सबैभन्दा बढी खेलकुद गतिविधि हुने सहरमा पर्छ, पोखरा । यही पर्यटकीय सहरमा पुस २३ को दिन स्पोर्ट्स अवार्ड कार्यक्रम हुनेछ ।
What you should know
काठमाडौँ — अबको साता नेपाली खेलकुद पोखरा केन्द्रित हुनेछ, किनभने २२ औं संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड उतै हुँदै छ ।
सबैभन्दा बढी खेलकुद गतिविधि हुने सहरमा पर्छ, पोखरा । यही पर्यटकीय सहरमा पुस २३ को दिन स्पोर्ट्स अवार्ड कार्यक्रम हुनेछ । यसपालि त्यसको अघिल्लो दिन पुस २२ मा स्पोर्ट्स समिट पनि हुनेछ । जेन–जी आन्दोलनका कारण भदौ २९ मा हुनुपर्ने यो कार्यक्रम पछाडि सरेको हो ।
आयोजक नेपाल खेलकुद पक्रकार मञ्चले कार्यक्रमलाई लिएर आफ्नो तयारी पूरा भएको जनाएको छ । यस्तोमा प्रश्न हुनसक्छ, बाँकी के छ त ? कार्यक्रमकै प्रमुख आकर्षण रहेको पिपल्स च्वाइस अवार्डका लागि मनोनयनमा परेकालाई मत दिने अवसर भने बाँकी नै छ । जेन–जी आन्दोलनका बेला रोकिएको मत दिने प्रक्रिया यसै सातादेखि फेरि सुरु भइसकेको छ । डिजिटल वालेट खल्ती आईएमईबाट मत दिने प्रक्रिया अहिले खुला छ । यो अवार्डको अघिल्लो रातसम्म जारी रहनेछ ।
नेपाली खेलप्रेमी कसैले पनि पिपल्स च्वाइसमा यसपल्ट को–को प्रत्याशी छन्, त्यो बिर्सेका छैनन् । धेरैले मत पनि दिएका छन् । जति अलमलमा परेका छन्, तिनका लागि जानकारीमा लोकप्रिय खेलाडी विधामा प्रतिस्पर्धी छन् उसुका विजय सिन्जाली, क्रिकेटकी पूजा महतो, भलिबलका हिमाल सुनारी, फुटबलकी रेखा पौडेल र टेबलटेनिसकी इभाना थापा ।
अब सक्दो मत दिने पालो, आफ्ना प्रिय खेलाडीलाई । जेन–जी आन्दोलनपछि नेपाली खेलकुद ठ्याक्कै सुस्त रहेन । सायद अझ बढी सक्रिय रह्यो । धेरै अर्थमा नेपाली खेलकुद चलायमान नै बन्यो । त्यसकै आधारमा भन्ने हो भने पिपल्स च्वाइसमा मनोनयन परेका खेलाडी कति धेरै सान्दर्भिक थिए, त्यो अहिले प्रस्ट हुन्छ । त्यसमा पनि तीन महिला खेलाडी । सबैभन्दा पहिला रेखाकै कुरा । उनी केही दिन अगाडिसम्म माल्दिभ्समा थिइन् । त्यहाँ माजिया क्लबबाट व्यावसायिक फुटबल खेलिरहेकी थिइन् ।
यसैक्रममा उनको क्लब माल्दिभ्सको महिला लिग उपाधि जित्न सफल रह्यो । त्यस सफल अभियानकी एक महत्त्वपूर्ण र प्रभावशाली छाप छाडेकी खेलाडी रहिन्, रेखा ।
अर्कोतर्फ नेपाली महिला क्रिकेटमा पूजाको उपस्थिति अझ दरिलो बनेको छ । सुरुका दिनमा उनी कसरी नेपाली क्रिकेटसँग जोडिएकी थिइन्, त्यसबारे चर्चा थियो । अहिले त्यो चर्चा उनको उम्दा प्रदर्शनमा केन्द्रित छ । ब्याट र बल दुवैबाट गतिलो योगदान दिन सक्ने पूजाले भर्खरै नेपालको प्रतिनिधित्व गर्दै मलेसियाविरुद्ध ५ ट्वान्टी–२० सिरिज खेलिन् । अब उनको ध्यान पूर्णतः आईसीसी वुमेन्स ट्वान्टी–२० छनोटमा छ । टेबलटेनिसकी इभानाले त झन भर्खरै अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिकका लागि एनओसीले प्रदान गर्ने छात्रवृत्ति जितेकी छन् । अबको दुई वर्ष उनी प्रशिक्षण र प्रतिस्पर्धामा असाध्यै धेरै व्यस्त हुनेछिन् ।
विजय र हिमाल पनि खेलको मैदानबाट टाढा रहेनन् । विजय न्युजिल्यान्डमा खेल्न पुगेका छन् । भलिबलका सुपर स्टार हिमाल त झन गण्डकी प्रदेशकै हुन् । उनकै सहरमा अवार्ड कार्यक्रम हुँदै छ । अब विजेता छनोट प्रक्रियाबारे छोटकरीमा जानकारी । खल्तीमार्फत दिइने मतको भार ५० प्रतिशत हुनेछ । फेसबुक भोटिङको २५ प्रतिशत, राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको भोटिङ १२.५ र आयोजक मञ्चका सदस्यको भोटिङको १२.५ प्रतिशत मतभार हुनेछ । मूल प्रश्न हो, कुनै न कुनै माध्यमबाट तपाईहरू मत दिन छुटिरहनुभएको त छैन ? छुट्नुभएको छैन भने दोहोर्याएर पनि मतदान गर्न त सकिने आयोजकको भनाइ छ ।
