इन्डो नेपाल टी–२० च्याम्पियनसिप : सेमिफाइनल समीकरण पूरा

पहिलो सेमिफाइनलमा शनिबार बिहान दिल्ली वन्डर्स र विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

पुस ११, २०८२

राजु चौधरी

Indo-Nepal T-20 Championship: Semi-final draw complete

What you should know

चितवन — चितवनमा जारी इन्डो नेपाल टी–२० च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ । 

चितवन जिल्ला क्रिकेट संघको आयोजनामा भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा जारी प्रतियोगितामा शुक्रबार लिग चरणको अन्तिम खेलमा दिल्ली वन्डर्स र चितवन क्रिकेट क्लब विजयी भयसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।

पहिलो सेमिफाइनलमा शनिबार बिहान दिल्ली वन्डर्स र विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

दोस्रो सेमिफाइनलमा घरेलु टोली चितवन क्रिकेट क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । 

शुक्रबार पहिलो खेलमा चितवनले भारतको तलतला इन्स्टिच्युटलाई ७ विकेटले पराजित गर्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लिँदै सेमिफाइनलमा स्थान बनाएको हो । तलतलाले दिएको १२२ रनको लक्ष्य चितवनले १२.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । चितवनको जितमा दीपकप्रसाद डुम्रेले ३१ बलमा ७२ रनको योगदान दिए । उनले ५ छक्का र ७ चौका प्रहार गरे । रोशन झाले २ चौकाको मद्दतमा २२ रन बनाए भने प्रतीक श्रेष्ठले ९ बलमा २ छक्का र एक चौकाको सहयोगमा २० रनमा अविजित रहे । तलतलाका लागि प्रशान्त श्रीवास्तवले २ र बोबी शंकरले एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको तलतला १६ ओभरमा ९ विकेट गुमाउँदै १२१ रन बनाएको थियो । तलतलाका लागि निखिल रावले २० बलमा ३ छक्का र ४ चौकाको सहयोगमा सर्वाधिक ३९ रन बनाए । आशुतोष पटेलले ३ छक्का र एक चौका प्रहार गर्दै ३१ रन बनाए । प्रशान्त श्रीवास्तव ११ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । 

चितवनका लागि दीपेश श्रेष्ठले ३ ओभरमा १० रन खर्चिँदै ३ विकेट लिए भने दीपेश कँडेल, गौतम केसी र शुभ कंशकारले समान २–२ विकेट लिए । अर्धशतक बनाएका चितवनका दीपकप्रसाद डुम्रे प्लेयर अफ द म्याच घोषित भए । 

Indo-Nepal T-20 Championship: Semi-final draw complete

यस्तै, शुक्रबार भएको लिगको अन्तिम खेलमा दिल्ली वन्डर्सले विभागीय टोली नेपाल पुलिस क्लबलाई १०३ रनको फराकिलो अन्तरले पराजित गर्दै ८ अंकका साथ शीर्षस्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको हो । 

दिल्लीले दिएको २६८ रनको विशाल लक्ष्य पछ्याएको नेपाल पुलिस क्लब १७.३ ओभरमा १६४ रनमै अलआउट भएपछि पुलिसको सेमिफाइनल पुग्ने प्रयासमा पूर्णविराम लागेको हो । पुलिसका लागि शंकर रानाले सर्वाधिक ८७ रन बनाए पनि अन्य ब्याटरले साथ नदिँदा टिमलाई जिताउन सकेनन् । उनले ४४ बलमा १० छक्का र २ चौका प्रहार गरे । सुजन थपलियाले २२ रन बनाए । 

दिल्लीका विवेक धामीले ३ ओभरमा २२ रन खर्चिँदै ३ विकेट लिए भने प्रदीप यादव, प्रियान्स भारद्वाज र विशाल पाण्डेले समान २–२ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गर्दै दिल्लीले ६ विकेटको क्षतिमा २६७ रन बनाएको थियो । दिल्लीका मोहम्मद कैफले ३५ बलमा ७८ रन बनाए । उनले ७ छक्का र ६ चौका प्रहार गरे । निशान्त यादवले २५ बलमा ६ छक्का र २ चौका प्रहार गर्दै अविजित ५५ रन बनाए । हर्षित सेट्ठीले २६ बलमा ४ छक्का र ६ चौकाको सहयोगमा ५१ रन बनाए भने प्रियान्स भारद्वाजले ७ बलमा ५ छक्काको मद्दतमा अविजित ३१ रन बनाए । 

Indo-Nepal T-20 Championship: Semi-final draw complete

नेपाल पुलिस क्लबका लागि अशोक धामी र अरुण ऐरीले समान २–२ विकेट लिए भने दीपेन्द्र रावत र श्रवण यादवले समान एक–एक विकेट लिए । महत्त्वपूर्ण खेलमा पराजित भएपछि नेपाल पुलिस प्रतियोगिताबाट बाहिरिएको छ । खेलमा मोहम्मद कैफ प्लेयर अफ द म्याच घोषित भए । प्रतियोगिताको फाइनल र तेस्रो स्थानको खेल पुस १३ गते हुनेछ । 

राजु चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।

Link copied successfully