डिभिएम कप क्रिकेटः आयोजकसहित जनता मावि र युनिक एकेडेमी सेमिफाइनलमा

सुनसरी र मोरङका १९ विद्यालय सहभागी प्रतियोगिताको फाइनल बिजेताले नगद २५ हजार र उपबिजेताले १५ हजार पुरस्कार पाउनेछ।

पुस १४, २०८२

अर्जुन सुवेदी

DVM Cup Cricket: Janata Mavi and Unique Academy along with the organizers advance to the semifinals

What you should know

सुनसरी — इटहरीमा जारी दोस्रो डिभिएम कप अन्तर विद्यालय क्रिकेटमा आयोजकसहित जनता मावि र युनिक एकेडेमी सेमिफाइनल प्रवेश गरेका छन्।

सोमबार सम्पन्न पहिलो क्वाटरफाइनलमा सुनसरी रामधुनीको युनिक एकेडेमीले आयोजकको डिभिएम कञ्चनजंगालाई ८ विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

इटहरी–९ स्थित नेपाल डिभिएम ग्लोबल एकेडेमीको पिचमा टस हारेर पहिले ब्याटिङ गरेको डिभिएम कञ्चनजंगाले खराब प्रकाशका कारण ८ ओभरमा छोट्याइएको खेलमा ७ विकेटको गुमाउँदै २७ रनको झिनो स्कोर बनाएको थियो। 

जवाफमा २८ रनको सामान्य बिजयी लक्ष्य युनिक एकेडेमीले ४ ओभरमा केवल २ विकेटको क्षतिमा पूरा गरेको थियो । उक्त खेलमा युनिक एकेडेमीका युनिस पौडेल प्लेयर अफ द म्याच घोषित भए। 

सोमबार नै सम्पन्न दोस्रो क्वाटरफाइनलमा आयोजक डिभिएमले सुस्मा गोदावरी स्कुलमाथि ४ रनको रोमाञ्चक जीत निकाल्दै सेमिफाइनल यात्रा तय गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको आयोजक डिभिएमले निर्धारित १० ओभरमा ४ विकेट गुमाएर ८९ रनको स्कोर खडा गरेको थियो । जवाफमा ९० रनको बिजयी लक्ष्य पछ्याएको सुस्मा गोदावरीले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै ८६ रन मात्र बनाउन सक्यो । उक्त खेलको प्लेयरअफद म्याच डिभिएमका रिवाज बोहरा घोषित भए । 

सोमबार नै सम्पन्न तेस्रो क्वाटरफाइनलमा जनता मावि इटहरीले मोरङ सुन्दरहरैंचाको टेण्डरफिट स्कुललाई ६ विकेटले पराजित गर्दै सेमिफाइनल भिडन्त पक्का गरेको छ। 

टस हारेर पहिले ब्याटिङ गरेको टेण्डरफिटले निर्धारित १० ओभरमा ६ विकेट गुमाउँदै ४५ रनको समान्य योगफल बनाएको थियो । जवाफमा ४६ रनको बिजयी लक्ष्य जनताले ५ दशमलव २ बलमा ४ विकेट गुमाउँदै भेट्टाएको थियो । उक्त खेलको प्लेयर अफ द म्याच जनता माविका उत्सव आचार्य घोषित भए। 

प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा मंगलबार युनिक एकेडेमी र जनता मावि बीच हुनेछ । दोस्रो सेमिफाइनलमा आयोजक डिभिएमले मंगलबार बिहान हुने कस्तुरी एकेडेमी र कोशी सेन्टजेम्स स्कुल बीचको अन्तिम क्वाटरफाइनल खेलको बिजेतासँग मंगलबार नै प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक क्षितिज दाहालले जानकारी दिए।

सुनसरीमा विद्यालयस्तरमा लेदर बल प्रयोग गरी सुरु भएको प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ। सुनसरी र मोरङका १९ विद्यालय सहभागी प्रतियोगिताको फाइनल बिजेताले नगद २५ हजार र उपबिजेताले १५ हजार पुरस्कार पाउनेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार र बिधागत उत्कृष्ट हुनेले २ हजार ५ सय रुपैयाँ पाउने आयोजकले जनाएको छ।

अर्जुन

Link copied successfully