एनभीए भलिबल : न्यु डायमन्ड र पुलिस अपराजित

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा मंगलबार न्यु डायमन्डले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो । समूह ‘ए’ रहेको न्यु डायमन्डले २५–२१, २५–१५, २५–१४ ले नतिजा निकालेको थियो ।

पुस १५, २०८२

कान्तिपुर संवाददाता

NVA Volleyball: New Diamond and Police remain undefeated

काठमाडौँ — टिपटप न्यु डायमन्ड स्पोर्ट्स क्लबले लगातार तेस्रो जित निकाल्दै नवौं एनभीए भलिबल च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनल तय गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा मंगलबार न्यु डायमन्डले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो । समूह ‘ए’ रहेको न्यु डायमन्डले २५–२१, २५–१५, २५–१४ ले नतिजा निकालेको थियो ।

अस्ट्रेलियाबाट प्रतियोगिता खेल्न आएकी स्टार खेलाडी प्रतिभा मालीको साथ पाएको न्यु डायमन्डले आर्मी र चुली युवा क्लब पनि सोझो सेटमा हराएको थियो ।

मंगलबारै दुई विभागीय प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई ३–२ को सेटमा हराएको छ । दुई खेल खेलेको पुलिस समूह ‘बी’ मा अपराजित छ । रुपेशकुमार विष्टको प्रशिक्षणमा रहेको पुलिसले सुरुको दुई सेटमा अग्रता बनाउँदै सोझो सेटमा खेल जित्ने लक्षण देखाएको थियो । तर, एपीएफले त्यसपछि लगातार दुई सेटमा आफ्नो पक्षमा पारेर खेललाई पाँचौं तथा निर्णायक सेटमा पुर्‍याएको थियो । अन्तिम सेटमा लयमा रहेको पुलिस टिमले नै बाजी मार्‍यो । पुलिसले २५–२१, २५–१५, २२–२५, २१–२५, १५–९ ले सेट जितेको थियो ।

तीन खेलमा पहिलो हार भोगेको एपीएफको ७ अंक छ भने पुलिससँग ५ अंक छ । पुष्पजंग मल्लको प्रशिक्षणमा रहेको एपीएफले यसअघि सुदूरपश्चिम र मधेश प्रदेश टिमलाई हराएको थियो ।

पुरुषतर्फ मंगलबार एपीएफले मणिमुकुन्द भलिबल क्लबलाई २५–१०, २५–१५, २९–२७ ले पराजित गरेको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully