स्पोर्ट्स अवार्डलाई पोखरेली ब्रान्ड राराको साथ 

नेपाल खेलकुद पत्रकार मञ्चले २०६० सालदेखि भएको स्पोर्ट्स अवार्ड पहिलो पटक उपत्यकाबाहिर आयोजना गर्न लागेको हो ।

पुस १६, २०८२

कान्तिपुर संवाददाता

Pokhareli brand Rara wins sports award

What you should know

काठमाडौँ — पोखरामा यही पुस २३ गते हुने २२ औं एनएसजेएफ पल्सर स्पोट्स अवार्डका लागि हिमश्री फुड्स प्रालिको रारा चाउचाउ पनि सहयोगीको रूपमा रहने भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चले २०६० सालदेखि भएको स्पोर्ट्स अवार्ड पहिलो पटक उपत्यकाबाहिर आयोजना गर्न लागेको हो ।

पोखरेली भूमिमा हुने अवार्डलाई स्थानीय औद्योगिक संस्थाहरूले साथ दिनेक्रममा हिमश्री फुड्स पनि जोडिएको मञ्चले जनाएको छ । अवार्डको मुख्य प्रवर्द्धकमा पोखरा महानगरपालिका नै रहेको छ ।  

आयोजक एनएसजेएफका अध्यक्ष निरञ्जन अधिकारी र हिमश्री फुड्सका प्रवन्ध निर्देशक प्रकाश केसीले स्पोर्ट्स अवार्डका लागि सहकार्यसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाली खेलकुद विकासमा योगदान दिने क्रममा हिमश्री फुड्सको रारा चाउचाउले आहा–रारा गोल्डकप फुटबललाई निरन्तर २५ वर्षदेखि मुख्य प्रायोजना गरिरहेको छ ।  

स्पोर्टस अवार्डसँगै एनएसजेएफ स्पोर्ट्स समिट गरिने मञ्चले जनाएको छ । समिट पुस २२ गते पोखरामै हुनेछ । गोल्छा ग्रुपले अवार्डको मुख्य प्रायोजकमा १७ वर्षदेखि सहकार्य गरिरहेको छ भने यसपटक पावर्ड बाईमा यती एयरलाइन्स रहेको मञ्चले जनाएको छ ।  

खेलाडी, प्रशिक्षक र पुराना खेलकर्मीलाई गरी १० विधामा अवार्ड प्रदान गरिनेछ । खेलाडीलाई जनमतबाट विजेता बनाउने विधा पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भइसकेको छ । विजय सिन्जाली (उसु), इभाना थापा (टेबलटेनिस), हिमाल सुनारी (भलिबल), पूजा महतो (क्रिकेट) र रेखा पौडेल (फुटबल) का लागि सामाजिक सञ्जालमा व्यापक चर्चासँगै डिजिटल वालेट खल्ती आईएमई एपमार्फत भोटिङ पनि भइरहेको आयोजकले जनाएको छ ।

कान्तिपुर

Link copied successfully