाट फर्केकी प्रतिभाको आगमनले टोली बलियो बनेको थियो । फ्रेञ्चाइज भलिबलका मार्कीद्वय सलिना श्रेष्ठ र सुमित्रा रेग्मीको साथ डायमन्डले पुलिसलाई‌ ३–० को सोझो सेटमा हराएको थियो । हेल्प नेपालले जस्तै न्यु डायमण्डले पनि कुनै सेटमा गुमाएन । टोलीले २५–१८, २५–१९, २५–१८ ले जित निकाल्यो । यसअघि २०७८ सालमा एपीएफलाई हराएर च्याम्पियन बनेको न्यु डायमन्डले त्यसको अर्को वर्ष पुलिससँग फाइनलमा पराजित भएको थियो । त्यसपछि प्रतियोगितामा पुलिस हाबी हुँदै आएको थियो । पोखरामा फागुनमा भएको एनभीए भलिबल लिगको फाइनलमा पनि न्यु डायमण्ड पुलिससँग नै पराजित भएको थियो ।

फाइनलमा प्रतिभाले स्पाइकबाट १४, सुमित्रा रेग्मीले ११ र सलिना बुढामगरले ७ अंक लिएका थिए । पुलिसकी स्टार उषा भण्डारीले १२, पुनम चन्दले ८ र कामना विष्टले ५ अंक बटुलेका थिए ।

त्यस्तै पुरुषमा नेपाल पुलिस क्लब र महिलामा एपीएफ क्लब तेस्रो भयो । पुलिसले रुकुम पश्चिम ट्रेनिङ सेन्टरलाई २५–२७, २३–२५, २६–२४, २५–२२, १५–१० ले हराएको थियो । एपीएफले त्रिभुवन आर्मी क्लबलाई २५–१३, २५–१७, २५–१० ले हराएर तेस्रो स्थान हासिल गरेको हो ।

Help Nepal and New Diamond remain undefeated and become NVA champions

मोस्ट भ्यालुएबल प्लेयरको उपाधि प्रतिभा माली र फखर उद्दिनले जितेका थिए । महिलातर्फ स्पाइकरमा एपीएफकी निरुता ठगुन्ना, सर्भरमा पुलिसकी सरस्वती कट्टेल, ब्लकरमा डायमन्डकी सुमित्रा रेग्मी, सेटरमा डायमन्डकै प्रगति नाथ र लिबेरोमा डायमन्डकी सलिना श्रेष्ठ उत्कृष्ट खेलाडी चुनिए । प्रशिक्षकमा डायमन्डका कुमार राई भए । पुरुषतर्फ स्पाइकरमा हेल्प नेपालका मुवासर राजा, सर्भभरमा चिरञ्जीवी खड्का, ब्लकरमा आर्मीका दुर्गाबहादुर खड्का, सेटरमा आर्मीका हरिहजुर थापा, लिबेरोमा भीमबहादुर गाहा र प्रशिक्षकमा उत्सव खड्का उत्कृष्ट चुनिए । एमभीपीले जनही २५ हजार र विधागत उत्कृष्टले जनही १५ हजार पुरस्कार पाउँदा विजेता टिमले समान ५ लाख रुपैयाँ पुरस्कार जितेको थियो ।

Help Nepal and New Diamond remain undefeated and become NVA champions

ध्रुव तुलाधर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । उनी हाल कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा कार्यरत छन् ।

Link copied successfully