मिनासको अधुरो ‘इनिङ्स’

क्रिकेट मिनासको रुचि मात्र थिएन, त्यो उनको जीवन थियो । विद्यालयको मैदानबाट सुरु भएको क्रिकेट यात्रा कोशी प्रदेशको टोली कप्तान हुँदै राष्ट्रिय स्तरको क्रिकेटसम्म पुगेको थियो ।

पुस ११, २०८२

पर्वत पोर्तेल

Minas' incomplete 'innings'

What you should know

विराटनगर — हुस्सुले ढपक्कै ढाकेको विराटनगर, बुधबार मध्यरात गहिरो निद्रामा थियो । सडक सुनसान थियो, बत्तीहरू मधुरो उज्यालो छर्दै थिए । त्यो शान्त रातमा कसैलाई पनि थाहा थिएन नेपाली क्रिकेटले सपना बोकेका एक युवा खेलाडी गुमाउँदै छ । 

अचानक बज्रपात आइलाग्यो । पौने १ बजेतिर, विराटनगर–४ को भित्री सडकखण्डमा एउटा प्रदेश १–०२–०४२प–८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भयो । त्यही दुर्घटनामा प्रतिभाशाली क्रिकेटर २७ वर्षीय मिनास थापा अधुरो ‘इनिङ्स’ छाडेर सदाका अस्ताए । 

कोशी अस्पताल पुर्‍याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरे । त्यो वाक्य चिकित्सकीय शब्द थिएन, त्यो आमाको संसार ढल्ने क्षण थियो, भाइको भरोसा टुट्ने खबर थियो र लाखौं क्रिकेटप्रेमीका लागि एउटा गहिरो पीडा । 

मिनास विराटनगर–५ चाँदनी चोकका बासिन्दा थिए । करिब डेढ दशकअघि बुवा बेपत्ता भएपछि परिवारको जिम्मेवारी उनी र आमाको काँधमा आइपरेको थियो । आमा तनुजा थापाका लागि मिनास छोरा मात्रै थिएनन्, जीवनको सहारा थिए । भाइ प्रदीपका लागि उनी दाइमात्र होइन, आदर्श थिए । ‘म पनि दाइजस्तै क्रिकेट खेल्छु,’ भन्ने सपना देखाउने प्रेरणा थिए ।

क्रिकेट मिनासको रुचि मात्र थिएन, त्यो उनको जीवन थियो । विद्यालयको मैदानबाट सुरु भएको क्रिकेट यात्रा कोशी प्रदेशको टोली कप्तान हुँदै राष्ट्रिय स्तरको क्रिकेटसम्म पुगेको थियो । ९ वर्षभन्दा लामो समय उनले निरन्तर मिहिनेत गरे । सीमित स्रोत, कम अवसर र असंख्य चुनौतीका बावजुद पनि उनले कहिल्यै हरेस खाएनन् । फ्रेन्चाइज लिग खेल्ने मौका पाउनु उनको परिश्रमको प्रमाण थियो । पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक मनोज कटुवाल भन्छन्, ‘मिनास कहिल्यै हार मान्दैनथे, चाहे जीवनमा होस् वा मैदानमा ।’

तर, उनलाई समयले ठग्यो । लामो इनिङ्स खेल्न दिएन । अझ धेरै इनिङ्स खेल्ने सपना अधुरै छाडेर मिनास क्रिकेट खेलाडी र समर्थकको माझबाट सदाका लागि अलप भए । ‘राष्ट्रिय जर्सीमा अझ धेरै खेल खेल्ने उनको सपना थियो, अधुरै रह्यो’, मामा तथा क्रिकेट प्रशिक्षक पुष्प थापाले सुनाए, ‘आमाको घर बनाइदिने, भाइलाई राम्रो पढाउने र क्रिकेटमै भविष्य बनाउने योजना चकुनाचुर भयो ।’

मिनासको निधनले नेपाली क्रिकेट एउटा प्रतिभाशाली ब्याटरमात्र होइन, एउटा संघर्षशील खेलाडी गुमाएको नेपाल क्रिकेट संघका सचिव पारस खड्काले बताए । उनी त्यस्ता खेलाडी थिए, जसले सीमित साधनबीच पनि सपना देख्न छोडेनन् । आज उनी छैनन्, तर उनको सपना धेरै युवाका लागि प्रेरणादायी बन्नेछ ।

पर्वत पोर्तेल पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully