बक्सिङ डे टेस्ट दुई दिनमै ‘ध्वस्त’

दुई दिनमै ३६ विकेट पतन, अस्ट्रेलियाली भूमिमा भएको एसेज टेस्टमा १५ वर्षपछि पहिलो विजय निकाल्न इंग्ल्यान्ड सफल

पुस १३, २०८२

एएफपी

Boxing Day Test 'destroyed' in two days

What you should know

मेलबर्न — इंग्ल्यान्डविरुद्ध अस्ट्रेलियाको टेस्ट । दुई दिनभित्र १ सय ४२ ओभर खेलेपछि नतिजा । भलै, इंग्ल्यान्डले अस्ट्रेलियाली भूमिमा १५ वर्षयता एसेज टेस्टमा पहिलो विजय निकाल्न भयो, तर धेरैले यसमा मेलबर्न क्रिकेट मैदानको पिचलाई लिएर आलोचना गरिरहेका छन् । 

दोस्रो दिनको खेलमा अस्ट्रेलियाको दोस्रो इनिङ्स १ सय ३२ रनमै समेटिएपछि ९२ हजारभन्दा बढी समर्थक निरास हुन पुगेका थिए । त्यसपछि इंग्ल्यान्डले १ सय ७५ रनको लक्ष्य ६ विकेट गुमाई पूरा गरेपछि भ्रमणकारी ‘बार्मी आर्मी’ समर्थकले ठूलो गर्जन निकाले । 

यो त्यही पिच हो, जहाँ पहिलो दिन नै २० विकेट खसेको थियो । जसमा घरेलु टोली अस्ट्रेलिया पहिलो इनिङ्समा १ सय ५२ रनमै अलआउट भयो । जबाफमा इंग्ल्यान्डले पनि १ सय १० रनमात्र बनाउन सक्यो । अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथ र उनका इंग्ल्यान्डका समकक्षी बेन स्टोक्स दुवैले पिचको स्तरप्रति प्रश्न उठाए ।

‘एकदमै इमानदार भएर भन्नुपर्दा यो हामी कसैले चाहेको पिच होइन,’ इंग्लिस कप्तान स्टोक्सले भने, ‘बक्सिङ डे टेस्टको महत्व सबैलाई थाहै छ । तर दुई दिनभित्रै यस्तो महत्व बोकेको टेस्ट सकियोस् भनेर कोही चाहँदैनन् । यो खेल्नका लागि योग्य थिएन । तर, खेल सुरु भइसकेपछि यसलाई परिवर्तन गर्न सकिँदैनथ्यो । जसरीले पिचले खेल्थ्यो, त्यही अनुसार खेल्नुबाहेकको विकल्प थिएन ।’

अस्ट्रेलियाका कप्तान स्मिथले पिचमा रहेको १० मिलिलिटर घाँसको गहिराइमा बलरहरूले सिमको दुवै भागबाट अवसर निकालेपछि ब्याटिङ गर्न कठिनाइ भएको जनाए । ‘पिच अलिक जटिल नै थियो, सबैलाई खेल्न गाह्रो भइरहेको थियो । दुई दिनभित्रैमा ३६ विकेटभन्दा बढी विकेट जान्छ भने त्यो निश्चय पनि धेरै नै भएको हो,’ स्मिथले भने, ‘यो सम्भवतः उनीहरूले चाहेभन्दा अलिकति बढी भयो । यसलाई झारेर ८ मिलिलिटरमा भएको राम्रो हुनसक्थ्यो ।’

क्रिकेट अस्ट्रेलियाका प्रमुख टड ग्रिनबर्गले कम समय चलेको टेस्टले व्यापार पनि चौपट पार्ने जनाए । सन् १९०९ यता एसेज टेस्टको पहिलो दिनको खेलमा सबैभन्दा बढी विकेट खसेको थियो । पर्थको पहिलो टेस्टको पहिलो दिनमा पनि १९ विकेट झरेको थियो । यो टेस्ट पनि दुई दिनभित्रै टुंगिएको थियो । यसका कारण क्रिकेट अस्ट्रेलियाले आफ्नो आम्दानीमा लाखौं डलर गुमाउन पुगेको छ । 

‘सरल हिसाबमा भन्नुपर्दा व्यापारका लागि खराब हुन्छ, योभन्दा बढी स्पष्टीकरण दिन जरुरी पर्दैन होला,’ ग्रिनबर्गले भने, ‘त्यसैले म ब्याट र बलको अलिकति फराकिलो सन्तुलन देख्न चाहन्छु ।’ इंग्ल्यान्डका पूर्वकप्तान माइकल भोनले मेलबर्नको पिचलाई ‘मजाक’ भनेका छन् । यस्तो टेस्टले खेल नै सकाउन सक्ने उनले बताए । इंग्ल्यान्डका अर्का पूर्व कप्तान एलिस्टर कुकले यसलाई ‘अन्यायपूर्ण प्रतिस्पर्धा’ भनेका छन् । 

पिच बनाउने कुरामा क्युरेटरहरू अस्ट्रेलियामा स्वतन्त्र हुन्छन् । कप्तानहरू र क्रिकेट अस्ट्रेलियाले यसमा प्रभावित पार्न पाउँदैनन् । ग्रिनबर्गले यस घटनापछि हस्तक्षेप हुन जरुरी रहेको ठान्छन् । ‘विशेष गरी व्यावसायिक रूपमा पर्ने प्रभाव देख्दा यसमा अझ बढी संलग्न हुनपर्छ जस्तो लाग्छ । मैदानका कर्मचारीले यस्तो विषयमा अलिक बढी नजर लगाउनुपर्छ ।’

ह्यारी ब्रुक्सले १८ र जेमी स्मिथले ३ रनको अविजित इनिङ्स खेल्दै इंग्ल्यान्डलाई विजयी बनाए । यसअघि ज्याकोव बेथेलले ४० र ज्याक क्रलीले ३७ रन बनाउँदै विजयका आधार बनाएका थिए । पहिलो तीन टेस्टमा अस्ट्रेलियालाई कुनै दबाब नै दिन नसकी पराजित भएपछि इंग्ल्यान्डको चर्को आलोचना आएको थियो । 

इंग्ल्यान्डले सन् २०११ को जनवरीयता अस्ट्रेलियामा पहिलो पटक टेस्ट जितेको हो । त्यसयता इंग्ल्यान्ड १६ टेस्टमा पराजित थियो भने दुई टेस्ट बराबरीमा टुंगिएको थियो । क्रली र बेन डकेटले पुनः ‘बजबल’ शैलीमै इंग्ल्यान्डको ब्याटिङ सुरु गरेका थिए ।

डकेटले २६ बल खेल्दै ४ चौका र १ छक्कासहित ३४ रन बनाए । टेस्टको प्लेयर अफ द म्याच इंग्ल्यान्डका तीव्र गतिका बलर जस टङ भए । पहिलो इनिङ्समा ४५ रन खर्चेर ५ विकेट लिएका उनले दोस्रो इनिङ्समा २ विकेट थपे ।

एएफपी

Link copied successfully