सन् २०२५ लाई अन्तर्राष्ट्रिय खेलको दृष्टिकोणले हेर्दा यसको सबैभन्दा ठूलो विशेषता महिला खेलकुदले लय समात्नु रह्यो, फुटबलको युरो होस् वा क्रिकेट अनि रग्बीको विश्वकप।
What you should know
काठमाडौँ — विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जहिले पनि केही न केही नयाँ गर्न खोजिरहेको हुन्छ । सन् २०२५ मा पनि यस्तै एउटा काम गर्यो । यो थियो, अमेरिकामा भएको फिफा क्लब वर्ल्डकप । यो प्रतियोगिता दुई कारणले विशेष रह्यो । अबको वर्ष अमेरिकाले क्यानडा र मेक्सिकोसँग मिलेर विश्वकप गर्दै छ । त्यसकै पृष्ठभूमिमा यसपल्टको क्लब वर्ल्डकप ठूलो महत्त्व दिएर आयोजना गरिएको थियो ।
फिफालाई जाँच्नु थियो, अमेरिकामा फुटबलका ठूला प्रतियोगिताको प्रभाव कस्तो हुनेछ । जतिबेला प्रतियोगिता सकियो, फिफाले भन्यो, यो प्रतियोगिता सफल नै रह्यो । भनिन्छ, फिफाका अध्यक्ष जियानी इन्फाटिनोको महत्त्वाकांक्षा हो यो । सुरुमा यो प्रतियोगितालाई लिएर आलोचना पनि उत्तिकै भयो, तर प्रतियोगिता अगाडि बढ्ने क्रममा ती आलोचना विस्तारै शिथिल हुँदै गए ।
यो प्रतियोगिताको अर्को विशेषता थियो, सहभागी संख्या बढाएर ३२ पुर्याइनु । यस्तोमा यो प्रतियोगिता आफैंमा ठूलो र बृहत साबित भएको छ । उपाधि भने चेल्सीको नाममा रह्यो । टोलीले फाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराएको थियो । धेरैको अनुमान थियो, फाइनलमा पीएसजी सजिलै जित्ने छ । भइदियो उल्टो । तर वर्ष २०२५ पीएसजीकै लागि पनि विशेष रह्यो ।
एकपछि अर्को उपाधि जितेको पीएसजीले आत्मसात् गरेको सबैभन्दा ठूलो सफलता भने युरोपेली च्याम्पियन्स लिग थियो । फाइनलमा टोलीले अविश्वसनीय रूपमा इन्टर मिलान जत्तिको प्रतिद्वन्द्वीलाई पनि खेलाइखेलाइ ५–० ले हरायो । युरोपका ठूला घरेलु लिगमध्ये इंग्लिस प्रिमियर लिग भने लिभरपुलको नाममा रह्यो । यसक्रममा लिभरपुलले २० औं पटक लिग जितेर म्यानचेस्टर युनाइटेडको बराबरी गर्यो ।
सन् २०२५ मा भएको फुटबलको अर्को ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता रह्यो, वुमेन्स युरो । उपाधि भने इंग्ल्यान्डको नाममा गयो । इंग्ल्यान्डले फाइनलमा स्पेनलाई टाइब्रेकरमा ३–१ ले हरायो । त्यसअघिको खेल भने १–१ को रोमाञ्चक बराबरीमा छुटेको थियो । अहिले अर्को एउटा ठूलो प्रतियोगिता चलिरहेको छ, अफ्रिकी कप अफ नेसन्स । यो सन् २०२५ मा सुरु भएर अर्को वर्ष टुंगिनेछ ।
क्रिकेटतर्फ भारतमा महिला क्रिकेटको वर्ल्डकप भयो । अनि कमजोर सुरुआत लिँदै भारतले नै यसपल्टको उपाधि जित्यो । मुम्बईमा फाइनलमा भारतले दक्षिण अफ्रिकालाई हराएको थियो । पुरुष क्रिकेटमा भारत जत्तिकै बलियो रहे पनि महिला क्रिकेटमा उसको दम यस्तै हुने गरेको छैन । तर पहिलोपल्ट विश्वकप जित्ने क्रममा भारतीय महिला टिमले भनेको छ, हामी पनि
पछाडि छैनौं ।
सन् २०२५ मै भारतले आईसीसी च्याम्पियन्स ट्रफी पनि जित्यो । विश्वकपपछि एकदिवसीय क्रिकेटको दोस्रो ठूलो प्रतियोगिता फाइनलमा भारतले न्युजिल्यान्डलाई हराएको थियो । दुबईमा भएको फाइनलमा भारत ४ विकेटले विजयी रह्यो । क्रिकेटको एउटा अर्को प्रतियोगिताले सबैको ध्यान खिचेको थियो । त्यो रह्यो, आईसीसी टेस्ट च्याम्पियनसिप । यसको विजेता बन्यो दक्षिण अफ्रिका । त्यसैले यो विशेष रह्यो ।
लन्डनको लर्डसमा भएको फाइनलमा दक्षिण अफ्रिका ५ विकेटले विजयी रह्यो । फाइनल अगाडि धेरैको विश्वास थियो, जित्ने अस्ट्रेलियाले नै हो । तर, दक्षिण अफ्रिकाले उपाधि जित्ने क्रममा चामत्कारिक प्रदर्शन नै गर्यो भन्दा हुने स्थिति बन्यो । यो फाइनलअगाडि दक्षिण अफ्रिकी क्रिकेटको छवि थियो, निर्णायक मोडमा चुक्ने । त्यसैले उनीहरूलाई भनिन्थ्यो ‘चोकर्स’ ।
फाइनलमा एक समय लागिरहेको थियो, दक्षिण अफ्रिका फेरि एकपल्ट उपाधि नजिक पुगेर हार्नेछ । तर त्यस्तो भएन । टेस्ट क्रिकेट यो खेलको सर्वोच्च स्वरूप हो भने यसमै दक्षिण अफ्रिका च्याम्पियन भएको छ । त्यसैले यसको अनेक अर्थ लगाउने काम भयो, दक्षिण अफ्रिकाको सफलता पछि । दक्षिण अफ्रिकाले जित्नुलाई धेरैले निको माने, अलिकति पूर्वाग्रही भएर पनि ।
यही अस्ट्रेलियाले टेस्ट क्रिकेटकै सबैभन्दा पुरानो प्रतिस्पर्धा एसेज सिरिज भने सन् २०२५ मा फेरि जितेको छ । आफ्नै भूमिमा सुरुआती तीन टेस्ट जितेर अस्ट्रेलिया निर्णायक रूपमा ३–० ले अगाडि रह्यो । चौथो टेस्ट भने फेरि इंग्ल्यान्डले अचम्मले जितेर सबैलाई स्तब्ध जस्तै बनाएको छ । तर यति बेला इंग्लिस क्रिकेटको चर्को आलोचना भइरहेकै छ, विशेषतः टोलीको आक्रामक भएर खेल्ने रणनीतिको ।
जहाँसम्म टेनिसको कुरा छ, यसपल्ट पुरुषतर्फ दुई खेलाडीको टक्करको रूपमा रह्यो, यानिक सिनर र कार्लोस अल्कारेज । अझ सिनर सबैभन्दा सफल रहे । उनले चार ग्रान्ड स्लाम उपाधिमध्ये दुई जिते, अस्ट्रेलियन ओपन र विम्बल्डन । अन्य दुईको फाइनल पुगे, फ्रेन्च ओपन र युएस ओपन । ती दुवै अल्कारेजको नाममा रह्यो । महिलातर्फ आर्यना सबालेन्का सबैभन्दा बढी सफल रहिन्, युएस ओपन
जित्ने क्रममा ।
सन् २०२५ मै जापानमा वर्ल्ड एथलेटिक्स च्याम्पियनसिप भयो भने रुग्बीतर्फ महिला विश्वकप भयो, अन्य दुई ठूला प्रतियोगिताका रूपमा । सन् २०२५ लाई अन्तर्राष्ट्रिय खेलको दृष्टिकोणले हेर्दा यसको सबैभन्दा ठूलो विशेषता रह्यो, महिला खेलकुदले लय समात्नु । फुटबलको युरो होस् वा क्रिकेटको विश्वकप अनि रग्बीको विश्वकप । यी तीनै ठूला महिलाका प्रतियोगिता धेरैभन्दा धेरैको ध्यान खिच्ने गरी सबैभन्दा बढी चर्चित रहे ।
०००
क्रिकेट अगाडि, फुटबल पछाडि
सन् २०२५ मा नेपाली खेलकुदबारे एउटा भाष्यले अझ बढी मलजल पायो । यो हो, नेपालमा क्रिकेट जहाँ लम्केर अगाडि बढिरहेको छ, ठीक त्यहीं फुटबल भने झन् झन् पछाडि परिरहेको छ । एक दशक जति अगाडिसम्म स्थिति ठीक उल्टो थियो, फुटबल अगाडि, क्रिकेट पछाडि । अब यो समीकरण फेरिएको छ । सन् २०२५ को दृष्टिकोणले यसका दुई ठोस कारण रहे ।
एक त नेपाल अबको ट्वान्टी–२० विश्वकप क्रिकेटमा छनोट भयो । नेपाल यो विश्वकपमा लगातार छनोट भएको उपलब्धि आफ्नै ठाउँमा छ । जसरी छनोट भयो, त्यो अझ महत्त्वपूर्ण रह्यो । ओमानमा भएको प्रतियोगितामा नेपाल अजयी रह्यो, एकै खेलमा पनि पराजित भएन । फाइनलमा भने नेपालले आयोजक ओमानलाई नै हराएको थियो । नेपालले जति खेल जित्यो, मज्जाले जित्यो, सनसनीपूर्ण ढंगले जित्यो ।
सन् २०२५ मै दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) को पनि आयोजना भयो । यसबाट नेपाली क्रिकेट अन्तर्राष्ट्रिय रूपमै चर्चाको विषय बन्यो । सुरुमा यो प्रतियोगिता हुने नहुनेमै शंका थियो । तर जतिबेला भयो, त्यसले सबैको प्रशंसा बटुलेर भयो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान फ्लडलाइटमा उत्तिकै मनमोहक देखियो । उपाधि भने लुम्बिनी लायन्सको नाममा रह्यो । यो पनि लुम्बिनीले जसरी जित्यो, त्यो गजबको शैलीमा थियो ।
नेपाली फुटबल पछाडि पर्नु पछाडि एक त अन्तर्राष्ट्रिय सफलता केही पनि रहेन । पुरुषतर्फ नेपालले जति खेल्यो, एकाध अपवाद छाडेर राम्रो हुन सकेन । महिलातर्फ साफ क्लब च्याम्पियनसिप नेपालमा भएकोमा एपीएफ क्लब दोस्रो स्थानमै रह्यो । सन् २०२५ मा नेपाल सुपर लिग (एनएसल) त भयो, तर साँच्चै हुनुपर्ने सहिद स्मारक ‘ए’ डिभिजन लिग नहुँदा नेपाली फुटबल मर्काको मर्कामै रह्यो ।
यसबीच दुई विवादले नेपाली खेलकुद आक्रान्त रह्यो । एउटा विवाद नेपाल ओलम्पिक कमिटीबारे रह्यो । अन्तर्राष्ट्रिय मान्यताको महत्त्व नबुझेको नेपाल सरकारले दुई समानान्तर संस्थाको अस्तित्व राखेर अन्तर्राष्ट्रिय साख गिराउने स्थिति बनायो । अनि यही सरकार र राष्ट्रिय खेलकुद परिषदले जतिपल्ट घोषणा गरे पनि नेपाली खेलकर्मीको मन दुखाउने गरेर दसौं राष्ट्रिय खेलकुद नहुने परम्परालाई कायम नै राख्यो ।
