महिला खेलकुदका लागि उल्लासमय वर्ष

सन् २०२५ लाई अन्तर्राष्ट्रिय खेलको दृष्टिकोणले हेर्दा यसको सबैभन्दा ठूलो विशेषता महिला खेलकुदले लय समात्नु रह्यो, फुटबलको युरो होस् वा क्रिकेट अनि रग्बीको विश्वकप।

पुस १७, २०८२

हिमेश

A joyous year for women's sports

What you should know

काठमाडौँ — विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जहिले पनि केही न केही नयाँ गर्न खोजिरहेको हुन्छ । सन् २०२५ मा पनि यस्तै एउटा काम गर्‍यो । यो थियो, अमेरिकामा भएको फिफा क्लब वर्ल्डकप । यो प्रतियोगिता दुई कारणले विशेष रह्यो । अबको वर्ष अमेरिकाले क्यानडा र मेक्सिकोसँग मिलेर विश्वकप गर्दै छ । त्यसकै पृष्ठभूमिमा यसपल्टको क्लब वर्ल्डकप ठूलो महत्त्व दिएर आयोजना गरिएको थियो । 

फिफालाई जाँच्नु थियो, अमेरिकामा फुटबलका ठूला प्रतियोगिताको प्रभाव कस्तो हुनेछ । जतिबेला प्रतियोगिता सकियो, फिफाले भन्यो, यो प्रतियोगिता सफल नै रह्यो । भनिन्छ, फिफाका अध्यक्ष जियानी इन्फाटिनोको महत्त्वाकांक्षा हो यो । सुरुमा यो प्रतियोगितालाई लिएर आलोचना पनि उत्तिकै भयो, तर प्रतियोगिता अगाडि बढ्ने क्रममा ती आलोचना विस्तारै शिथिल हुँदै गए । 

यो प्रतियोगिताको अर्को विशेषता थियो, सहभागी संख्या बढाएर ३२ पुर्‍याइनु । यस्तोमा यो प्रतियोगिता आफैंमा ठूलो र बृहत साबित भएको छ । उपाधि भने चेल्सीको नाममा रह्यो । टोलीले फाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराएको थियो । धेरैको अनुमान थियो, फाइनलमा पीएसजी सजिलै जित्ने छ । भइदियो उल्टो । तर वर्ष २०२५ पीएसजीकै लागि पनि विशेष रह्यो । 

एकपछि अर्को उपाधि जितेको पीएसजीले आत्मसात् गरेको सबैभन्दा ठूलो सफलता भने युरोपेली च्याम्पियन्स लिग थियो । फाइनलमा टोलीले अविश्वसनीय रूपमा इन्टर मिलान जत्तिको प्रतिद्वन्द्वीलाई पनि खेलाइखेलाइ ५–० ले हरायो । युरोपका ठूला घरेलु लिगमध्ये इंग्लिस प्रिमियर लिग भने लिभरपुलको नाममा रह्यो । यसक्रममा लिभरपुलले २० औं पटक लिग जितेर म्यानचेस्टर युनाइटेडको बराबरी गर्‍यो । 

सन् २०२५ मा भएको फुटबलको अर्को ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता रह्यो, वुमेन्स युरो । उपाधि भने इंग्ल्यान्डको नाममा गयो । इंग्ल्यान्डले फाइनलमा स्पेनलाई टाइब्रेकरमा ३–१ ले हरायो । त्यसअघिको खेल भने १–१ को रोमाञ्चक बराबरीमा छुटेको थियो । अहिले अर्को एउटा ठूलो प्रतियोगिता चलिरहेको छ, अफ्रिकी कप अफ नेसन्स । यो सन् २०२५ मा सुरु भएर अर्को वर्ष टुंगिनेछ ।

क्रिकेटतर्फ भारतमा महिला क्रिकेटको वर्ल्डकप भयो । अनि कमजोर सुरुआत लिँदै भारतले नै यसपल्टको उपाधि जित्यो । मुम्बईमा फाइनलमा भारतले दक्षिण अफ्रिकालाई हराएको थियो । पुरुष क्रिकेटमा भारत जत्तिकै बलियो रहे पनि महिला क्रिकेटमा उसको दम यस्तै हुने गरेको छैन । तर पहिलोपल्ट विश्वकप जित्ने क्रममा भारतीय महिला टिमले भनेको छ, हामी पनि 

पछाडि छैनौं । 

सन् २०२५ मै भारतले आईसीसी च्याम्पियन्स ट्रफी पनि जित्यो । विश्वकपपछि एकदिवसीय क्रिकेटको दोस्रो ठूलो प्रतियोगिता फाइनलमा भारतले न्युजिल्यान्डलाई हराएको थियो । दुबईमा भएको फाइनलमा भारत ४ विकेटले विजयी रह्यो । क्रिकेटको एउटा अर्को प्रतियोगिताले सबैको ध्यान खिचेको थियो । त्यो रह्यो, आईसीसी टेस्ट च्याम्पियनसिप । यसको विजेता बन्यो दक्षिण अफ्रिका । त्यसैले यो विशेष रह्यो । 

लन्डनको लर्डसमा भएको फाइनलमा दक्षिण अफ्रिका ५ विकेटले विजयी रह्यो । फाइनल अगाडि धेरैको विश्वास थियो, जित्ने अस्ट्रेलियाले नै हो । तर, दक्षिण अफ्रिकाले उपाधि जित्ने क्रममा चामत्कारिक प्रदर्शन नै गर्‍यो भन्दा हुने स्थिति बन्यो । यो फाइनलअगाडि दक्षिण अफ्रिकी क्रिकेटको छवि थियो, निर्णायक मोडमा चुक्ने । त्यसैले उनीहरूलाई भनिन्थ्यो ‘चोकर्स’ । 

फाइनलमा एक समय लागिरहेको थियो, दक्षिण अफ्रिका फेरि एकपल्ट उपाधि नजिक पुगेर हार्नेछ । तर त्यस्तो भएन । टेस्ट क्रिकेट यो खेलको सर्वोच्च स्वरूप हो भने यसमै दक्षिण अफ्रिका च्याम्पियन भएको छ । त्यसैले यसको अनेक अर्थ लगाउने काम भयो, दक्षिण अफ्रिकाको सफलता पछि । दक्षिण अफ्रिकाले जित्नुलाई धेरैले निको माने, अलिकति पूर्वाग्रही भएर पनि । 

यही अस्ट्रेलियाले टेस्ट क्रिकेटकै सबैभन्दा पुरानो प्रतिस्पर्धा एसेज सिरिज भने सन् २०२५ मा फेरि जितेको छ । आफ्नै भूमिमा सुरुआती तीन टेस्ट जितेर अस्ट्रेलिया निर्णायक रूपमा ३–० ले अगाडि रह्यो । चौथो टेस्ट भने फेरि इंग्ल्यान्डले अचम्मले जितेर सबैलाई स्तब्ध जस्तै बनाएको छ । तर यति बेला इंग्लिस क्रिकेटको चर्को आलोचना भइरहेकै छ, विशेषतः टोलीको आक्रामक भएर खेल्ने रणनीतिको । 

जहाँसम्म टेनिसको कुरा छ, यसपल्ट पुरुषतर्फ दुई खेलाडीको टक्करको रूपमा रह्यो, यानिक सिनर र कार्लोस अल्कारेज । अझ सिनर सबैभन्दा सफल रहे । उनले चार ग्रान्ड स्लाम उपाधिमध्ये दुई जिते, अस्ट्रेलियन ओपन र विम्बल्डन । अन्य दुईको फाइनल पुगे, फ्रेन्च ओपन र युएस ओपन । ती दुवै अल्कारेजको नाममा रह्यो । महिलातर्फ आर्यना सबालेन्का सबैभन्दा बढी सफल रहिन्, युएस ओपन 

जित्ने क्रममा । 

सन् २०२५ मै जापानमा वर्ल्ड एथलेटिक्स च्याम्पियनसिप भयो भने रुग्बीतर्फ महिला विश्वकप भयो, अन्य दुई ठूला प्रतियोगिताका रूपमा । सन् २०२५ लाई अन्तर्राष्ट्रिय खेलको दृष्टिकोणले हेर्दा यसको सबैभन्दा ठूलो विशेषता रह्यो, महिला खेलकुदले लय समात्नु । फुटबलको युरो होस् वा क्रिकेटको विश्वकप अनि रग्बीको विश्वकप । यी तीनै ठूला महिलाका प्रतियोगिता धेरैभन्दा धेरैको ध्यान खिच्ने गरी सबैभन्दा बढी चर्चित रहे । 

०००

क्रिकेट अगाडि, फुटबल पछाडि

सन् २०२५ मा नेपाली खेलकुदबारे एउटा भाष्यले अझ बढी मलजल पायो । यो हो, नेपालमा क्रिकेट जहाँ लम्केर अगाडि बढिरहेको छ, ठीक त्यहीं फुटबल भने झन् झन् पछाडि परिरहेको छ । एक दशक जति अगाडिसम्म स्थिति ठीक उल्टो थियो, फुटबल अगाडि, क्रिकेट पछाडि । अब यो समीकरण फेरिएको छ । सन् २०२५ को दृष्टिकोणले यसका दुई ठोस कारण रहे । 

एक त नेपाल अबको ट्वान्टी–२० विश्वकप क्रिकेटमा छनोट भयो । नेपाल यो विश्वकपमा लगातार छनोट भएको उपलब्धि आफ्नै ठाउँमा छ । जसरी छनोट भयो, त्यो अझ महत्त्वपूर्ण रह्यो । ओमानमा भएको प्रतियोगितामा नेपाल अजयी रह्यो, एकै खेलमा पनि पराजित भएन । फाइनलमा भने नेपालले आयोजक ओमानलाई नै हराएको थियो । नेपालले जति खेल जित्यो, मज्जाले जित्यो, सनसनीपूर्ण ढंगले जित्यो । 

सन् २०२५ मै दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) को पनि आयोजना भयो । यसबाट नेपाली क्रिकेट अन्तर्राष्ट्रिय रूपमै चर्चाको विषय बन्यो । सुरुमा यो प्रतियोगिता हुने नहुनेमै शंका थियो । तर जतिबेला भयो, त्यसले सबैको प्रशंसा बटुलेर भयो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान फ्लडलाइटमा उत्तिकै मनमोहक देखियो । उपाधि भने लुम्बिनी लायन्सको नाममा रह्यो । यो पनि लुम्बिनीले जसरी जित्यो, त्यो गजबको शैलीमा थियो । 

नेपाली फुटबल पछाडि पर्नु पछाडि एक त अन्तर्राष्ट्रिय सफलता केही पनि रहेन । पुरुषतर्फ नेपालले जति खेल्यो, एकाध अपवाद छाडेर राम्रो हुन सकेन । महिलातर्फ साफ क्लब च्याम्पियनसिप नेपालमा भएकोमा एपीएफ क्लब दोस्रो स्थानमै रह्यो । सन् २०२५ मा नेपाल सुपर लिग (एनएसल) त भयो, तर साँच्चै हुनुपर्ने सहिद स्मारक ‘ए’ डिभिजन लिग नहुँदा नेपाली फुटबल मर्काको मर्कामै रह्यो । 

यसबीच दुई विवादले नेपाली खेलकुद आक्रान्त रह्यो । एउटा विवाद नेपाल ओलम्पिक कमिटीबारे रह्यो । अन्तर्राष्ट्रिय मान्यताको महत्त्व नबुझेको नेपाल सरकारले दुई समानान्तर संस्थाको अस्तित्व राखेर अन्तर्राष्ट्रिय साख गिराउने स्थिति बनायो । अनि यही सरकार र राष्ट्रिय खेलकुद परिषदले जतिपल्ट घोषणा गरे पनि नेपाली खेलकर्मीको मन दुखाउने गरेर दसौं राष्ट्रिय खेलकुद नहुने परम्परालाई कायम नै राख्यो ।

हिमेश

Link copied successfully