सूर्य नेपाल गल्फ टुरको नयाँ सिजनमा आठ प्रतियोगिता हुने

सेन्ट्रल ओपन सोमबार सुरु

पुस १२, २०८२

कान्तिपुर संवाददाता

Surya Nepal Golf Tour to feature eight tournaments in new season

What you should know

काठमाडौँ — नेपाल प्रोफेसनल गल्फर्स संघ (एनपीजीए) को आयोजनामा सूर्य नेपाल गल्फ टुर २०२५–०२६ को नयाँ सिजन सुरु हुँदै छ । यो सिजनमा कुल ८ प्रतियोगिता हुनेछ ।

आठ प्रतियोगिताका लागि कुल ८० लाख १० हजार नगद पुरस्कार राशि रहने एनपीजीएका महासचिव दीपक आचार्यले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । गत सिजनमा यो पुरस्कार राशि ६७ लाख ३२ हजार थियो । १२ लाख ७८ हजार वृद्धि गरिएको आचार्यले बताए ।

नयाँ सिजनको सुरुआत सूर्य नेपाल सेन्ट्रल ओपन गल्फबाट हुनेछ । यो प्रतियोगिता गोकर्ण गल्फ क्लबमा सोमबारदेखि सुरु हुनेछ । चार दिने प्रतियोगितामा नेपालका शीर्ष व्यावसायिक र एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्नेछन् ।

७२ होलको प्रतिस्पर्धामा दोस्रो दिन अर्थात् ३६ होलको खेलपछि कट हुनेछ । ३६ होलको समाप्तिमा शीर्ष १८ प्रो र एमेच्योरले कट बनाउने छन् । उनीहरूबीच अन्तिम दुई दिन उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । पहिलो पटक शीर्ष १८ मा कट हुन लागेको हो । यसअघि २१ औं स्थानसम्म आउनेले कट बनाउँथ्यो ।

सेन्ट्रल ओपनको कुल पुरस्कार राशि १० लाख ५० हजार रहेको छ । विजेताले १ लाख ७० हजार, उपविजेताले १ लाख २५ हजार, तेस्रो हुनेले १ लाख, चौथोले ८२ हजार र पाँचौं हुने खेलाडीले ७२ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । कट बनाउने शीर्ष १८ खेलाडीले नगद पाउनेछन् ।

यो सिजनका नम्बर एक गल्फर नीरज तामाङ, डिफेन्डिङ च्याम्पियन एमेच्योर गल्फर राहुल विश्वकर्मा, अनुभवी भुवन नगरकोटी, तोरणविक्रम शाही, दिनेश प्रजापति, सञ्जय लामा र रवि खड्का प्रमुख दाबेदारका रूपमा रहनेछन् ।

सन् २००८–०९ मा सुरु भएको सूर्य नेपाल गल्फ टुरको यो १९ औं‌ संस्करण हो । एनपीजीएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले विज्ञप्तिमार्फत नयाँ सिजनको उत्साह व्यक्त गर्दै सूर्य नेपाल गल्फ टुरले आफ्नो १९ औं वर्षमा प्रवेश गरेको र यसले नेपालको गल्फको विकासमा उल्लेखनीय भूमिका खेलेको बताए । श्रेष्ठले टुरले व्यावसायिक र एमेच्योर खेलाडीलाई प्रेरित गर्नुका साथै नयाँ प्रतिभालाई अगाडि बढ्ने प्लेफर्म दिएको बताए ।

सूर्य नेपाल गल्फ टुरअन्तर्गत हुने आठ प्रतियोगिता विभिन्न पाँच गल्फ कोर्समा आयोजना हुनेछ ।  

यस सेन्ट्रल ओपनसहित सूर्य नेपाल इस्टर्न ओपन धरान गल्फ क्लबमा जनवरी १४ देखि १७ सम्म हुनेछ । एनपीजीए टुर च्याम्पियनसिप बर्दिवासको नवनिर्मित आर्मी गल्फ कोर्समा हुनेछ । यो कोर्समा टुरको कुनै पनि प्रतियोगिता हुन लागेको पहिलो पटक हो । यो जनवरी २७ देखि २९ सम्म हुने तय भएको एनपीजीएले जनाएको छ ।

सूर्य नेपाल काठमाडौं ओपन भने रोयल नेपाल गल्फ क्लबमा फेब्रुअरी १० देखि १३ सम्म चल्दा वेस्टर्न ओपन पोखराको हिमालयन गल्फ क्लबमा मार्च ४ देखि ७ सम्म हुने तालिका छ । सूर्य नेपाल एनपीजीए म्याच प्ले पनि रोयल नेपाल गल्फ क्लबमै हुनेछ । नकआउटको आधारमा हुने यो प्रतियोगिता अरू सात प्रतियोगिताभन्दा फरक हुनेछ । यसमा अर्डर अफ मेरिटका उत्कृष्ट १६ खेलाडीले खेल्न पाउँछन् । यो अप्रिल ७ देखि ९ सम्म हुनेछ ।

सूर्य नेपाल च्यालेन्ज मे ५ देखि ८ सम्म रोयल नेपाल गल्फ क्लबमा र सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा जुन २ देखि ६ सम्म हुने तालिका छ । यो सिजनको सर्वाधिक नगद पुरस्कार राशिको प्रतियोगिता हुनेछ । यसको कुल पुरस्कार राशि १८ लाख रहने महासचिव आचार्यले जानकारी गराए ।

कान्तिपुर संवाददाता

Link copied successfully