सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘प्रत्येक पुस्तकको अन्त्य त हुर्नैपर्छ । सन् २०२६ टुरमा मेरो अन्तिम वर्ष हुनेछ ।’
पेरिस — स्टान वावरिन्काले सन् २०२६ को सिजन आफ्नो खेलजीवनको अन्तिम वर्ष हुने बिहीबार बताएका छन् । तीनपल्टको ग्रान्ड स्लाम विजेता वावरिन्काले अबको सिजन सक्दो राम्रो खेल्ने प्रयास गर्ने पनि आशा पोखे । सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘प्रत्येक पुस्तकको अन्त्य त हुर्नैपर्छ । सन् २०२६ टुरमा मेरो अन्तिम वर्ष हुनेछ ।’
पछिल्लो मार्चमा ४१ वर्ष पुगेका स्विस खेलाडी वावरिन्काले सन् २०१४ मा अस्ट्रेलियन ओपन, २०१५ मा फ्रेन्च ओपन र २०१६ मा यूएस ओपन जितेका थिए । रोजर फेडेरर, राफेल नडाल र नोभाक जोकोभिचको प्रभुत्व चलिरहेका बेला उनले प्राप्त गरेको त्यो सफलतालाई विशेष महत्त्वका साथ हेर्ने गरिन्छ ।
आफ्नो खेलजीवनमा कुल १६ एटीपी उपाधि जितेका वावरिन्काले अन्तिम पटक सन् २०१७ मा जेनेभामा सफलता पाएका थिए । सन् २०१४ मा उनी वरीयताको तेस्रो स्थानसम्म पुगेका थिए । यो नै उनको सबैभन्दा उच्च स्थान थियो । गत वर्ष चोटबाट बच्न संघर्ष गरेका वावरिन्काको अहिले वरीयताक्रम १ सय ५७ रहेको छ ।
उनले आफ्नो खेलजीवनमा ५ सय ८२ जित निकालेका छन् । उनी पुरुषतर्फ सबैभन्दा लामो समय सक्रिय रहेका खेलाडीमध्ये दोस्रो स्थानमा पर्छन् । उनको अगाडि गिल मोनफिल्स मात्र छन् र उनले पनि अर्को सिजन संन्यास लिने बताइसकेका छन् । उनले सन् २००८ को ओलम्पिकमा डबल्सतर्फ स्वर्ण पदक जितेका थिए ।
