तम्घासमा रहेको फोर्टिन स्टार युवा क्लबले प्रत्येक वर्ष माध्यमिक तहका विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता संचालन गर्दै आएको छ ।
गुल्मी — गुल्मीमा संचालित छैटौं फोर्टिन स्टार कपको फाइनलमा महेन्द्र मावि र पालुखा मावि भिड्दैछन् ।
इस्मा गाउँपालिका-१ झर्नास्थित जैढुंगा बीपी पार्क खेलमैदानमा शनिबार सदरमुकाम तम्घासस्थित महेन्द्र माध्यमिक विद्यालय र इस्मा गाउँपालिका-२ हस्तिचौरस्थित पालुखा माध्यमिक विद्यालय उपाधिका लागि भिड्ने भएका हुन् ।
तम्घासमा रहेको फोर्टिन स्टार युवा क्लबले प्रत्येक वर्ष माध्यमिक तहका विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता संचालन गर्दै आएको छ । तम्घासस्थित चिदिचौर खेलमैदान निर्माणाधीन रहेको र हालैमात्र इस्मा गाउँपालिकाले निर्माण सम्पन्न गरेको ग्रामीण भेगको उत्कृष्ट खेलमैदान जैढुंगा बीपी पार्क खेलमैदानमा प्रतियोगिता संचालन भइरहेको छ ।
शुक्रबारको पहिलो सेमिफाइनल खेलमा महेन्द्र माविले उपल्लो तम्घास माविलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । त्यसपछि भएको दोस्रो सेमिफाइनल खेलमा पालुखा माविले रेसुंगा माविलाई पेनाल्टी सुटआउटमा हराउँदै फाइनलमा महेन्द्र माविसँगको भेट पक्का गरेको हो । क्लबका अध्यक्ष नारायण आचार्यका अनुसार, प्रतियोगितामा बिजेताले नगद ३५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्रसहितको उपाधि प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले २५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । गत मंगलबारदेखि सुरु भएको प्रतियोगितामा १४ विद्यालयले सहभागिता जनाएका थिए ।
इस्मा गाउँपालिकाका अध्यक्ष भगत सिंह खड्काले शुक्रबारको सेमिफाइनल खेलमा अवलोकन गर्दै फोर्टिन स्टार युवा क्लबले आफूहरूले केही समयअघि निर्माण सकेको खेलमैदानमा प्रतियोगिता संचालन गरेकोमा खुसी व्यक्त गरे ।
