विश्वकपलाई इंग्ल्यान्ड टोली घोषणा

नेपालसँग फेब्रुअरी ८ मा मुम्बईको वाङ्खडे रंगशालामा खेलेर दुई पटकको च्याम्पियन इंग्ल्यान्डले विश्वकप यात्रा सुरु गर्नेछ।

पुस १६, २०८२

एएफपी

England squad announced for World Cup

What you should know

लन्डन — तीव्र गतिका बलर जोफ्रा आर्चरलाई समावेश गर्दै इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा गरेको छ । तर विकेटकिपर जेमी स्मिथले भने टोलीमा स्थान बनाउन सकेनन् ।

चोटका कारण आर्चरले एसेज शृंखलाको अन्तिम दुई टेस्ट गुमाउँदै छन् । उनले चौथो टेस्ट गुमाइसके भने पाँचौं तथा अन्तिम टेस्ट पनि खेल्ने छैनन् । आर्चरसहित अर्का तीव्र बलर जोस टोङ्गले इंग्ल्यान्डको १५ सदस्यीय टोलीमा स्थान बनाएका छन् ।

ह्यारी ब्रुकको कप्तानीमा रहेको इंग्ल्यान्डले भारत र श्रीलंकामा फेब्रुअरी ७ देखि हुने ट्वान्टी–२० विश्वकपको समूह चरणमा नेपाल, इटाली, वेस्ट इन्डिज र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपालसँग फेब्रुअरी ८ मा मुम्बई वाङ्खडे रंगशालामा खेलेर दुई पटकको च्याम्पियन इंग्ल्यान्डले विश्वकप यात्रा सुरु गर्नेछ । २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकपमा इंग्ल्यान्ड सेमिफाइनलसम्म पुगेको थियो । विश्वकप तयारी क्रममा इंग्ल्यान्डले अर्को महिना गर्ने श्रीलंका भ्रमणमा पनि आर्चर उपस्थित हुने छैनन् । यसै महिना अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टमा एडिलेडमा चोट बोकेपछि उनी उपचाररत छन् । जनवरी २२ मा सुरु हुने श्रीलंकाविरुद्धको तीन एकदिवसीय अन्तर्राष्ट्रिय र तीन ट्वान्टी–२० अन्तचर्राष्ट्रियमा आर्चरको स्थान ब्राइडन कार्सीले लिनेछन् । तर कार्सी विश्वकप टोलीमा भने छैनन् ।

टोङ्गले सेतो बलबाट कहिल्यै अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन् तर एसेजमा भने उनको प्रभावशाली प्रदर्शन देखिएको छ । इंग्ल्यान्डले मेलबर्नको चौथो टेस्ट २ मै जित्दा टोङ्ग ७ विकेट लिई प्लेयर अफ द म्याच बने, जसमा उनले पहिलो इनिङ्समा ५ विकेट लिएका थिए । २८ वर्षे उनले गत सिजन द हन्ड्रेडमा पनि ६ खेलमा सर्वाधिक १४ विकेट लिएका थिए । एसेज शृंखलामा कमजोर प्रदर्शन गरिरहेका सरेका विकेटकिपर स्मिथले विश्वकप गुमाए । जुनमा उनले वेस्ट इन्डिजविरुद्ध २६ बलमा ६० रन बनाएका थिए । एसेज शृंखलाको पहिलो चार टेस्टमा भने उनको ब्याटिङ औसत १९.८५ मात्र छ । विकेट पछाडिको भूमिकामा पनि उनी आत्मविश्वासी देखिएका थिएनन् । त्यसैले इंग्ल्यान्डले विकेटकिपिङमा अनुभवी जोस बटलर र फिल साल्टलाई नै प्राथमिकता दिएको छ । ब्रुकले पहिलो पटक विश्वकपमा इंग्ल्यान्डको कप्तानी गर्न लागेका हुन् । एसेज शृंखलाको कमजोर प्रदर्शनपछि इंग्ल्यान्डको व्यापक आलोचना भइरहेको छ । त्यसैले प्रबन्ध निर्देशक रोब की र प्रशिक्षक ब्रान्डन म्याकलम विश्वकपमा प्रभाव पार्ने आशा राखेका छन् ।

इंग्ल्यान्ड टोली : ह्यारी ब्रुक (कप्तान), रेहान अहमद, जोफ्रा आर्चर, टम ब्यान्टन, ज्याकोब बेथल, जोस बटलर, साम करन, लिएम डाबसन, बेन डकेट, विल ज्याक्स, जेमी ओभरटन, आदिल रशिद, फिल साल्ट, जोस टोङ्ग, ल्युक उड ।

एएफपी

Link copied successfully