‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग टाइब्रेकरमा ४–३ ले पराजित हुँदै दुई पटकको विजेता भुजुङ प्रतियोगिताबाट बाहिरिएको हो ।
What you should know
बेंसीसहर, लमजुङ — लमजुङको बेंसीसहरमा जारी ३३औं त्रिवेणी कप फुटबल प्रतियोगितामा शुक्रबार अन्तिम तीन मिनेट सम्हालिन नसक्दा लालीगुराँस भुजुङको यात्रा क्वाटरफाइनलमै टुंगिएको छ ।
‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग टाइब्रेकरमा ४–३ ले पराजित हुँदै दुई पटकको विजेता भुजुङ प्रतियोगिताबाट बाहिरिएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा लालीगुराँसका फागुराम थारुले दोस्रो हाफको सातौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर खेल सकिन ३ मिनेट बाँकी रहँदा चर्च ब्वाइजका विवेक राईले ४२औं मिनेटमा बराबरी गोल गरेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
टाइब्रेकरमा चर्च ब्वाइजका विवेक राई, विदेशी अब्दुल फारुकी, सुदीप मगर र रोशन तामाङ सफल भए । मनोज राईको प्रहार बारमा लागेर बाहिरियो । भुजुङतर्फ सुदीप गुरुङ, ओमप्रकाश चौधरी र आशिष गुरुङले गोल गरे । विष्णु चौधरी र सुलेमान मगर चुके । निर्णायक प्रदर्शन गरेका चर्च ब्वाइजका गोलकिपर रुबिन बोगटी ‘म्यान अफ द म्याच’ घोषित हुँदै १० हजार रुपैयाँ पुरस्कार पाए ।
अब चर्च ब्वाइज युनाइटेडले फाइनल प्रवेशका लागि घरेलु टिम लाङ्दीदेवी नाल्मासँग आइतबार दिउँसो १ बजे प्रतिस्पर्धा गर्नेछ । लाङ्दीदेवीले ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) लाई सडनडेथमा ९–८ ले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको थियो ।
अर्को क्वाटरफाइनलमा घरेलु टिम लमजुङ मर्स्याङ्दीले आयोजक त्रिवेणी युवा क्लबलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । बेंसीसहरस्थित सहजी खेलमैदानमा निर्धारित ९० मिनेटमा गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
मर्स्याङ्दीका अरोन थापा, अविनाश स्याङ्तान, निङ्मा घिसिङ, विदेशी खेलाडी ओलाओले अफिज र एलरले गोल गरे । त्रिवेणीका युवराज ढकाल, प्रताप राई र सुजित बुढाथोकीले गोल गर्दा मिलन राई चुके । उत्कृष्ट गोलकिपिङ प्रदर्शन गरेका मर्स्याङ्दीका भविन्द्र मल्ल ठकुरी ‘म्यान अफ द म्याच’ घोषित हुँदै १० हजार रुपैयाँ पुरस्कारबाट पुरस्कृत भए ।
सेमिफाइनलमा लमजुङ मर्स्याङ्दीले साबिक विजेता एपीएफसँग प्रतिस्पर्धा गर्नेछ । एपीएफले ठडाराई समाजलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । मर्स्याङ्दी र एपीएफबीचको सेमिफाइनल शनिबार दिउँसो १ बजे हुने आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष टेकजङ गुरुङले जानकारी दिए ।
