युरोपका अब्बल क्लबमा भेटिन्छन् नेपाली मूलका फुटबलर

विदेशका क्लबतिर खेलेका आफ्नै मूलका खेलाडीको आगमनले नेपालजस्तो मुलुकको फुटबल स्तर बढ्ने पूर्वप्रशिक्षकको भनाइ छ।

पुस १२, २०८२

हिमेश

Footballers of Nepali origin are found in top clubs in Europe

What you should know

काठमाडौँ — कुवेती प्रशिक्षक अब्दुलाह अल्मुताइरी जति समय नेपालमा रहे, उनले उठाएको एउटा मुद्दा थियो, अब राष्ट्रिय फुटबलका लागि विदेशतिर पनि खेलाडी खोज्न सक्नुपर्छ । सन् २०२१ मा माल्दिभ्समा भएको साफ च्याम्पियनसिप ताका उनले यो विषयलाई अझ महत्त्व दिन खोजे ।

कारण थियो, नेपालले श्रीलंकासँग खेलेको खेलमा मार्भिन ह्यामल्टनले गरेको उत्कृष्ट गोल । उनी इंग्ल्यान्डमा जन्मेका श्रीलंकाली मूलका खेलाडी थिए । मालेमा भएको उक्त खेल भने नेपालले ३–२ ले जितेको थियो ।

नेपालविरुद्ध उनले पेनाल्टी एरिया बाहिरबाट शक्तिशाली प्रहार गर्दै गोल गरेका थिए । ‘यस्तो गोल प्रायः दक्षिण एसियाली खेलाडीले गर्न सक्दैनन्,’ तत्कालीन नेपाली टोलीका प्रशिक्षक अल्मुताइरी भन्थे, ‘यसका लागि युरोपतिर प्रशिक्षण लिएकै खेलाडी चाहिन्छ, चाहे त्यो त्यहाँको तल्लो डिभिजनकै खेलाडी किन नहोस् ।’

सन् २०२३ मा भारतमा भएको साफ च्याम्पियनसिपमा नेपालको चुनौती सकिएपछि इटालीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो चिन्तित देखिन्थे । उनी पनि भन्थे, ‘हामीले पनि अब विदेशमा खेलाडी खोज्नैपर्छ ।’ अल्मुताइरी र अल्बर्टोको आँखाअगाडि अरू दक्षिण एसियाली देशले आफ्नो मूलका विदेशी खेलाडी भित्र्याउने काम धमाधम गरिसकेको थियो । ती दुवै प्रशिक्षकको यस विषयमा थप दुई प्रश्न थियो, ‘के यसका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) तयार छ त ?’ त्यो भन्दा महत्त्वको दोस्रो प्रश्न थियो, विदेशतिर खेलिरहेका नेपाली मूलका खेलाडीहरू के देशका लागि खेल्न तयार हुन्छन् त ?’

यसको जवाफ भने एकै खेलाडीले दिएका छन्, त्यो पनि छाती फुलाएर सान र गौरवका साथ । पछिल्लो साता स्विडेनको एफसी माल्मोसँग व्यावसायिक अनुबन्ध गरेका शाश्वत राना काठमाडौंमा थिए, व्यक्तिगत कारणले । व्यावसायिक अनुबन्धका कारणले उनले नेपाली मिडियासँग सिधा कुरा गर्न पाएनन् । तर १८ वर्षीय यी लेफ्टब्याकको आशय भने प्रस्ट थियो, ‘हो, म नेपालका लागि खेल्न चाहन्छु, अन्तर्राष्ट्रिय फुटबलमा नेपालको प्रतिनिधित्व गर्न चाहन्छु ।’

एउटा कल्पना, त्यस्तो भए कस्तो हुँदो हो, जतिबेला नेपालको राष्ट्रिय टिममा इंग्ल्यान्डको माथिल्लो डिभिजनका खेलाडीले खेल्छ भने । यो साँच्चै सम्भव छ । यतिबेला युरोपतिर नेपाली मूलका खेलाडी ठुल्ठूला क्लबसँग आबद्ध भएर खेलिरहेका छन् । युरोपतिर नेपाली मूलका आप्रवासीको संख्या बढ्न थालेपछि अब तिनका सन्तानले उतै माथिल्लो स्तरमा फुटबल सिक्न थालेका छन् र यसले अन्ततः नेपाली फुटबललाई फाइदा गर्न सक्नेछ ।

सन् २००९ मा जन्मेका सौरप साम्पाङ आठ वर्षको छँदा आर्सनल एकेडेमीसँग जोडिएका थिए । अहिले आर्सनलमा उनी आफ्नो उमेर समूहका प्रमुख खेलाडी हुन् । उनकै गतिलो योगदानका कारणले आर्सनलले सन् २०२४–०२५ को यू–१६ प्रिमियर लिग कप जितेको थियो । आर्सनलले खुबै सानले आफ्नो वेबसाइटमा लेखेको छ, ‘सौरपले म्यानचेस्टर सिटीविरुद्ध एक उत्कृष्ट गोल पनि गरे ।’

सौरप साँच्चै कति राम्रा खेलाडी हुन् भने उनलाई इंग्ल्यान्डको यू–१५ टिमबाट खेल्ने प्रस्ताव पनि आइसकेको छ । यसबीच आर्सनलले लेखेको छ, उनले चाहेमा नेपालबाट पनि खेल्न सक्नेछ । इंग्ल्यान्डतिर माथिल्लो स्तरमै खेलिरहेका किवन राई पनि छन् । अहिले उनी एल्डरसट टाउन एफसीसँग आबद्ध छन् । नेसनल लिगमा खेलिरहेका छन् । सन् २०२३ मा उनले वेल्सको न्युपोर्ट काउन्टीबाट खेलेका थिए ।

यस्तै २४ वर्षीय विभेष गुरुङले डोभर एथलेटिकबाट खेलिरहेका छन् । सुरुआती दिनमा उनी क्रिस्टल प्यालेसको एकेडेमीसँग जोडिएका थिए । उनले नर्वे र स्विडेनमा पनि खेलिसकेका छन् । यस्तै गोरक घले पनि छन्, जसले सन् २०२७ सम्मका लागि बेल्जियमको एन्डरलेक्टसँग व्यावसायिक अनुबन्ध गरेका छन् । सबैलाई के राम्रोसँग थाहा छ भने यो क्लब बेल्जियमकै सबैभन्दा सफल क्लब हो ।

एन्डरलेक्ट पनि आफ्ना यी खेलाडीको प्रशंसा गर्दै थाक्दैनन् । अहिलेसम्म जति पनि नाम लिएका छौं, ती सबै विदेशतिर जन्मेका नेपाली आमाबुवाका सन्तान हुन् । पाल्पामा जन्मेहुर्केका एक खेलाडीले युरोपतिरै लय समात्ने प्रयासमा छन् । उनी हुन्, रेहन शाह । उनी टर्कीमा छन् र त्यहाँको पेरिस सेन्ट जर्मेन (पीएसजी) एकेडेमीसँग आवद्ध छन् । रेहनको जन्म सन् २००९ मा पाल्पाको रामपुरमा भएको थियो । सन् २०२३ मा उनी टर्की पुगे, एक शैक्षिक कार्यक्रमअन्तर्गत । पाल्पा छँदै उनी फुटबल खेल्थे, गाउँ स्तरीय प्रतियोगिताामा पनि । एकपल्ट उनी यू–१७ साफ च्याम्पियनसिप खेल्ने टिममै पर्न लागेका थिए, तर चोटले त्यो पूरा भएन । त्यसपछि उनी अध्ययनका लागि टर्की गए । त्यहाँ स्कुल फुटबलमा खेल्दाखेल्दै उनी पीएसजी एकेडेमीको आँखामा परिहाले । उनी लेफ्ट विङ्गर हुन् ।

कान्तिपुरसँगको कुराकानीमा उनले भनेका छन्, ‘मेरो सपना त युरोपका ठूला क्लबबाट खेल्ने हो ।’ उनी पनि भन्छन्, मौका मात्र मिल्नुपर्छ, खेल्ने त नेपालकै लागि हो । हुनसक्छ, हामीले अहिले जति पनि नाम लियौं, ती त केही प्रतिनिधि पात्रमात्र हुन् । अरू यस्तै नाम हुनसक्छ । यिनीहरूले नेपालका लागि खेल्ने हो भने केही अवसरमा कानुनी प्रक्रिया पनि पूरा गर्नुपर्ने हुन्छ ।

आफ्नो मूलका विदेशी खेलाडी खेलाउँदा त्यसको फाइदा कस्तो हुन्छ, त्यसको उदाहरण बंगलादेश हुनसक्छ । हाम्जा चौधरी अचेल बंगलादेशबाट खेल्छन्, तर उनको व्यावसायिक कर्मथलो लेस्टर सिटी हो । उनले प्रिमियर लिग पनि खेले । उनी के आए, अहिले बंगलादेशी फुटबलको आकर्षण नै बेग्लै छ । अचेल अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो मूलका विदेशी खेलाडी खेलाउनु सामान्य जस्तै भइसकेको छ ।

फेरि अल्मुताइरीकै प्रसंगमा फर्कने हो भने उनी भन्थे, ‘विदेशतिर खेलेका खेलाडीको आगमनले कुनै पनि देशको फुटबल स्तर बढ्ने छ ।’ कसैलाई लाग्न सक्छ, विदेशी खेलाडी आए पनि स्वदेशतिरका खेलाडीले अवसर गुमाउने छन् । तर होइन, यो त अवसर बढ्ने बढाउने सम्भावना पो हो । त्यस अर्थमा फेरि त्यही प्रश्न दोहोर्‍याउन आवश्यक छ, के साँच्चै एन्फा यसका लागि तयार छ त ?

हिमेश

Link copied successfully