धरान–१३ स्थित नेपाल प्रहरी प्रदेश कार्यालयको खेल मैदानमा आयोजक नेपाल पुलिस स्कुल धरान (रातो) र प्रभात सेकेन्डरी बोर्डिङ स्कुल धरानबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
What you should know
धरान — सातौं कोशी प्रदेशस्तरीय अन्तरविद्यालय डीआईजीपी रनिङ कप फुटबल प्रतियोगिता अन्तर्गत फाइनल खेल शनिबार हुने भएको छ ।
धरान–१३ स्थित नेपाल प्रहरी प्रदेश कार्यालयको खेल मैदानमा आयोजक नेपाल पुलिस स्कुल धरान (रातो) र प्रभात सेकेन्डरी बोर्डिङ स्कुल धरानबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
२०५८ सालदेखि सुरु भएको डीआईजीपी कप छैटौं संस्करणसम्म आयोजना भई २०६३ सालपछि रोकिएको थियो । उक्त अवधिमा धरान–१८ स्थित डिपोट माविले पाँच पटक उपाधि जित्दा मोरङको उर्लाबारीस्थित राधिका मावि एक पटक च्याम्पियन बनेको थियो । विद्यालयस्तरको फुटबलमा निकै प्रतिष्ठित मानिएको यो प्रतियोगिता करिब १९ वर्षपछि पुनः सुरु भएको हो ।
प्रतियोगिता संयोजक तथा प्रहरी निरीक्षक सुरेशकुमार हायुका अनुसार विभिन्न कारणले १९ वर्षसम्म प्रतियोगिता सञ्चालन हुन सकेको थिएन । 'लामो समयपछि प्रतियोगिता पुनः सुचारु गर्न सफल भएका छौं, अब यसलाई निरन्तरता दिँदै जानेछौँ,' उनले बताए ।
यस वर्ष दुवै फाइनलिस्ट टोली पहिलो पटक उपाधि नजिक पुगेका हुन्, जसले प्रतियोगिताले नयाँ च्याम्पियन पाउने निश्चित भएको छ । सेमिफाइनलमा पुलिस स्कुल (रातो) ले सिद्धार्थ बोर्डिङ स्कुल सुन्दरहरैँचा, मोरङलाई ३–० ले हराउँदै फाइनल प्रवेश गरेको थियो । यस्तै, प्रभात सेकेन्डरी बोर्डिङ स्कुलले पिनाकल ज्ञान मन्दिर कानेपोखरी, मोरङलाई ४–० ले पराजित गर्दै उपाधि भिडन्त तय गरेको हो ।
आयोजक पुलिस स्कुलका प्रशिक्षक सागर कार्कीले पहिलो पटक फाइनल खेल्न पाउनु ऐतिहासिक अवसर भएको बताए । 'इतिहास रच्ने अवसर हो,' उनले भने । प्रभातका प्रशिक्षक अमृत राईले पनि पहिलो पटक फाइनल खेल्न पाउँदा खेलाडीहरूमा उत्साह र आत्मविश्वास बढेको उल्लेख गरे ।
फाइनल खेलमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डीआईजी विनोद घिमिरे प्रमुख अतिथिका रूपमा उपस्थित हुनेछन् । प्रतियोगितामा कुल १६ टोलीले सहभागिता जनाएका थिए ।
विजेता टोलीले च्याम्पियन ट्रफीसहित नगद ८१ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले नगद ४१ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । साथै उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, हाई स्कोरर, राइजिङ प्लेयर तथा उत्कृष्ट कोचलाई जनही २ हजार ५ रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
उत्कृष्ट खेलाडीले नेपाल प्रहरी विद्यालय धरानमा कक्षा ११ मा भर्ना लिन चाहेमा ५० प्रतिशत शुल्क छुट पाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ । यस्तै, प्रतियोगिताभर समाचार संकलन गर्ने उत्कृष्ट पत्रकारलाई नगद २ हजार ५ रुपैयाँसहित सम्मान गरिनेछ ।
प्रतियोगिताको विजेता टोलीले प्राप्त गर्ने मुख्य ट्रफी एक वर्षभित्र आयोजक विद्यालयमा अनिवार्य रूपमा फिर्ता बुझाउनुपर्नेछ । उक्त ट्रफीको सट्टा विजेता टोलीलाई रेप्लिका ट्रफी हस्तान्तरण गरिने आयोजकले जानकारी दिएको छ ।
