जावलाखेलका पूर्व कप्तान जग्गुले २० वर्षदेखि घरेलु फुटबलमा योगदान दिँदै आएका छन् । उनको कप्तानीमा जावलाखेलले २०६७ सालमा तिलोत्तमा गोल्डकप जितेको थियो, जुन जावलाखेल क्लब इतिहासमा पहिलो प्रमुख उपाधि थियो ।
काठमाडौँ — कालु खड्का समाज (कलंकी, खड्का गाउँ) ले शनिबार फुटबल प्रशिक्षक जग्गुनाथ खड्कालाई सम्मान गरेको छ । समाजले जग्गुसहित विभिन्न क्षेत्रमा उच्च स्थान पुगेका २२ खड्का व्यक्तित्वलाई सम्मान गरेको थियो ।
जावलाखेलका पूर्व कप्तान जग्गुले २० वर्षदेखि घरेलु फुटबलमा योगदान दिँदै आएका छन् । उनको कप्तानीमा जावलाखेलले २०६७ सालमा तिलोत्तमा गोल्डकप जितेको थियो, जुन जावलाखेल क्लब इतिहासमा पहिलो प्रमुख उपाधि थियो । उनकै कप्तानीमा जावलाखेल सोही वर्ष आहा–रारा गोल्डकपको फाइनलमा पुगेको थियो भने सहिद स्मारक ‘ए’ डिभिजन लिगमा तेस्रो भएको थियो ।
खेलाडी जीवनपछि उनले प्रशिक्षकको भूमिका निभाउँदै आएका छन् । उनकै प्रशिक्षणमा जावलाखेलले हालै एन्फा यू–१६ ‘ए’ डिभिजन लिग खेलेको थियो । उक्त सम्मान कार्यक्रममा कालु खड्काको परिवारको इतिहास समेटिएको ‘कालु खड्का वंशवृक्ष’ विमोचन गरिएको थियो ।
काजी वीरवल, पाल्पाका सेन राजाका भारद्वाज थिए । नेपाल एकीकरणपछि विक्रम संवत १८२० मा पाल्पाबाट धादिङ गएर बसेको इतिहास छ । वीरवलका छोरा वंशराजका माहिला छोरा कालु १८९० मा कलंकी आएर बसेका थिए । त्यसपछि विस्तार भएको खड्का परिवार अहिले ६ सय ५३ घर भएको संयोजक गणेश खड्काले जानकारी गराए ।
